
बैंकिङ खबर/स्वर्णलक्ष्मी सहकारीको रकम ठगी मुद्दामा फरार सूचीमा रहेकी नेपाली कांग्रेसकी सांसद माया राई पक्राउ परेकी छन् । भोजपुर स्थायी घर भएकी उनी कांग्रेसकी समानुपातिक सांसद हुन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीलाई राईलाई शनिबार राति कपनस्थित निवासबाटै पक्राउ गरेको हो । उनलाई काठमाडौं प्रहरी परिसरमा बुझाइएको अपराध अनुसन्धान कार्यालयले जनाएको छ।
राई स्वर्णलक्ष्मी सहकारीको सञ्चालक समितिमा रहेर सहसचिव पदमा कार्यरत थिइन् । राईलाई भने यो मुद्दामा उन्मुक्ति दिइएको भन्दै चौतर्फी आलोचना भएको थियो । राई समेत पाँच जनालाई उन्मुक्ति दिँदै आइतबार ३९ जनाविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर भएको छ । राई समेतका व्यक्तिले ६९० बचतकर्ताको १ अर्ब १९ करोड ३० लाख ९० हजार ४९३ रुपैयाँ हिनामिना गरेको आरोप छ । उनी जनजाती कोटाबाट कांग्रेसको केन्द्रीय सदस्य छिन् । पार्टी सभापति शेरबहादुर देउवा समूहमा रहेकी उनी समानुपातिक सांसद हुन् ।


