
बैंकिङ खबर/ मितेरी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको करोडौं रुपैयाँ ठगी प्रकरणमा फरार रहेका ज्योतिबहादुर भण्डारीलाई कम्बोडियाबाट पक्राउ गरी नेपाल ल्याइएको छ। केन्द्रीय अनुसन्धान ब्यूरोले उनलाई नियन्त्रणमा लिएर ठगीसम्बन्धी अनुसन्धान प्रक्रिया अघि बढाएको छ।
४२ वर्षीय भण्डारीलाई प्रहरी प्रधान कार्यालयबाट खटिएको टोलीले बुधबार राति नेपाल ल्याएको हो। उनीविरुद्ध २०७९ कात्तिक १३ गते इन्टरपोलमार्फत रेड नोटिस जारी गरिएको थियो।
भण्डारीले तत्कालीन महाप्रबन्धक ज्योति गुरुङमार्फत मितेरी सहकारीका १४४ जना सदस्य तथा सञ्चालकहरूबाट संकलन गरिएको १४ करोड रुपैयाँभन्दा बढी रकम ठगी गरेका थिए। गुरुङले अपचलन गरेको रकम भण्डारीले थाइल्याण्डमा बसोबास गर्दै चलाएको पाइएको छ।
प्रहरीका अनुसार, गुरुङ र भण्डारीबीच सो रकम फिर्ता गराउने विषयमा सम्पर्क भएको देखिएको छ। भण्डारीले सहकारीका पदाधिकारीहरूलाई रकम फिर्ता गराउने आश्वासन दिएको तर अन्ततः रकम फिर्ता नगरी विदेशमै लुकिछिपी बस्दै आएको खुलेको छ।
भण्डारीले कास्की र बर्दियाबाट दुईवटा छुट्टाछुट्टै नागरिकता लिएको पाइएको छ। सोही आधारमा उनले दुईवटा राहदानी समेत बनाएका थिए। साथै, उनले अन्य व्यक्तिहरूको विवरण परिवर्तन गरी काल्पनिक नाममा राहदानी र नागरिकता बनाई ठगी कार्यमा प्रयोग गरेको अनुसन्धानबाट खुलेको छ।
CIB का अनुसार, यस प्रकरणमा सहकारीका अन्य पदाधिकारी, सम्बन्धित कर्मचारी र मिलेमतोमा संलग्न अन्य व्यक्तिहरू पनि अनुसन्धानको दायरामा परेका छन्। ठगी, कीर्ते र नागरिकता ऐन उल्लंघन सम्बन्धी कसुरमा मुद्दा दर्ता गरिने तयारी भइरहेको छ।




