Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
नेपाल राष्ट्र बैंक

दुरगामी सहकारीमा २५ करोड अपचलन, अध्यक्ष र सचिव माइन्युट च्यातेर बेपत्ता

२०८२ असार २० गते


बैंकिङ खबर/ तिलोत्तमा–३ मा रहेको दुरगामी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडमा २५ करोडभन्दा बढी रकम अपचलन भएको खुलासा भएपछि सहकारीका अध्यक्ष, सचिव र व्यवस्थापक फरार भएका छन्।

सहकारी अध्यक्ष घनश्याम तिवारी, सचिव रामबहादुर थापा र व्यवस्थापक बसन्त पराजुली बचत फिर्ताको अन्तिम तयारी भइरहेका बेला माइन्युट च्यातेर फरार भएका हुन्। करिब ४०० जना सदस्यले आफ्नो रकम फिर्ताको माग गर्दै निवेदन दिएका थिए। सहमतिको आधारमा असार १९ गतेदेखि फिर्ता प्रक्रिया थाल्ने भनिए पनि अन्तिम समयमा अध्यक्ष तिवारीले सहकार्यबाट पछि हटेपछि अवस्था थप जटिल भएको हो।

सूत्रका अनुसार तिवारीले रकम फिर्ता गर्न एकल प्रयास अस्वीकार गर्दै, अन्य पदाधिकारीले पनि जिम्मा लिनुपर्ने अडान राखेपछि सहमत वातावरण भत्किएको हो। भोलिपल्ट सचिव थापा सहकारी कार्यालय पुगेर माइन्युट च्यातेर बाहिरिएपछि तीनैजना फरार भएका हुन्।

छानबिनमा संलग्न सदस्यहरूका अनुसार अध्यक्ष तिवारीले जानकीनगरमा होटल एचके, जोगिकुटीमा घर खरिद र सचिव थापासँग मिलेर चुनढुङ्गा खानीमा लगानी गरेका छन्। प्रारम्भिक लेखापरीक्षणअनुसार अध्यक्षले ६–८ करोड, सचिव थापाले ३ करोड, र कार्यसमिति सदस्य सनत गौतमले १ करोड २५ लाखभन्दा बढी रकम अपचलन गरेका छन्।

सहकारीका व्यवस्थापक र पदाधिकारीहरूले सफ्टवेयरमै मिलाएर ऋण नलिएका व्यक्तिका नाममा ऋण प्रवाह गरेको, र ऋणीका नाममा थप रकम देखाएको प्रमाण भेटिएको छ। विवाद सार्वजनिक भएपछि सहकारीमा ताला लगाइएको छ।

सहकारीका अध्यक्ष तिवारी १७ वर्षदेखि निरन्तर अध्यक्ष छन्। उनले आफ्ना निकटका व्यक्तिलाई मात्र सञ्चालक बनाउने गरेको, कानुनी प्रक्रिया र आन्तरिक लोकतन्त्रको कुरा उठाउने सदस्यहरूलाई बहिष्कार गरिएको सहकारी सदस्य मिनराज भारद्वाजले बताए।

सहकारीका पदाधिकारीहरू नेपाली कांग्रेससँग निकट रहेको जनाइएको छ। अध्यक्ष तिवारी कांग्रेसबाट वडाअध्यक्षको टिकटका आकांक्षी थिए भने सचिव थापा कांग्रेस नगर समितिका पूर्व सचिव हुन्। अन्य पदाधिकारीहरूको पनि कांग्रेससँग निकटता रहेको देखिएको छ।

लेखापरीक्षण टिमको अन्तिम प्रतिवेदनपछि मात्र अपचलनको पूर्ण विवरण बाहिर आउने अपेक्षा गरिएको छ। यद्यपि माइन्युट च्यातेर भाग्नुलाई प्रहरी, जनप्रतिनिधि र सर्वसाधारणले अपराध ढाकछोप गर्ने प्रयासका रूपमा लिएका छन्।