Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Top Banner

राष्ट्र बैंकको वासलात ४० खर्ब पार, विदेशी सम्पत्तिमै केन्द्रित ठूलो हिस्सा

२०८३ आश्विन २२ गते
बैंकिङ खबर /  नेपाल राष्ट्र बैंकको कुल सम्पत्ति तथा दायित्व ४० खर्ब रुपैयाँ नाघेको छ। राष्ट्र बैंकले सार्वजनिक गरेको भदौ मसान्तसम्मको प्रारम्भिक वित्तीय विवरणअनुसार केन्द्रीय बैंकको कुल वासलात ४० खर्ब ४४ अर्ब ७ करोड ९९ लाख रुपैयाँ पुगेको हो । गत असार मसान्तमा राष्ट्र बैंकको कुल सम्पत्ति तथा दायित्व ३८ खर्ब ७४ अर्ब ९८ करोड ८९ लाख रुपैयाँ रहेको थियो। दुई महिनाको अवधिमा राष्ट्र बैंकको वासलात करिब १ खर्ब ६९ अर्ब रुपैयाँले बढेको देखिन्छ।
 
राष्ट्र बैंकको कुल सम्पत्तिमा सबैभन्दा ठूलो हिस्सा विदेशी मुद्रामा रहेको सम्पत्तिको छ। भदौ मसान्तसम्म यस्तो सम्पत्ति ३८ खर्ब ९९ अर्ब ७८ करोड ५५ लाख रुपैयाँ पुगेको छ। अर्थात् राष्ट्र बैंकको कुल सम्पत्तिको करिब ९६ प्रतिशतभन्दा बढी हिस्सा विदेशी मुद्रामा आधारित सम्पत्तिले ओगटेको देखिन्छ। विदेशी मुद्रा सम्पत्तिभित्र पनि ठूलो रकम विदेशी धितोपत्रमा लगानी गरिएको छ।
 
भदौ मसान्तसम्म राष्ट्र बैंकले विदेशी धितोपत्रमा २७ खर्ब ४३ अर्ब ३० करोड रुपैयाँ लगानी गरेको छ। त्यस्तै, विदेशी बैंकमा रहेको मुद्दती निक्षेप ६ खर्ब ३९ अर्ब ७४ करोड रुपैयाँ पुगेको छ। यसैगरी विदेशी बैंकमा नगद तथा मौज्दातका रूपमा २ खर्ब ४४ अर्ब ३० करोड रुपैयाँ रहेको छ। सुनको प्रमाणपत्रमा राष्ट्र बैंकको लगानी २ खर्ब ५३ अर्ब ९७ करोड रुपैयाँ पुगेको विवरणमा उल्लेख छ। अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)सँग सम्बन्धित सम्पत्ति भने १८ अर्ब ४४ करोड रुपैयाँ रहेको छ।
 
स्थानीय मुद्रामा रहेको सम्पत्ति कति ?
 
विदेशी मुद्रामा आधारित सम्पत्तिको तुलनामा राष्ट्र बैंकको स्थानीय मुद्रामा रहेको सम्पत्तिको आकार भने निकै कम छ। भदौ मसान्तसम्म स्थानीय मुद्रामा रहेको कुल सम्पत्ति १ खर्ब ४४ अर्ब २९ करोड रुपैयाँ रहेको छ। यसअन्तर्गत सुन तथा चाँदीमा ९१ अर्ब ६७ करोड रुपैयाँ, सरकारी धितोपत्रमा ११ अर्ब ६४ करोड रुपैयाँ तथा बन्ड र मुद्दती निक्षेपमा १२ अर्ब ४१ करोड रुपैयाँ रहेको छ। राष्ट्र बैंकको वित्तीय विवरणले नेपालको केन्द्रीय बैंकको वासलातमा विदेशी सम्पत्तिको प्रभुत्व निकै बलियो रहेको देखाउँछ। विशेषगरी विदेशी मुद्रा सञ्चिति व्यवस्थापनका क्रममा विदेशी धितोपत्र, विदेशी बैंकमा निक्षेप तथा सुनसम्बन्धी सम्पत्तिमा गरिएको लगानीले कुल वासलातको आकार बढाउन महत्वपूर्ण भूमिका खेलेको देखिन्छ।
 
चलनचल्तीको मुद्रा घट्यो
 
राष्ट्र बैंकको कुल वासलात बढ्दै गए पनि भदौ मसान्तसम्म चलनचल्तीमा रहेको मुद्रा भने केही घटेको छ। विवरणअनुसार चलनचल्तीमा रहेको मुद्रा ७ खर्ब ९४ अर्ब २ लाख रुपैयाँमा झरेको छ। असार मसान्तको तुलनामा चलनचल्तीमा रहेको मुद्रा करिब ७ अर्ब ६२ करोड रुपैयाँले घटेको हो। यता राष्ट्र बैंकको रिजर्भ भने ११ खर्ब १० अर्ब २० करोड ९६ लाख रुपैयाँ पुगेको छ। सरकारी निक्षेप पनि बढेर ३ खर्ब १ अर्ब २० करोड रुपैयाँ पुगेको छ।
 
यसरी राष्ट्र बैंकको भदौ मसान्तसम्मको वित्तीय विवरण हेर्दा कुल वासलात ४० खर्ब रुपैयाँभन्दा माथि पुगेको मात्रै होइन, त्यसको अधिकांश हिस्सा विदेशी मुद्रामा आधारित सम्पत्तिमा केन्द्रित रहेको देखिन्छ। विदेशी धितोपत्र र विदेशी बैंकमा गरिएको लगानी राष्ट्र बैंकको सम्पत्ति संरचनाका प्रमुख आधार बनेका छन्।