बैंकिङ खबर / काठमाडौँ महानगरपालिकाले आफ्नो कार्यक्षेत्रमा दर्ता भई सञ्चालनमा रहेका सहकारी संस्थाको खारेजी प्रक्रिया कडा बनाएको छ। वार्षिक साधारणसभा र लेखापरीक्षण प्रतिवेदन पेस नगरेका सहकारीलाई खारेजीको अनुमति नदिने महानगरको निर्णय छ।
महानगर सहकारी विभाग प्रमुख महेशकुमार काफ्लेका अनुसार प्रतिवेदन नबुझाई सहकारी खारेजीतर्फ लैजाँदा बचतकर्ताको रकम जोखिममा पर्न सक्ने भएकाले पहिले सहकारीको सम्पूर्ण आर्थिक अवस्था स्पष्ट गरिने नीति अपनाइएको हो।खारेजी प्रक्रियामा प्रवेश गर्ने सहकारीको हकमा बचतकर्ताको संख्या, बचत रकम तथा आर्थिक कारोबारको पूर्ण यकिन भएपछि मात्र प्रक्रिया अघि बढाइने जनाइएको छ।
महानगरले लामो समयदेखि साधारणसभा नगरेका सहकारी संस्थालाई तत्काल साधारणसभा आयोजना गरी त्यसबाट पारित लेखापरीक्षण प्रतिवेदन, साधारणसभाको निर्णय तथा वार्षिक प्रगति विवरण सहकारी विभागमा बुझाउन निर्देशन दिएको जनाएको छ। यसअघि नै महानगरपालिकाले सूचना जारी गरी तोकिएको समयभित्र प्रतिवेदन नबुझाउने र साधारणसभा नगर्ने सहकारीलाई निष्क्रिय घोषणा गर्दै कानुनी कारबाही अघि बढाइने चेतावनी दिइसकेको छ।