
बैंकिङ खबर/ अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकालाई विश्वको क्रिप्टो राजधानी बनाउने भएका छन् । यसका लागि उनले नयाँ रणनीतिक रिजर्भ बनाउने योजना बनाएका छन् । यसमा उनले बिट्क्वाइन, इथेरियम, एक्सआरपी, सोलाना र कार्दानो गरी पाँच वटा क्रिप्टोकरेन्सीलाई समावेश गर्ने भएका छन् ।
ट्रम्पका पूर्ववर्ति जो बाइडेनले भने धोकाधडी र सम्पत्ति शुद्धीकरणमा प्रयोग हुनसक्ने भन्दै क्रिप्टोमाथि कडाई गरेका थिए । तर आफ्नो चुनावी अभियानको समयमा नै ट्रम्पले आक्रमक रुपमा क्रिप्टो समुदायको समर्थन गरेका थिए ।
नोभेम्बरको सुरुमा भएको राष्ट्रपति निर्वाचनमा ट्रम्पले जितेदेखि नै क्रिप्टोकरेन्सीको भाउ उकालो लागिरहेको थियो । उनको पछिल्लो निर्णयले यसको भाउ थप उकास्ने छ । ट्रम्पको नयाँ क्रिप्टो भन्डारणले कसरी काम गर्छ भन्ने चाहि स्पष्ट भइसकेको छैन ।
शुक्रबार यसबारे थप जानकारी आउने आशा गरिएको छ । ह्वाइट हाउसमा शुक्रबार ट्रम्पले पहिलो क्रिप्टो समिटको आयोजना गर्दैछन् । राष्ट्रपतिको कार्य समूहलाई एक्सआरपी, सोलाना र कार्डानो लगायत समावेश गरेर क्रिप्टो राणनीति भन्डार बनाउनेतर्फ निर्देशन दिन आफूले एउटा आदेशमा हस्ताक्षर गरेको आइतबार सामाजिक सञ्जालमा एएटा पोष्टमा ट्रम्पले भनेका थिए ।



