२०८३ बैशाख ९ गते

केन्द्रीय बैंक निक्षेप बटुल्दै : निक्षेपकर्ताहरु घट्दैछन् तर निक्षेप घटेन !

नेपाल राष्ट्र बैंकले फेरि ४० अर्ब निक्षेप उठाउने भएको छ । केन्द्रीय बैंकले १ सय ६८ दिनको लागि ४० अर्ब उठाउन लागेको हो । यस निक्षेपको ब्याजदर बोलकबोलको माध्यमबाट निर्धारण हुनेछ । केन्द्रीय बैंकले सातामा २ दिन यस्तो निक्षेप बैंकहरुबाट उठाउँदै आएको छ ।

त्यसो त बैंक तथा वित्तीय संस्थामा सञ्चालित निक्षेपकर्ताको संख्यामा पनि कमी आउन थालेको छ । तर, बैंकहरूको सञ्चालन योग्य रकम भने बढ्दो क्रममा छ । यो अवस्था कर्जाको माग नहुँदा र प्रणालीमा अधिक तरल रकम हुँदा उत्पन्न भएको हो । बैंकहरूले लामो समयदेखि मुद्दती निक्षेपको हिस्सा घटाउन थालेका छन् । यसले निक्षेपकर्तालाई असुविधा पु¥याएको छ । अघिल्लो वर्षदेखि बैंकिङ क्षेत्रमा अपेक्षित कर्जाको माग छैन, जसका कारण बैंकहरूले अधिक तरलता व्यवस्थापन गर्न परिपक्क मुद्दती नवीकरण नगरी साधारण बचत खातामा सार्ने काम गर्दै आएका छन् ।

नेपाल राष्ट्र बैंकका तथ्यांक अनुसार, एक वर्षको अवधिमा बैंक तथा वित्तीय संस्थामा मुद्दती खाताको हिस्सा ९.०१ प्रतिशत विन्दुले घटेको छ । त्यस्तै, साधारण बचतको हिस्सा ७.२२ प्रतिशत विन्दुले बढेको देखिएको छ । २०८१ साल साउन मसान्तसम्म, बैंक तथा वित्तीय संस्थाले कुल ६४ खर्ब ४६ अर्ब रुपैयाँ निक्षेप संकलन गरेका थिए । त्यसमध्ये ५७.१५ प्रतिशत मुद्दती खातामा, ३०.१५ प्रतिशत बचत खातामा, बाँकी चालु खाता, कल खाता र अन्य खातामा थियो । तर २०८२ चैत मसान्तसम्म कुल बढेको छ । कर्जाको माग नहुँदा बैंकहरू आफ्नो अधिक तरल रकम व्यवस्थापनमा बाध्य भएका छन्। यसैकारण मुद्दती खाताको हिस्सा घटाइएको हो । चालु आर्थिक वर्षको यो अबधिसम्म बैंक तथा वित्तीय संस्थामा करिब ११ खर्ब रुपैयाँ ऋण दिन मिल्ने रकम रहेको छ । नयाँ आर्थिक वर्षको सुरुवातसँगै बैंकहरूमा ऋणयोग्य रकम बढ्दै गएको थियो । यस वर्षको विस्तारकारी बजेट र मौद्रिक नीतिले कर्जा प्रवाह बढ्ने अपेक्षा गरिएको थियो। प्रारम्भमा कर्जा माग बढ्ने संकेत पनि देखिएको थियो। बैंकहरूमा एलसी खुल्ने क्रम बढेको थियो। तर, भदौ २३ र २४ को जेनजी प्रदर्शनपछि सृजना भएको असहज राजनीतिक अवस्थाले कर्जा विस्तार ठप्प भएको बैंकहरूले बताएका छन्।
ब्याजदर ५० महिनायता न्यून स्तरमा पुगेको छ। तर, कर्जा विस्तारले गति लिन नसकेको मुख्य कारण न्यून बजार माग र उद्योगहरू अधुरी क्षमता मा सञ्चालनमा हुनु हो।

बैंकमा निक्षेपकर्ताको संख्या घटेको छ, तर कर्जा दिन मिल्ने तरलता लगातार बढ्दै गएको देखिन्छ। निक्षेपको ठूलो हिस्सा मुद्दतीबाट साधारण बचतमा सरेको, तर कर्जा माग नभएकाले बैंकहरूले अधिक तरलता व्यवस्थापनमा चुनौती भोगिरहेका छन्। यो अवस्था वित्तीय प्रणालीका लागि सम्भावित जोखिम र अवसर दुवै देखाउँछ।