Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

बैंकको मुद्दति निक्षेपमा बीमकको १४% ले बढ्यो लगानी

२०८१ पुष २९ गते

बैंकिङ खबर/ बीमा कम्पनीहरुले बैंक तथा वित्तीय संस्थाको मुद्दति निक्षेपको गरेको लगानी १४ प्रतिशतले बढेको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८१।८२ को मंसिरसम्मको तथ्यांकबाट यस्तो देखिएको हो।

२०८१ मंसिरसम्म बीमा कम्पनी (जीवन, निर्जीवन, पुनर्बीमा, लघु जीवन र लघु निर्जीवन)ले बैंक तथा वित्तीय संस्थाको मुद्दति निक्षेपमा ६ खर्ब २३ अर्ब ६७ करोड ८२ लाख रुपैयाँ लगानी गरेका छन्। २०८० मंसिरसम्म बीमा कम्पनीहरुको लगानी ५ खर्ब ४५ अर्ब २३ करोड ६० लाख रुपैयाँ थियो। पछिल्लो १ वर्षको अवधिमा बीमा कम्पनीहरुले बैंकहरुको मुद्दति निक्षेपमा गरेको लगानी १४.३८ प्रतिशतले बढेको छ।

यसैगरी समीक्षा अवधिमा कर्मचारी सञ्चय कोषको मुद्दति निक्षेपका रुपमा बैंकहरुको लगानी १२.२४ प्रतिशतले बढेर १ खर्ब ७९ अर्ब १६ करोड ६२ लाख रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष मंसिरसम्म बैंकहरुमा कर्मचारी सञ्चय कोषको कुल लगानी १ खर्ब ५९ अर्ब ६२ करोड ७३ लाख रुपैयाँ रहेको थियो।

२०८१ मंसिरसम्म नागरिक लगानी कोषको बैंकहरुमा लगानी ५१.८५ प्रतिशतले बढेर १ खर्ब ३५ अर्ब ५ करोड २० लाख रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष मंसिरसम्म बैंकहरुमा नागरिक लगानी कोषको ८८ अर्ब ९३ करोड ९२ लाख रुपैयाँ थियो।

२०८१ मंसिर मसान्तसम्म व्यक्तिगत निक्षेपको आकार पनि १३.१३ प्रतिशतले बढेको छ। अघिल्लो वर्ष मंसिरसम्म व्यक्तिगत निक्षेपका रुपमा बैंकहरुमा ३७ खर्ब १८ अर्ब ४० करोड २६ लाख रुपैयाँ रहेकोमा समीक्षा अवधिसम्म बढेर ४१ खर्ब ८१ अर्ब ४० करोड ५ लाख रुपैयाँ पुगेको छ।