
बैंकिङ खबर/ नेपाल राष्ट्र बैंकले राष्ट्रिय परिचयपत्रका आधारमा माघ १ देखि बैंक तथा वित्तीय संस्थामा खाता खोल्न सकिने व्यवस्था गरेको छ ।
यसअघि बैंक खाता खोल्न नागरिकता अनिवार्य थियो । अब राष्ट्रिय परिचयपत्र वा त्यसको नम्बरका आधारमा खाता खोलिदिन बैंक तथा वित्तीय संस्था, पूर्वाधार विकास बैंक र लघुवित्त वित्तीय संस्थालाई राष्ट्र बैंकले परिपत्र जारी गरेको हो ।
‘बैंक तथा वित्तीय संस्थाले २०८१ माघ १ देखि राष्ट्रिय परिचयपत्रको विद्युतीय अभिलेखमा रहेको विवरणको पहुँचका आधारमा राष्ट्रिय परिचयपत्र वा राष्ट्रिय परिचयपत्र नम्बरको विवरण यकिन गरी खाता खोल्ने व्यवस्था मिलाउनुपर्नेछ,’ राष्ट्र बैंकको निर्देशनमा भनिएको छ ।
के हो राष्ट्रिय परिचयपत्र ?
राष्ट्रिय परिचयपत्र भनेको नागरिकहरूको वैयक्तिक (Demographic) तथा जैविक (Bio metric) विवरण समाबेस भएको विद्युतीय चिप्स र सुरक्षण सहितको स्मार्ट कार्ड प्रविधिमा आधारित राष्ट्रिय पहिचानको बहुउपयोगी प्रमाणपत्र हो।
राष्ट्रिय परिचयपत्र किन आवश्यक छ ?
परिचयपत्र लागु भएपछि नेपाल राज्यबाट प्रदान गरिने कुनैपनि सेवा सुविधा प्राप्त गर्न वा त्यस्तो सेवा सुविधाको माग गर्दा परिचयपत्र पेश गर्नुपर्छ । साथै यसलाई सार्वजनिक सेवा प्राप्तिको मुख्य आधार तथा व्यक्तिको पहिचानको प्रमाणको रुपमा मान्यता दिइने भएकोले राष्ट्रिय परिचयपत्र कार्ड आवश्यक छ ।
राष्ट्रिय परिचयपत्रका लागि कुन कुन कागजातहरु आवश्यक पर्दछन् ?
नेपाली नागरिकताको सक्कल प्रमाणपत्र
बसाईसराई गरेको हकमा बसाईसराईको सक्कल प्रमाणपत्र (नागरिकतामा उल्लेख भएको स्थायी ठेगाना भन्दा फरक ठेगाना भएमा)
विवाहितको हकमा नागरिकतामा पति वा पत्नीको नाम खुलेको भएमा सोहि प्रमाणपत्र अन्यथा विवाह दर्ता, विवाह प्रमाणित/ नाता प्रमाणितको सक्कल प्रमाणपत्र ।
नागरिकताको प्रमाणपत्रमा जन्म मिति नखुलेको हकमा जन्म मिति खुल्ने आधिकारिक प्रमाण (जन्म दर्ता, शैक्षिक प्रमाण पत्र, राहदानी, पेन्सन पट्टा)
विवरण पुष्टि हुने अन्य कागजातहरु
राष्ट्रिय परिचयपत्र पाउन कस्तो योग्यता चाहिन्छ ?
१६ वर्ष उमेर पुरा भई नेपाली नागरिकताको प्रमाणपत्र लिएका व्यक्तिले राष्ट्रिय परिचयपत्र प्राप्त गर्न सक्छन् ।
नावालकले पनि राष्ट्रिय परिचयपत्र प्राप्त गर्छन ?
हाललाई पहिलो चरणमा नागरिकताको प्रमाणपत्रको आधारमा मात्र राष्ट्रिय परिचयपत्र वितरण गरिएको छ ।दोश्रो चरणमा नावालक, गैर आवासिय नेपाली (NRN) र निश्चित समय नेपालमा बसोबास गर्ने विदेशी नागरिकले समेत पहिचान सहितको राष्ट्रिय परिचयपत्र पाउनेछन् । दोश्रो चरणको शुरुवात गर्नु अघि सार्वजनिक सूचना मार्फत सम्बन्धित सबैलाई सूचित गरिने छ ।
राष्ट्रिय परिचयपत्र कसरी प्राप्त गर्न सकिन्छ ?
