
बैंकिङ खबर / केही दिनअघि हिमालयन रिइन्स्योरेन्स कम्पनी लिमिटेडका आधारभूत शेयरधनी दिपक भट्ट (नागरिकता नं. १०७, कैलाली) ले दोस्रो बजारबाट नेपाल रिइन्स्योरेन्स कम्पनी लिमिटेड लगायतका शेयर खरिद गर्न नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको सहायक कम्पनीबाट ३७ करोड रुपैयाँ दुरुपयोग गरेको भन्ने समाचार विभिन्न सञ्चार माध्यममा प्रकाशित भएकोप्रति नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
कम्पनीले जारी गरेको स्पष्टिकरणमा उक्त समाचार भ्रामक तथा तथ्यहीन रहेको उल्लेख गरिएको छ। कम्पनीका अनुसार दिपक भट्ट वा धितोपत्र दलाल नं. ५५ भृकुटी स्टक ब्रोकर कम्पनी प्रा.लि. सँग उक्त विषयमा कुनै संलग्नता नरहेको र यस प्रकारको कुनै कारोबार समेत नभएको जनाएको छ।
नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले सम्बन्धित सबै पक्षलाई यस्ता अपुष्ट र भ्रामक समाचारप्रति सचेत रहन आग्रह गरेको छ। कम्पनीले आफू सधैं प्रचलित कानून, नियामक निकायका मापदण्ड तथा संस्थागत सुशासनका सिद्धान्तहरूको पूर्ण पालना गर्दै व्यवसाय सञ्चालन गर्दै आएको स्पष्ट पारेको छ।
कम्पनीले आफ्ना सम्पूर्ण सरोकारवालालाई आधिकारिक सूचनामात्र विश्वास गर्न र तथ्यहीन समाचारको पछि नलाग्न समेत अनुरोध गरेको छ।

