Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
नेपाल राष्ट्र बैंक

बैंक लुटपाट घटनाः मुख्य अभियुक्त पक्राउ

२०८२ असार १२ गते
प्रतिकात्मक तस्बिर

बैंकिङ खबर/ डाँका तथा संगठित अपराध मुद्दामा फरार रहेका सुजन विक उर्फ सुजेन्द्र लोहनीलाई सिरहा प्रहरीले पक्राउ गरेको छ। उदयपुर जिल्लाको त्रियुगा नगरपालिका–१२ निवासी ३० वर्षीय लोहनी २०७९ फागुन १० गते सिरहाको मिर्चैया नगरपालिका–३ स्थित बताहा पुल नजिक भएको नौ लाख रुपैयाँ लुटपाट घटनामा संलग्न रही फरार थिए।

उक्त दिन ग्लोबल आइएमई बैंक, कल्याणपुर शाखाका कर्मचारीले मिर्चैया स्थित शाखाबाट नौ लाख रुपैयाँ झिकेर मोटरसाइकलमा कालो झोलामा बोकी फर्किंदै गर्दा सशस्त्र अपराधी समूहले बाटोमै रोकी लुटपाट गरेका थिए। घटनामा

बैंकका कर्मचारीलाई सुरक्षा दिइरहेका प्रहरी जवानसमेत कुटपिटमा परेका थिए।घटनापछि मुख्य योजनाकार लोहनी भारततर्फ फरार रहेका थिए। गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय सिरहाबाट खटिएको विशेष प्रहरी टोलीले सशस्त्र प्रहरीको समन्वयमा उनलाई सिरहा नगरपालिका–१७, खैरटोका स्थित नेपाल–भारत सीमाबाट पक्राउ गरेको हो।

पक्राउ परेका लोहनीलाई जिल्ला प्रहरी कार्यालय सिरहामार्फत जिल्ला अदालत सिरहामा पेश गरिएको छ। प्रहरीले घटनालाई गम्भीर संगठित आपराधिक गतिविधिका रूपमा लिई अनुसन्धान अघि बढाएको छ। प्रहरी स्रोतका अनुसार, घटनामा संलग्न अन्य फरार अभियुक्तहरूको खोजी कार्य तीव्र पारिएको छ र उनीहरूलाई पनि चाँडै कानुनी दायरामा ल्याइने प्रतिबद्धता प्रहरीले जनाएको छ ।