नेपाली नागरिकता प्राप्त व्यक्तिले जिल्ला प्रशासन कार्यालय वा राष्ट्रिय परिचयपत्र विवरण दर्ता स्टेसन रहेका ईलाका प्रशासन कार्यालय वा आफ्नो वडामा राष्ट्रिय परिचयपत्र विवरण दर्ता अभियान सञ्चालन भएको बेलामा आफ्नो वडामा गई विवरण दर्ता गराउन सकिन्छ । यसरी विवरण संकलन पछि राष्ट्रिय परिचयपत्र प्राप्त गर्न सकिन्छ ।
अनलाईनबाट फाराम कसरी भर्ने ?
राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागको वेवसाइट https://donidcr.gov.np मा रहेको राष्ट्रिय परिचयपत्र अनलाईन आवेदनमा गई त्यहाँ दिईएको निर्देशन अनुसार फाराम भर्न सकिन्छ।
सबैभन्दा पहिला यहाँ क्लिक गरेर ‘राष्ट्रिय परिचयपत्रको अनलाइन आवेदन’ पेजमा जानुहोस् ।
यो पेजमा दुई ओटा खण्ड रहेका छन् । त्यस मध्येबाट ‘लगइन फर इन्डिभिजुअल’ (Login for Individual) को छेउमा रहेको लगइन (Login) को बटनमा क्लिक गर्नुहोस् ।
यति गरिसकेपछि त्यहाँ देखिएको मोबाइल नम्बरको बक्समा आफ्नो नम्बर राख्नुहोस् र, एसएमएसमा आएको ओटीपी कोड राखेर केही सेकेन्ड पर्खनुहोस् । अनि त्यहाँ ड्याशबोर्ड देखिन्छ ।
त्यसपछि माथि देखिएको ‘न्यु इनरोलमेन्ट’ (New Enrollment) को बटनमा क्लिक गर्नुहोस् ।
यति गरेपछि तपाईंले आवेदन भर्नुअघि के के कुरामा ध्यान दिने भन्ने सूचना पप-अपको रूपमा देखिन्छ । त्यसलाई ध्यान दिएर पढ्नुहोस् ।
अब मागिएका विवरण भर्नुहोस् । यहाँ नाम नेपालीमा लेख्नुपर्ने छ भने तपाईंले रोमनमा जुन अक्षर टाइप गर्नुहुन्छ त्यसरी नै टाइप गर्दा हुन्छ । उदाहरणका लागि तपाईंको नाम राम हो भने (Ram) टाइप गर्दा ‘राम’ टाइप हुन्छ । डिफल्ट रूपमा रोमनाइज्ड किबोर्ड छानिएको हुन्छ । यदि तपाईंले ट्रेडिसनल किबोर्डमा टाइप गर्न चाहनु भयो भने त्यसको विकल्प पनि छ ।
त्यसपछि आफ्नो पहिलो नाम अङ्ग्रेजीमा टाइप गर्नुहोस् । नागरिकता नम्बर राख्दा भने तपाईंले सबै विवरण भरिसकेपछि बायोमेट्रिक दिन कुन मितिमा कुन कार्यालयमा जाने भन्ने छान्न र समय लिन सकिन्छ ।
यसरी सबै प्रक्रिया पूरा गरिसकेपछि तपाईंको स्क्रिनमा पीडीएफ देखिन्छ । सो पीडीएफ प्रिन्ट गरेर तपाईंले तोकेको कार्यालयमा तोकेको समयमा बायोमेट्रिक्स दिन जानुहोस् ।
राष्ट्रिय परिचयपत्रका लागि आवेदन दिइसकेपछिको प्रगति कसरी हेर्ने ?
यदि तपाईंले राष्ट्रिय परिचयपत्रका लागि विवरण दर्ता गराइसक्नु भएको छ भने आफ्नो राष्ट्रिय परिचयपत्र नम्बर तथा त्यसको छपाईको अवस्था उल्लेख गरी निम्न प्रक्रिया अपनाउनुहोस् ।
– त्यसका लागि सबैभन्दा पहिला यहाँ क्लिक गर्नुहोस् । र त्यहाँ भनिएका विवरण राख्नुहोस् । त्यस्तै आफ्नो परिचयपत्र नम्बर वा परिचयपत्रको अवस्था जानकारी पाउन ०१-४२०००१४, ०१-४२११५६३ र ०१-४२००८९४ मा सम्पर्क गर्न वा ९८४७३४६४१२, ९८५१३००५२० र ९८५१३१६०३४ नम्बरमा ह्वाट्सएपमा मेसेज पठाउन पनि सकिन्छ ।
राष्ट्रिय परिचयपत्रमा कस्ता कस्ता विवरण राखिन्छ ?

यदि कुनै व्यक्तिको हातको एक वा सबै औंला नभएमा, दृष्टिविहिन भएकाहरुको राष्ट्रिय परिचयपत्रका लागि जैविक विवरण संकलन गरिन्छ कि गरिदैन ?
