२०८२ श्रावण २५ गते

घरजग्गा व्यवसायीले हदबन्दी छुटको जग्गामा घर वा अपार्टमेन्ट बनाएर बेच्न पाउने

बैंकिङ खबर/ घरजग्गा व्यवसायीलाई हदभन्दीभित्रको घडेरीमा घर वा अपार्टमेन्ट निर्माण गरेर बिक्री गर्ने अधिकार दिने कानुनी व्यवस्था ल्याउन प्रतिनिधि सभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिले सहमति जनाएको छ।

भूमि सम्बन्धी ऐन संशोधन प्रस्तावअनुसार, हालसम्म हदभन्दीभित्रको जग्गामा घर वा आवासीय इकाइ निर्माण गरी बेच्न पाइँदैनथ्यो भने अब त्यस्तो निर्माण गर्न र बिक्री गर्न अनुमति मिल्नेछ। समितिले घरजग्गा व्यवसायीहरूले हदभन्दीभित्र जग्गा विकास गरी घडेरीमा घर वा अपार्टमेन्ट निर्माण गर्न र बिक्री गर्न सक्ने व्यवस्था प्रस्तावित विधेयकमा राखेको छ।

तर, यससँगै केही सर्तहरू पनि लागू हुनेछन्। स्थानिय भू-उपयोग परिषद्‌ले जमिन आवासीय वा व्यावसायिक क्षेत्रमा वर्गीकरण गरेपछि मात्र तोकिएको हदभन्दी भित्रको जग्गा विकास गरी बिक्री गर्न पाइनेछ। वर्गीकरण हुनु अघि अनुमति लिएर खरिद गरिएको जग्गा भने मन्त्रालयको स्वीकृति लिएर बिक्री गर्न सकिने व्यवस्था पनि प्रस्तावमा समेटिएको छ।

वन तथा वातावरण मन्त्रालयले भनेको छ कि कृषियोग्य जमिनमा घरजग्गा व्यवसायीलाई समस्या नपरोस् भनेर वर्गीकरण हुनु अघि अनुमति लिएर खरिद गरिएका जग्गाको बिक्रीमा रोक नलगाउने कानुनी व्यवस्था अघि बढाइएको हो।

यस संशोधनले घरजग्गा व्यवसायमा सहजता ल्याउने र हदभन्दीको सीमामा भएको जग्गाको प्रयोगलाई वैध बनाउने काम गर्ने अपेक्षा छ। प्रस्तावित विधेयक आज संसदीय समितिबाट पारित हुने तयारीमा छ।