Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

मंगलबारको नेप्से : बजार २६ अंकले घट्दा पनि १६ कम्पनीका सेयरधनीले कमाए

२०७३ पुष १९ गते
सेयर:

लगातार चार दिनमा ७५.३२ अंकले बढेको सेयर बजारमा मंगलबार २६.०३ अंकको गिरावट आएको छ । नेप्से परिसूचक १४५६.८२ अंकमा झरेको छ । बीमा समितिमा अध्यक्ष नियुक्तिमा भएको चलखेलको प्रभव सेयर बजारमा देखिएको छ । बीमा समूह मंगलबार सबैभन्दा धेरै २१६.९६ अंकले घटेको छ । बीमा मात्रै हैन, कारोबार भएका सबै समूह राताम्मे भएका छन् । बैंकिङ, होटल, विकास बैंक, जलविद्युत्, फाइनान्स र अन्य समूह क्रमशः २६.९४, २५.२९, २४.३, १८, २.७६ र ०.५७ अंकले घटेका छन् । 

बजार घटेसँगै कारोबार रकममा पनि उच्च गिरावट आएको छ । सोमबार ५० करोडको कारोबार भएको बजार मंगलबार ३९ करोडको कारोबारमा सीमित भएको छ । दिनभरिमा १३० वटा कम्पनीको छ लाख ७१ हजार छ सय ४२ कित्ता सेयर तीन हजार आठ सय ३४ पटक खरिदविक्री हुँदा कुल ३९ करोड ७३ लाख ४८ हजार दुई सय ५५ रुपैयाँ पुँजी परिचालन भएको छ । 

सबैभन्दा धेरै कारोबार सम्हालेको एभरेष्ट बैंकको दुई करोड ७७ लाख चार हजार नौ सय ८३ रुपैयाँको कारोबार भएको छ भने नेपाल लाइफ इन्स्योरेन्सको दुई कराड १६ लाख ८४ हजार सात सय ४८ रुपैयाँको कारोबार भएको छ । यसबाहेक, सिटिजन्स बैंकको एक करोड ९० लाख, प्राइम कमर्सियल बैंकको एक करोड ८२ लाख, नेपाल बंगलादेश बैंकको एक करोड ६४ लाख र बैंक अफ काठमाण्डू लुम्बिनीको एक करोड ५८ लाख रुपैयाँको कारोबारभ भएको छ । नेपाल टेलिकम, सिद्धार्थ बैंक र नेशनल लाइफ इन्स्योरेन्सको पनि एक करोडमाथिको कारोबार भएको छ । शिखर इन्स्योरेन्सको ९८ लाख रुपैयाँको कारोबार भएको छ । 

जम्मा १६ वटा कम्पनीका सेयरधनीले अधिकतम ९.८९ देखि न्युनतम ०.१६९२ प्रतिशतसम्मका दरले आफ्नो सम्पत्ति बढाएका छन् । अरुण फाइनान्सका सेयरधनीले सबैभन्दा धेरै कमाएका छन् भने एक्सेल डेभलपमेन्ट बैंकका सेयरधनीले सबैभन्दा थोरै कमाएका छन् । सप्तकोसी डेभलपमेन्ट बैंकका सेयरधनीले ९.६५ प्रतिशतका दरले कमाउँदा ग्रीन डेभलपमेन्ट बैंकका सेयरधनीले ६.०२ प्रतिशतका दरले कमाएका छन् भने प्रोग्रेसिभ फाइनान्सका सेयरधनीले ४.१६ प्रतिशतका दरले कमाएका छन् । यसबाहेक, एनबि इन्स्योरेन्स, अरुण भ्याली हाइड्रो, वरियन्टल होटल्स, विजय लघुवित्त, किसान माइक्रोफाइनान्स, मिसन डेभलपमेन्ट बैंक, अपि पावर कम्पनी, गुडविल फाइनान्स, ज्योति विकास बैंक, नागरिक लगानी कोष र नविल बैंकका प्रोमोटर सेयरधनीले पनि कमाएका छन् । 

गुमाउने कम्पनीहरुको अग्रस्थानमा रहेको साझा विकास बैंकका सेयरधनीले ७.३० प्रतिशतका दरले आफ्नो सम्पत्ति घटाएका छन् । महिलन सहयात्रा माइक्रोफाइनान्स, युनाइटेड इन्स्योरेन्स, प्रिमियर इन्स्योरेन्स, कालिका माइक्रोक्रेडिट, अल्पाइन डेभलपमेन्ट बैंक, सूर्या लाइफ इन्स्योरेन्स र फस्र्ट माइक्रोफाइनान्सका सेयरधनीले ५.७१ देखि ५.३४ प्रतिशतसम्मका दरले गुमाएका छन् । देवः विकास बैंक, निर्धन उत्थान बैंक लगायतले पनि गुमाएका छन् ।