राष्ट्रिय परिचयपत्र बनाउन जैविक विवरणहरु संकलन गर्दा यदि कसैको हातको केही वा सबै औला नभएमा, दृष्टिविहिन भएमा कैफियत जनाई जैविक विवरण दर्ता गरिन्छ।
नागरिकतामा जन्म मिति नखुलेमा राष्ट्रिय परिचय पत्रमा कसरी जन्म मिति कायम गरिन्छ ?
राष्ट्रिय परिचयपत्र बनाउदा नागरिकतामा जन्म मिति स्पष्ट नभएमा वा नखुलेमा शैक्षिक प्रमाण पत्र, पेन्सन पट्टा वा राहदानी जारी गर्दाको मिति, वा नागरिकता जारि गर्दाको मितिलार्इ आधार मानी जन्म मिति कायम गरिन्छ।
जस्तै नागरिकतामा उमेर १६ वर्ष र जारी मिति २०२६ असार १८ छ भने राष्ट्रिय परिचयपत्रमा जन्म मिति २०१० असार १८ गते राखिन्छ वा शैक्षिक प्रमाणपत्र, राहदानी, पेन्सन पट्टामा असार १८ भन्दा पछिको मिति रहेछ भने त्यसको आधारमा जन्म मिति कामय गरिन्छ।
नागरिकतामा पतिको थर नभएको तर राष्ट्रिय परिचयपत्रमा भने पतिको थर राख्न खोजे मिल्छ कि मिल्दैन ?
नागरिकतामा पतिको थर छैन भने राष्ट्रिय परिचयपत्रमा पतिको थर राख्न मिल्दैन । यदि पतिको थर राखेर नै परिचयपत्र बनाउने हो भने पहिला नागरिकता संशोधन गरी पतिको थर राखेपछि मात्र राष्ट्रिय परिचयपत्रमा पतिको थर राख्न सकिन्छ ।
कस्मेटिक श्रृङ्गार, टोपी, बुर्का लगाएतका सामाग्री/गहना लगाई फोटो खिच्न मिल्छ कि मिल्दैन ?
राष्ट्रिय परिचयपत्र कार्यविधि २०७८ को दफा १६ (ग) र (घ) अनुसार कस्मेटिक श्रृङ्गार, टोपी, बुर्का, क्यापलगाएतका सामाग्री लगाएर राष्ट्रिय परिचयपत्रका लागि फोटो खिच्न मिल्दैन। किनकी त्यस्ता सामग्री/गहना लगाईं फोटो खिच्दा अन्तराष्ट्रिय मापदण्ड अनुसारको आकार र गुणस्तरको फोटो खिच्न नसकिने र अनुहार/मुखाकृती समेत अस्पष्ट हुनसक्ने भएकाले कुनै पनि कस्मेटिक श्रृङ्गार, टोपी, बुर्का लगाएतका सामाग्री/गहना नलगाई फोटो खिच्नुपर्ने हुन्छ।
राष्ट्रिय परिचयपत्र विवरण दर्ता गर्दा हालको स्थायी ठेगाना नागरिकतामा भएको ठेगाना भएमा फरक भएमा के गर्ने ?
नागरिकताको भन्दा फरक स्थायी ठेगाना भएमा त्यो ठेगाना प्रमाणित गर्ने सरकारी कागजात जस्तै : बसाइ सराइको प्रमाणपत्र वा बसोबास प्रमाणित कागजका आधारमा ठेगाना कायम गर्न सकिन्छ । तर स्थानीय तहको पुनसंरचना कारण परिवर्तन भएको ठेगानाको हकमा त्यस्तो प्रमाणपत्र वा कागजात नभएपनि नयाँ ठेगाना कायम गर्न सकिन्छ ।
राष्ट्रिय परिचयपत्र नम्बर भनेको के हो ?
प्रत्येक व्यक्तिको पहिचानको लागि राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागबाट प्रदान गरिने १० अंकको नदोहोरिने युनिक नम्बरलाई नै राष्ट्रिय परिचयपत्र नम्बर भनिन्छ।
राष्ट्रिय परिचयपत्र नम्बर कसरी प्राप्त गर्न सकिन्छ ?
