नेपाल क्लियरिङ्ग हाउस लिमिटेड र हाम्रो विकास बैंक लिमिटेडबीच विद्युतीय चेक क्लियरिङ्ग प्रणाली (NCHL-ECC) सेवा सम्बन्धि सम्झौता भएको छ । सम्झौतापत्रमा नेपाल क्लियरिङ्ग हाउसका तर्फबाट अपरेशन म्यानेजर मतिमुन्नी राजभण्डारी र हाम्रो विकास बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत पारस राज कंडेलले हस्ताक्षर गरेका हुन् । यस सम्झौताअनुसार नेपाल क्लियरिङ्ग हाउस लिमिटेडले बैकलाई विद्युतीय चेक क्लियरिङ्ग प्रणाली सेवा संचालनको लागि NCHL-ECC प्रणाली उपलब्ध गराउने छ ।
विगतमा नेपाल क्लियरिङ्ग हाउस लिमिटेडको यस सेवामा १४९ बैंक वित्तीय संस्थाहरु (क, ख र ग वर्ग)आवद्ध भएका थिए । तर, मर्जरका कारणले सो संख्या घटेर अहिले १०८ सदस्यमा सीमित भएको छ । हाम्रो विकास बैंकसँगको सम्झौतासँगै विद्युतीय चेक क्लियरिङ्ग प्रणालीमा आवद्ध हुने बैंक/वित्तीय संस्थाहरुको संख्या १०९ पुगेको कम्पनीले जनाएको छ ।
नेपाल क्लियरिङ्ग हाउसले उक्त प्रणालीमार्फत बैंक तथा वित्तीय संस्थाहरुका २,७७१ शाखाहरुबाट खिचिएका चेकहरु राफसाफ गराउँदै आएको छ ।