Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
आजको विशेष

११ महिनामा वाणिज्य बैंकको नाफा ६४ अर्ब नाघ्यो, नबिलले मात्रै कमायो ८ अर्ब बढी

२०८३ असार २९ गते

काठमाडौं। नेपालको बैंकिङ क्षेत्रमा नाफा वृद्धिको गति थप बलियो बनेको छ। आर्थिक गतिविधि विस्तार हुन थालेसँगै वाणिज्य बैंकहरूको नाफा पनि उल्लेख्य रूपमा बढेको देखिएको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको जेठ मसान्तसम्मको वित्तीय विवरणअनुसार २० वाणिज्य बैंकले संयुक्त रूपमा ६४ अर्ब ५६ करोड ३६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेका छन्।

यो रकम गत आर्थिक वर्षको सोही अवधिको तुलनामा करिब १० अर्ब ५९ करोड रुपैयाँ बढी हो। अघिल्लो वर्ष यही अवधिमा वाणिज्य बैंकहरूको संयुक्त नाफा ५३ अर्ब ९७ करोड रुपैयाँ रहेको थियो।

नाफाको आधारमा नबिल बैंक सबैभन्दा अगाडि देखिएको छ। बैंकले ११ महिनामा ८ अर्ब ४९ करोड रुपैयाँ खुद नाफा कमाउँदै पहिलो स्थान कायम राखेको छ। दोस्रो स्थानमा रहेको ग्लोबल आईएमई बैंकले ५ अर्ब ९७ करोड रुपैयाँ नाफा आर्जन गरेको छ। त्यसपछि कुमारी बैंकले ४ अर्ब ७० करोड ६९ लाख रुपैयाँ, नेपाल इन्भेस्टमेन्ट मेगा बैंकले ४ अर्ब ४९ करोड ११ लाख रुपैयाँएभरेष्ट बैंकले ४ अर्ब १२ करोड ३४ लाख रुपैयाँ नाफा कमाएका छन्। यसरी शीर्ष पाँच बैंकले मात्रै करिब २८ अर्ब रुपैयाँ नाफा आर्जन गरेका छन्, जुन समग्र वाणिज्य बैंकहरूको कुल नाफाको ठूलो हिस्सा हो। मध्यम समूहका बैंकहरूमध्ये प्राइम कमर्सियल बैंकले ३ अर्ब ७४ करोड रुपैयाँ, राष्ट्रिय वाणिज्य बैंकले ३ अर्ब ७२ करोड रुपैयाँ, एनएमबि बैंकले ३ अर्ब ६३ करोड रुपैयाँ, नेपाल बैंकले ३ अर्ब ३२ करोड रुपैयाँ तथा सानिमा बैंकले ३ अर्ब १२ करोड रुपैयाँ नाफा कमाएका छन्।

यस्तै, लक्ष्मी सनराइज बैंकको नाफा २ अर्ब ८९ करोड रुपैयाँ, सिद्धार्थ बैंकको २ अर्ब ८० करोड रुपैयाँ, स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपालको २ अर्ब ६२ करोड रुपैयाँ, माछापुच्छ्रे बैंकको २ अर्ब १७ करोड रुपैयाँ तथा कृषि विकास बैंकको १ अर्ब ९५ करोड रुपैयाँ पुगेको छ। अन्य बैंकहरूमध्ये नेपाल एसबीआई बैंकले १ अर्ब ८३ करोड रुपैयाँ, सिटिजन्स बैंक इन्टरनेशनलले १ अर्ब ७४ करोड रुपैयाँ, प्रभु बैंकले १ अर्ब ५० करोड रुपैयाँहिमालयन बैंकले १ अर्ब १६ करोड रुपैयाँ नाफा आर्जन गरेका छन्।

समीक्षा अवधिमा भने एनआईसी एशिया बैंक सबैभन्दा कम नाफा कमाउने बैंक बनेको छ। बैंकले जेठ मसान्तसम्म ५० करोड रुपैयाँ मात्रै खुद नाफा आर्जन गरेको राष्ट्र बैंकको तथ्यांकले देखाएको छ। बैंकहरूको नाफामा आएको सुधारले वित्तीय क्षेत्र क्रमशः स्थिर बन्दै गएको संकेत गरेको विश्लेषण गरिएको छ। पछिल्लो समय निष्क्रिय कर्जाको व्यवस्थापन, सञ्चालन खर्चमा नियन्त्रण, ब्याज खर्च घट्नु तथा आर्थिक गतिविधिमा क्रमिक सुधार देखिनुले अधिकांश बैंकको नाफा बढाउन सहयोग पुगेको मानिएको छ।