
बैंकिङ खबर/ नेपाल राष्ट्र बैंकले रु. ५० दरको नयाँ नोट छपाइको प्रक्रिया अघि बढाएको छ। बैंकले आज एक सूचना जारी गर्दै अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गरेको हो।
राष्ट्र बैंकले ४२ करोड थान नयाँ नोट छपाइ गर्न प्रस्ताव गर्न इच्छुक कम्पनीहरूलाई प्रस्ताव पेश गर्न आग्रह गरेको छ। बैंकका अनुसार इच्छुक र योग्य कम्पनीहरूले आउँदो भदौ २१ गते (सेप्टेम्बर ७) भित्रमा बोलपत्र प्रस्ताव पेश गर्नुपर्नेछ। प्रस्ताव राष्ट्र बैंकको थापाथलीस्थित बैंकिङ विभागमा बुझाउनुपर्नेछ।
बोलपत्र पेस गर्दा २० हजार नेपाली रुपैयाँ, १४६ अमेरिकी डलर, १२६ युरो वा १०९ पाउन्ड बराबरको धरौटी राख्नुपर्नेछ। राष्ट्र बैंकले छनौट हुने कम्पनीलाई नोटको डिजाइन तयार पार्ने, छपाइ गर्ने र नोट आपूर्ति गर्ने कार्य समेत सम्पूर्ण रूपमा जिम्मा दिने जनाएको छ।नयाँ नोट छपाइसँगै नोटको गुणस्तर र सुरक्षा विशेषता थप परिष्कृत हुने अपेक्षा गरिएको छ।





