२०८२ पुष २९ गते

सर्बसाधारणका लागि सोलु हाइड्रोको आईपीओ खुल्यो : ८ लाखले सेयर किन्न पाउने !

बैंकिङ खबर । सोलु हाइड्रोपावर कम्पनीको प्राथमिक सेयर (आईपीओ) खुलेको छ । कम्पनीले जारी पूँजी १० अर्ब रुपैयाँको २० प्रतिशत २ अर्ब रुपैयाँको २ करोड कित्ता सेयर निष्कासन गर्ने छ यसमध्ये ८२ लाख कित्ता सेयर आम सर्वसाधारणलाई दिइने छ । यसअघि पहिलो चरणमा आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारमा रहेकालाई आईपीओ निष्कासन गरिएको थियो । दोस्रो पटक पुस २९ देखि सर्वसाधारणका लागि प्राथमिक सेयर (आईपीओ) खुलेको हो । जसमध्ये आयोजना प्रभावित, वैदेशिक रोजगारीमा रहेका तथा म्युचुअल फन्डलाई निष्कासन गरेपछि बाँकी रहेको ८२ लाख कित्ता सेयर आम सर्वसाधारणलाई दिइने भएको हो । यो कम्पनीको सेयर ८ लाख २० हजारलाई १० कित्ताका दरले बाँड्न पुग्नेछ । सर्वसाधारणले माघ ४ गतेसम्म यसमा आवेदन दिन सक्नेछन् भने न्यूनतम १० तथा अधिकतम १ लाख कित्तासम्म आवेदन दिन सकिने जनाइएको छ ।

यो कम्पनीले सोलुखुम्बु जिल्लामा तल्लो सोलु जलविद्युत् आयोजना निर्माण गरेको छ । यस आयोजना ८२ मेगावाट क्षमताको छ । आयोजना सम्पन्न भइसकेको कम्पनीमा ब्याजसहित आयोजनाको कुल लागत १६ अर्ब ३० करोड रुपैयाँ छ ।