
बैंकिङ खबर/ चैतमा वर्षकै उच्च घरजग्गा कारोबार भएको छ । गत आर्थिक वर्षको असार मसान्तमा ४४ हजार ५७१ लिखत पारित हुँदा ५ अर्ब २ करोड रुपैयाँ राजस्व संकलन भएको थियो ।
चैतमा भने ४९ हजार ८३२ लिखत पारित हुँदा ४ अर्ब ३९ करोड ७४ लाख राजस्व संकलन भएको भुमिव्यवस्थापन तथा अभिलेख विभागले जनाएको छ ।
यसअघि पुसमा ४८ हजार १५६ लिखत पारित हुँदा ४ अर्ब २५ करोड २२ लाख राजस्व संकलन भएको थियो । यस्तै फागुनमा ४६ हजार ६१ लिखत पारित हुँदा ४ अर्ब १२ करोड राजस्व संकलन भएको थियो ।
आर्थिक वर्षको अरु कुनै पनि महिनामा राजस्व ४ अर्ब पुग्ने सकेको छैन । माघयता लिखत पारित अघिल्लो वर्षको तुलनामा लगातार घटेको भएपनि राजस्व भने बढेको छ ।
माघमा १४.७२ प्रतिशतले बढेको राजस्व, फागुनमा १४.६८ प्रतिशत र चैतमा ११.२९ प्रतिशतले बढेको हो । चैतमा लिखत पारित यो आर्थिक वर्षकै उच्च भएपनि अघिल्लो वर्षको तुलनामा ०.८४ प्रतिशतले घटेको छ ।
आर्थिक वर्षको तेस्रो त्रैमास सकिँदा घरजग्गा कारोबारमा लिखत पारित अघिल्लो वर्षको सोही अवधिको तुलनामा १.५८ प्रतिशतले घटेको छ । तर, घरजग्गा कारोबारबाट सरकारलाई प्राप्त हुने राजस्व भने यस अवधिमा १३.८१ प्रतिशतले बढेको छ ।
चालु आर्थिक वर्षको चैतसम्म कुल ३ लाख ७४ हजार १७१ लिखत पारित हुँदा ३३ अर्ब २२ करोड ३८ लाख रुपैयाँ राजस्व संकलन भएको छ । गत आर्थिक वर्षको यहि अवधिमा ३ लाख ८० हजार १७५ लिखत पारित हुँदा २९ अर्ब १९ करोड ३५ लाख राजस्व प्राप्त भएको थियो ।
आर्थिक वर्ष २०७९÷८० को चैतसम्म ३ लाख २१ हजार ३ सय ७ वटा लिखत पारित हुँदा ३० अर्ब २ करोड २५ लाख राजस्व संकलन भएको थियो ।



