
बैंकिङ खबर / डा. स्वर्णिम वाग्ले एक नेपाली राजनीतिज्ञ, अर्थशास्त्री र योजनाविद् हुन्। उनको जन्म गोरखा जिल्लामा भएको थियो। वाग्लेले उच्च शिक्षा हार्वर्ड विश्वविद्यालयबाट स्नातकोत्तर (मास्टर) पूरा गरेका छन् र अस्ट्रेलियन नेशनल युनिभर्सिटीबाट अर्थशास्त्रमा पीएचडी गरेका छन्।
उनले संयुक्त राष्ट्रसङ्घसँग आबद्ध कार्यक्रममा विकास, गरिबी न्यूनीकरण र आर्थिक नीतिका विषयमा काम गरेका थिए। स्वदेश फर्किएपछि उनले राष्ट्रिय योजना आयोगको उपाध्यक्षको जिम्मेवारी सम्हाले। त्यहाँ रहँदा देशको दीर्घकालीन विकास योजना, आर्थिक नीति सुधार र सुशासनका विषयमा महत्त्वपूर्ण योगदान दिएका थिए।
वाग्ले पछिल्ला केहीबर्षबाट वर्षमा सक्रिय राजनीतिमा लागेका हुन् । उनी तनहुँ क्षेत्र नं १ बाट दुइपटक निर्वाचित भए । उनी राष्ट्रिय स्वतन्त्र पार्टीका उपाध्यक्ष समेत हुन् । उनले विकास, सुशासन, रोजगारी र आर्थिक सुधारका विषयलाई मुख्य ‘एजेन्डा’ बनाउँदै आएका छन् । नयाँ सोच र परिणाममुखी राजनीतिका विषयमा केन्द्रीत रहने उनी नेपाली अर्थशास्त्रीहरु मध्ये अन्तराष्ट्रिय स्तरमा छवि बनाएका र विश्व अर्थतन्त्रका क्षेत्रमा रहेर काम गर्ने एक मात्र व्यक्ति हुन् । उनी अर्थमन्त्री हुँदा देशको विकास र समृद्धिले ठुलै फड्को मार्ने देखिन्छ । प्रधानमन्त्रीका उमेदवार वालेन शाह सफल हुनका लागि पनि स्वर्णिम वाग्ले अर्थमन्त्री बन्न जररी छ ।
निर्वाचन भन्दा अघि उनले एक आर्टिकलमा यस्तो देशको परिकल्पना गरेका छन् कि देशको अर्थतन्त्र प्रति उनको लगाव र विज्ञता त्यस आर्टीकलबाट पनि झल्कीन्छ । जहाँ उनले देश धनी बन्न नपाउँदै बुढो हुने त होइन ? भनेर प्रश्न गरेका छन् । उनको उक्त आर्टीकलको केही अंश यहाँ प्रस्तुत गरिएको छ ।
–‘ अहिले हाम्रो जनसंख्याको ‘मिडियन’ उमेर २४ वर्ष हो। यो भनेको नेपालको आधा जनसंख्या २४ वर्षभन्दा कम उमेरका छन्। यसलाई सरल रूपमा बुझ्न भर्खर जन्मेको नेपालीलाई पूर्व–पश्चिम राजमार्गको झापामा उभ्याऊँ, उमेर छिप्पिसकेको व्यक्तिलाई कञ्चनपुरमा। यसो गर्दा राजमार्गको मध्यविन्दु, अर्थात् नवलपरासीमा उभिन आइपुग्ने नेपालीको उमेर २४ वर्ष हुन्छ।
बढ्दो बसाइसराइँ, विदेश पलायन, परिवर्तित प्रजनन् दर, मृत्युदर र औसत आयु हेर्दा हाम्रो देशको तरूण अवस्था अब धेरै समय टिक्ने देखिँदैन। अब लगभग सात वर्षपछि (सन् २०२८ मा) हामी ‘बुढ्यौलो’ समाज बन्दैछौं। त्यसपछि कुल जनसंख्याको ७ प्रतिशत ६५ वर्षभन्दा बढी उमेरका हुनेछन्।
झट्ट हेर्दा यो थोरै देखिन्छ। जाबो ७ प्रतिशत बुढ्यौलो त के बुढ्यौलो भन्ने लाग्न सक्छ! तर यसलाई वर्गीकरण गर्ने हो भने १८ वर्षभन्दा मुनिकाले कामै गर्दैनन्। यसको मतलब, १८ देखि ६५ वर्षबीचको जनसंख्या मात्र अर्थतन्त्रमा सक्रिय हुने हो, जुन निरन्तर घट्दै जानेछ। सन् २०५० पछि हामी ‘बूढो’ समाजमा रूपान्तरण हुनेछौं। अर्थात् कुल जनसंख्याको १४ प्रतिशत ६५ वर्षभन्दा बढी उमेरका हुनेछन्। यसबीच महिलाहरूले कम उमेरमै बच्चा नपाउने गरी ढिला विवाह गर्ने गरे थोरबहुत यो जनसांख्यिक झ्याल तन्किन सक्छ।
समाज ‘बुढ्यौली’ हुँदै ‘बूढो’ (अर्थात् ‘एजिङ्ग’ बाट ‘एजेड’) मा रूपान्तरण हुनुको अर्थ के त?
