
बैंकिङ खबर/ पूर्व अर्थमन्त्री तथा नेपाली कांग्रेसका सांसद डा. प्रकाशशरण महतले घरजग्गा क्षेत्रमा अनावश्यक रूपमा अत्यधिक लगानी भइसकेकाले अब उक्त क्षेत्रमा कर्जा विस्तार र प्रोत्साहन दिनु नहुने बताएका छन्। संघीय संसद अन्तर्गतको अर्थ समितिमा आयोजित आगामी मौद्रिक नीतिबारेको छलफलमा बोल्दै डा. महतले उत्पादनशील क्षेत्रलाई प्राथमिकतामा राख्नुपर्नेमा जोड दिए। “घरजग्गामा भएको लगानी अत्यधिक र अनावश्यक किसिमको भएको छ। अब त्यहाँ प्रोत्साहन दिनु हुँदैन,” उनले भने, “जो घरजग्गामा धेरै लगानी गरेर नाफा कमाउन खोजिरहेका छन्, अब नोक्सानी व्यहोर्न तयार हुनुपर्छ।”
उनले बैंकहरूले साना र व्यावसायिक कर्जाको सट्टा ठूला उद्योगहरूमा मात्र कर्जा प्रवाह गरेर जोखिमबाट जोगिन खोजिरहेको टिप्पणी गरे। “कृषिमा अझै पनि कर्जा पुग्न सकेको छैन, तर कृषि विकास बैंक हाइड्रोपावरमा लगानी गर्दैछ,” महतले बताए।
उनका अनुसार, साना कर्जा लिनेलाई ठूलो समस्या भइरहेको छ, त्यसकारण मौद्रिक नीतिले व्यावसायिकरूपमा काम गर्न चाहनेलाई सहुलियतपूर्ण कर्जा उपलब्ध गराउने व्यवस्था गर्नुपर्ने आवश्यकता रहेको छ। त्यस्तै, उनले उत्पादनमा आधारित कृषि प्रणालीलाई प्रोत्साहन गर्ने नीति ल्याउन र कर्पोरेट संस्कृतिको अभ्यास विकास गर्न पनि राष्ट्र बैंकले ध्यान दिनुपर्ने सुझाव दिएका छन्।
महतले मौद्रिक नीतिमा विगतका कमीकमजोरीबाट पाठ सिकेर सुधार ल्याउनुपर्ने आवश्यकता औंल्याएका छन्।



