आरम्भ माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडले एकै साथ थप तीन शाखा कार्यालयहरु विस्तार गरेको छ । वित्तीय संस्थाले २०७३ मंसिर १५ बाट सिन्धुलीको कमलामाई नगरपालिका (बैंक रोड), नुवाकोटको विदुर नगरपालिका तथा काभ्रेपलाञ्चोकको बनेपामा आफना शाखा कार्यालयहरु विस्तार गरेको हो । छोटो समयमै आफना कार्यक्षेत्र रहेका १० वटा जिल्लाहरु नै समेटिने गरि विभिन्न १३ वटा शाखा कार्यालयहरु यस अघि नै संचालनमा ल्याई लघुवित्त कार्यक्रम संचालन गरिरहेकोमा अब संस्थाको कुल शाखा संख्या १६ पुगेको छ ।
यसै गरी १० जिल्लाहरु क्रमशःनुवाकोट, सिन्धुपाल्चोक, दोलखा, रामेछाप, सिन्धुली, ओखलढुङ्गा, धनकुटा, तेह्रथुम, खोटाङ्ग र भोजपुर कार्यक्षेत्र रहेको आरम्भ माइक्रोफाइनान्स वित्तीय संस्था लि. ले थप ५ जिल्लाहरु क्रमशः काभ्रेपलाञ्चोक, धादिङ्ग, गोरखा तनहुँ, र कास्कीमा आफनो कार्यक्षेत्र विस्तार गर्न नेपाल राष्ट्र बैंक बाट स्वीकृती समेत प्राप्त गरेको छ । यससँगै संस्थाको कार्यक्षेत्र १५ जिल्ला पुगेको छ ।
पहाडी जिल्लाहरु मात्रै कार्यक्षेत्र रहेको यस वित्तीय संस्थाले पाँच हजारभन्दा बढि घर परिवारलाई सेवा प्रदान गरेको छ । संस्थाले १ करोड १८ लाख भन्दा बढि रकम बचत संकलन गरी हालसम्म रु.२१ करोड ३४ लाख लगानी गरेको छ । जसमध्ये, ६ करोड ६६ लाख रुपैयाँ असूली भइसकेको छ भने १४ करोड ६८ लाख रुपैयाँ लगानीमा रहेको छ ।
हालसम्म विभिन्न १५ वटा बैंक तथा वित्तीय संस्था (५ वटा वाणिज्य बैंक, ६ वटा विकास बैंक तथा ४ वटा वित्त कम्पनी) हरुले ग्रामिण क्षेत्रको विपन्न घर परिवारमा वित्तीय पहुँच पुर्याई आर्थिक गतिविधिको विकास तथा विस्तारको लागि यस वित्तीय संस्था मार्फत संचालित लघुवित्त कारोबारलाई सहयोग गर्दै आइरहेका छन् । यसै आर्थिक बर्ष भित्र संस्थाले ११ हजार भन्दा बढि विपन्न घर परिवारलाई लघु वित्तीय सेवा उपलव्ध गराई करिब ३० करोड लगानी रहने गरी काम गर्ने लक्ष्य लिएको छ ।
हालै मात्र संस्थाले १:१ प्रतिशतले हकप्रद शेयर जारी गरेको छ । जसपश्चात्, संस्थाको चुक्ता पूँजी १ करोड २ लाख रुपैयाँबाट २ करोड ४ लाख रुपैयाँ र जारी पूंजी २ करोड रुपैयाँबाट ४ करोड पुग्ने भएको छ । यसैगरी सर्वसाधरणको लागि शेयर निष्काशन गर्नु पुर्वनै यस वित्तीय संस्थाले पुनः २ः१ प्रतिशतले हकप्रद शेयर जारी गरि संस्थाको जारी पूंजी रु. ६ करोड तथा चुक्ता पूंजी रु. ३ करोड ६ लाख पुर्याउने योजना बनाएको छ । सो पश्चात आर्थिक बर्ष २०७४/०७५ मा सर्वसाधारणको लागि शेयर निष्काशन गर्ने संस्थाको योजना छ ।
यस वित्तीय संस्थाले आफना ग्राहकहरुलाई थप सेवा प्रदान गर्ने अभिप्रायले विप्रेषण सेवा दिने तयारी पनि गरिरहेको छ ।