अर्थ के भने, हामीसँग अब अर्थतन्त्रको गाडी बेस्सरी दौडाउन जम्मा आठ-दस वर्ष छ। यो दस वर्षमा हामीले आफूसँग भएको तरूण जोशलाई भरपुर उपयोग गर्नुपर्छ। विकसित पश्चिमा मुलुकहरुले ‘बुढ्यौली’ बाट ‘बूढो’ बन्न लामो समय पाएका थिए – फ्रान्सले ११५ वर्ष, स्विडेनले ८५, जर्मनीले ४०। नेपाल र इन्डोनेसिया दुवैले २६ वर्ष पाएका छन् तर अहिले नै इन्डोनेसिया प्रतिव्यक्ति आयमा नेपालभन्दा तीन गुना धनी छ।
कल्पना गर्नुहोस् त, आठ–दस जनाको संयुक्त परिवारमा दुई जना श्रीमान–श्रीमती मात्र कमाउँछन्। बाँकी केटाकेटी र बूढाबूढी छन् जो घरमै बस्छन् या स्कुल–कलेज जान्छन् । उनीहरूको आम्दानीभन्दा खर्च बढी छ। काठमाडौंको महँगीमा यस्तो परिवारको के दशा होला ? ’ यी हरफहरु त उनको लेखबाट नै दिइएका हरफहरु हुन् । अब भने यी हरफलाई उतार्ने जिम्मेवारी उनकै काँधमा आएको छ ।
देशले गरेको अपेक्षा
डा. स्वर्णिम वाग्लेको महत्व र आवश्यकता देशको अर्थतन्त्रमा धेरै नै छ। उनी एक अर्थशास्त्री, नीतिगत विज्ञ र योजनाविद् हुन्, जसले देशको दीर्घकालीन विकास योजना, आर्थिक नीति सुधार र सुशासनका विषयमा महत्त्वपूर्ण योगदान दिएका छन्। उनको अनुभवले संसदमा फरक आवाज थप्ने अपेक्षा गरिएको छ । उनले विकास, सुशासन, रोजगारी र आर्थिक सुधारका विषयलाई मुख्य एजेन्डाु बनाएका छन्, उनका एजेण्डाहरु अब कार्यान्वयनमा आउन जरुरी छ । उनले गरेको समृद्धिको परिकल्पनामा उनी आफै स्वयम कार्यकारी पोजीशनमा जाँदैछन् ।
केही सुझावहरु
देशको अर्थतन्त्र सुधारका लागि मुलत सुशासन सुधारमा जोड दिने, भ्रष्टाचार नियन्त्रण गर्ने, उत्पादनशीलता बढाउने, र साना तथा मझौला व्यवसायलाई प्रोत्साहन गर्ने जस्ता काम गर्नुपर्छ। साथै, दीर्घकालीन बजेट तथा कर नीतिहरूमा सुधार गरी, निजी लगानीलाई प्रोत्साहित गर्ने वातावरण बनाउनु आवश्यक हुन्छ। त्यसैगरी नीतिगत सुधारका क्षेत्रमा वित्तीय नीतिहरूलाई स्पष्टता दिनुपर्छ, कर प्रणालीलाई सरल बनाउनु पर्छ, व्यवसायिक वातावरणमा अनुकूलता ल्याउनु पर्छ, र कानुन कार्यान्वयनमा प्रभावकारीता सुनिश्चित गर्नुपर्छ। यसबाहेक, दीर्घकालीन र स्पष्ट योजना बनाउने, शिक्षा र सीप विकासमा लगानी गर्ने, र सार्वजनिक तथा निजी क्षेत्रबीच सहकार्यलाई मजबुत पार्ने जस्ता कदमहरू पनि आवश्यक हुन्छन्।
लगानीको वातावरण बनाउनका लागि पहिला राजनीतिक स्थिरता, कानुनी सुरक्षाको ग्यारेन्टी, र पारदर्शिता सुनिश्चित गर्नुपर्छ। साथै, लगानीमैत्री नीति बनाउनुपर्छ, प्रक्रिया सरल बनाउनुपर्छ, कर प्रोत्साहनहरू दिनुपर्छ, र भ्रष्टाचारविरुद्धको स्पष्ट कदम चाल्नु पर्छ। इन्टरनेट तथा सूचना प्रविधिको पहुँच, वित्तीय सेवा सहज बनाउने, र लगानीकर्तासँग खुला संवाद राख्ने जस्ता कुराहरूले पनि ठूलो भूमिका खेल्छन्।
नेपालमा धेरै सम्भावना भएका क्षेत्रहरू छन्। पर्यटन क्षेत्र, जलविद्युत, जडीबुटी, कृषि तथा खाद्य प्रशोधन, सूचना प्रविधि, र हस्तकला वा हस्तशिल्प। यी क्षेत्रमा इनोभेशन, प्रविधि, र स्थायी अभ्यासहरूमा जोड दिएर नेपाललाई आर्थिक रूपमा बलियो बनाउन सकिन्छ।



