२०८२ कार्तिक ४ गते

डिजिटल भुक्तानीमा सावधानी अपनाऔंः राष्ट्र बैंक

बैंकिङ खबर/ नेपाल राष्ट्र बैंकले डिजिटल कारोबारमा क्यूआर कोड प्रयोग गर्दा सचेत रहन नागरिकलाई आग्रह गरेको छ। बैंकले आज वित्तीय चेतनाका लागि सार्वजनिक गरेको सूचनामा क्यूआर कोड स्क्यान गर्दा हुने सम्भावित वित्तीय ठगीबारे चेतावनी दिँदै सावधानी अपनाउन अनुरोध गरेको हो।

सूचनामा भनिएको छ, “पैसा पठाउन क्यूआर कोड स्क्यान गर्नुपर्छ, तर पैसा प्राप्त गर्न स्क्यान गर्नुपर्दैन।” राष्ट्र बैंकका अनुसार पैसा प्राप्त गर्नका लागि भुक्तानी गर्ने व्यक्तिलाई आफ्नो क्यूआर कोड उपलब्ध गराउनुपर्छ, न कि अर्काको कोड स्क्यान गर्न। बैंकले भनिएको छ, “यदि कसैले ‘म तपाईंलाई पैसा पठाउँदैछु, यो क्यूआर स्क्यान गर्नुहोस्’ भन्छ भने त्यसो नगर्नुहोस्। यस्तो कार्य वित्तीय ठगीको एक माध्यम हुन सक्छ।”

केन्द्रीय बैंकले डिजिटल कारोबारको प्रयोग बढ्दै गएसँगै ठगीका नयाँ तरिका समेत देखिन थालेको भन्दै सजग रहँदै मात्र सुरक्षित डिजिटल कारोबार गर्न आग्रह गरेको छ।

राष्ट्र बैंकले उपभोक्तालाई अनलाइन भुक्तानी गर्दा आधिकारिक एप्स वा पोर्टलमार्फत मात्र कारोबार गर्न, अपरिचित क्यूआर कोड स्क्यान नगर्न र सन्देहास्पद गतिविधि देखिएमा तुरुन्त सम्बन्धित बैंक वा प्रहरीलाई जानकारी गराउन पनि सिफारिस गरेको छ।