
बैंकिङ खबर/ स्टक ब्रोकर कम्पनीहरूलाई न्यूनतम चुक्ता पुँजी पुर्याउन दिइने समय आगामी चैत मसान्तसम्म थपिने भएको छ । नेपाल धितोपत्र बोर्डले ‘धितोपत्र व्यवसायी (धितोपत्र दलाल तथा धितोपत्र व्यापारी) नियमावली, २०६४’ संशोधन गरी पुँजी पुर्याउने समय थप गर्न अर्थ मन्त्रालयमा प्रस्ताव पठाएको हो ।
बोर्डका एक अधिकारीका अनुसार, शुक्रबार उक्त प्रस्ताव मन्त्रालयमा पठाइएको हो । हाल ब्रोकर कम्पनीले आफ्नो पुँजी वर्गअनुसार २० करोडदेखि ६० करोड रुपैयाँसम्म पुर्याउनुपर्ने व्यवस्था छ भने स्टक डिलर कम्पनीले १ अर्ब ५० करोड रुपैयाँको पुँजी राख्नुपर्नेछ ।
यसअघि २०७९ भदौमा नियमावली संशोधन गरेर सरकार र बोर्डले ब्रोकर कम्पनीहरूको न्यूनतम पुँजी करिब ३० गुणासम्म बढाएका थिए । तर, अधिकांश ब्रोकरहरूले तोकिएको पुँजी समयमा पु¥याउन नसकेको अवस्थामा बोर्डले चैत मसान्तसम्म समय थप गर्न लागेको हो ।
हाल बजारमा ९० वटा ब्रोकर कम्पनीमध्ये २ वटाले मात्र पूर्ण ब्रोकरको रूपमा काम गरिरहेका छन् । बाँकी ८८ वटा कम्पनी सीमित सेवा दिने गरी सञ्चालनमा छन्, जसका लागि २० करोड चुक्ता पुँजी आवश्यक हुन्छ ।
बोर्डले यसअघि चैत तेस्रो साता ’मर्जर तथा एक्विजिसन निर्देशिका’ जारी गर्दै पुँजी पुर्याउन नसक्ने कम्पनीलाई गाभ्ने वा गाभिने प्रक्रिया अगाडि बढाउन पनि निर्देशन दिएको थियो । त्यसै अनुरूप एक वर्ष समय दिनुपर्ने भन्दै अबको अन्तिम समय सीमा चैत मसान्त कायम गर्ने प्रस्ताव गरिएको बोर्डले जनाएको छ ।
हाल ६० करोड पुँजी पुर्याएका कम्पनीमा हिमालयन सेक्युरिटिज र एनआईएमबी स्टक मार्केट रहेका छन् भने स्टक डिलर कम्पनीमा नागरिक स्टक डिलर (नागरिक लगानी कोष) र नबिल स्टक डिलर (नबिल इन्भेस्टमेन्ट बैंकिङ) मात्र सञ्चालनमा छन् । यी डिलर कम्पनीहरूबीच मर्जरको सम्भावना भने देखिएको छैन ।