राष्ट्रिय परिचयपत्रका लागि विवरण दर्ता स्टेशनमा गई आफ्नो वैयक्तिक तथा जैविक विवरण दर्ता गराएपछि राष्ट्रिय परिचयपत्र नम्बर प्राप्त गर्न सकिन्छ। जिल्ला प्रशासन कार्यालय/ईलाका प्रशासन कार्यालयहरुका स्टेशनमा तुरुन्तै र वडा स्तरमा रहेका अभियानहरुको हकमा भने केही समय पछि SMS मार्फत नम्बर प्राप्त गर्न सकिन्छ।
राष्ट्रिय परियचपत्र नम्बरको बारेमा जानकारी लिन N<space> आवेदन नं राखि ३०००१ मा SMS गर्न सकिन्छ । वा राष्ट्रिय परिचयपत्रसंग सम्बन्धित कुनै समस्या आएमा कल सेन्टरको नम्बर ०१ ५९७०४४९ मा फोन गर्न सकिन्छ ।
राष्ट्रिय परिचयपत्र कार्ड छापिएपछि कहाँबाट प्राप्त गर्ने ?
राष्ट्रिय परिचयपत्र कार्ड छपाई भएपछि तपाईंको मोवाइलमा छपाई भएको र सङ्कलन गर्न आउने व्यहोरा सहितको SMS प्राप्त हुन्छ। SMS अएपछि परिचयपत्रका लागि विवरण जहाँ दर्ता गराएको हो सोहि स्थानबाट कार्ड लिनुपर्छ।
राष्ट्रिय परिचयपत्र बनेपछि नागरिकताको प्रयोग हुन्छ कि हुँदैन ?
नेपाली नागरिकता प्रमाणपत्र तथा राष्ट्रिय परिचयपत्र व्यवस्थापन सूचना प्रणाली दुवै संवैधानिक व्यवस्था भएकोले प्रचलित कानून अनुसार दुवैको उपयोग हुन्छ। हाल कानून अनुसार जारी गरिएका पहिचान कार्डहरु सम्बन्धित कानून अनुसार प्रयोग तथा उपयोग हुन सक्छन्।
राष्ट्रिय परिचयपत्र कार्ड लिन स्वयम् उपस्थित हुनुपर्छ ?
राष्ट्रिय परिचयपत्र कार्ड वितरण गर्दा सम्बन्धित व्यक्तिको जैविक विवरण प्रमाणित गर्नुपर्ने भएकाले स्वयम उपस्थित हुनैपर्छ ।
राष्ट्रिय परिचयपत्रमा राखिएको विवरण त्रुटी भएमा कसरी सच्याउन सकिन्छ ?
राष्ट्रिय परिचयपत्रमा उल्लेखित विवरण त्रुटी भएमा वा विवरण थपघट गर्नु परेमा सम्बन्धित व्यक्तिले त्यस्तो विवरण सच्याउन वा थपघट गर्न राष्ट्रिय परिचयपत्र बनिसकेपछि तोकिए बमोजिमको ढाँचामा जिल्ला प्रशासन कार्यालय वा ईलाका प्रशासन कार्यालयमा रहेको विवरण दर्ता स्टेशनमा गई निबेदन दिई विवरण सच्याउन सक्नेछ। यसरी विवरण सच्याउदा परिचयपत्र नम्बर परिवर्तन हुँदैन।
राष्ट्रिय परिचयपत्र हराएमा, विग्रिएमा वा नष्ट भएमा अर्को परिचयपत्र लिन सकिन्छ कि सकिदैन ?
राष्ट्रिय परिचयपत्र हराएमा, नासिएमा, विग्रिएमा, काम नलाग्ने भएमा वा कुनै कारणबाट प्रयोगमा आउन नसक्ने भएमा सोको कारण सहित सम्बन्धित जिल्ला प्रशासन कार्यालय वा विवरण दर्ता स्टेशन रहेका ईलाका प्रशासन कार्यालयमा निवेदन दिएमा अभिलेख रूजु गरी राष्ट्रिय परिचयपत्रको प्रतिलिपी उपलब्ध गराइन्छ ।
राष्ट्रिय परिचयपत्र प्रतिलिपि लिन राजश्व कसरी तिर्ने ?
राष्ट्रिय परिचयपत्र प्रतिलिपि लिन पाँच सय रुपैयाँ राजश्व तिर्नुपर्छ। राजश्व राष्ट्रिय वाणिज्य बैंकका जुनसुकै शाखामा गएर राष्ट्रिय परियचपत्र तथा पञ्जीकरण विभाग, कार्यालय कोड ३१४०१३५०१, राजश्व शिर्षक १४२२९ र खाता न १०००१००२०००१०००० मा जम्मा गर्न सकिन्छ ।
कुन अवस्थामा राष्ट्रिय परिचयपत्र रद्द हुन्छ ?
निम्न अवस्थामा राष्ट्रिय परिचयपत्र रद्द हुनेछ:
झुट्टा विवरण पेश गरी परिचयपत्र लिएमा
राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण ऐन, २०७६ विपरित परिचयपत्र लिएमा
परिचयपत्र प्राप्त गरेको व्यक्ति नेपालको नागरिक नरहेमा




