
बैंकिङ खबर/ नेपाल राष्ट्र बैंकले उपदान तथा पेन्सन कोषमा रहेको १ अर्ब रुपैयाँ बैंक तथा वित्तीय संस्थाहरूमा एक वर्षका लागि मुद्दती निक्षेप राख्ने भएको छ। राष्ट्र बैंकले आइतबार एक सूचना जारी गर्दै इच्छुक बैंक तथा वित्तीय संस्थाहरूलाई तोकिएको ब्याजदर सहित आवेदन दिन आह्वान गरेको छ। आवेदन दिने म्याद साउन १५ गते (मंगलबार)सम्म तोकिएको छ।
उक्त १ अर्ब रुपैयाँमध्ये ८० करोड रुपैयाँ वाणिज्य बैंकहरूमा, १५ करोड राष्ट्रियस्तरका विकास बैंकहरूमा र ५ करोड राष्ट्रियस्तरका फाइनान्स कम्पनीहरूमा निक्षेप राखिने राष्ट्र बैंकले जनाएको छ। ब्याजदर तिर्ने आधार त्रैमासिक भुक्तानीमा रहनेछ।
निक्षेप लिने बैंक तथा वित्तीय संस्थाहरूका लागि राष्ट्र बैंकले केही मापदण्ड पनि तोकेको छ। ती अनुसार:
सम्बन्धित संस्था सञ्चालनमा आएको कम्तीमा २ वर्ष पूरा भएको हुनुपर्छ,
न्यूनतम पूँजीकोष (Capital Fund) तोकिएको सीमाभन्दा कम नहुनु पर्ने,
कुल खराब कर्जा (Gross NPL) ८ प्रतिशतभन्दा बढी र खुद खराब कर्जा (Net NPL) ३ प्रतिशतभन्दा बढी हुनु नहुने।
राष्ट्र बैंकले यस्तो कदम चाल्नुको उद्देश्य उपदान तथा पेन्सन कोषको रकम सुरक्षित तथा लाभदायक ढंगले परिचालन गर्नु रहेको बताइएको छ।




