२०८२ चैत्र १८ गते

३९ दिनका लागि २५ अर्ब निक्षेप संकलन गर्दै नेपाल राष्ट्र बैंक

बैंकिङ खबर / नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट तरलता व्यवस्थापन गर्ने उद्देश्यले आज चैत १८ गते २५ अर्ब रुपैयाँ बराबरको निक्षेप संकलन गर्ने घोषणा गरेको छ। केन्द्रीय बैंकले ३९ दिन अवधिको निक्षेप संकलन उपकरणमार्फत उक्त रकम उठाउन बोलकबोल प्रक्रिया सुरु गरेको हो। 

यस योजनाअन्तर्गत निर्धारण हुने ब्याजदर प्रतिस्पर्धात्मक बोलकबोलबाट तय गरिनेछ। संकलित निक्षेपको साँवा तथा ब्याज २०८३ वैशाख २७ गते एकमुष्ट भुक्तानी गरिने व्यवस्था गरिएको छ। बैंक तथा वित्तीय संस्थाहरूले न्यूनतम १० करोड रुपैयाँदेखि, ५ करोड रुपैयाँको गुणकमा कुल आह्वान गरिएको रकमसम्म आवेदन दिन सक्नेछन्। केन्द्रीय बैंकका अनुसार, इच्छुक संस्थाहरूले फरक–फरक ब्याजदरमा बहुबोलकबोलसमेत गर्न सक्नेछन्। प्राप्त प्रस्तावहरूको मूल्यांकन गर्दा सबैभन्दा कम ब्याजदर प्रस्ताव गर्ने संस्थालाई प्राथमिकता दिँदै क्रमशः रकम बाँडफाँड गरिनेछ।