
बैंकिङ खबर/बंगलदेशको केन्द्रीय बैंक, बंगलादेश बैंक नेतृत्वविहीन बनेको छ । बैंकका गभर्नर अब्दुर रउफ तालुकदारले पदबाट राजीनामा दिएका हुन् । यसअघि राष्ट्र बैंकका चारजना डेपुटी गभर्नर, सल्लाहकार र फाइनान्सियल इन्टेलिजेन्स युनिटका प्रमुखले राजीनामा दिन बाध्य भएका थिए ।
केन्द्रीय बैंक नेतृत्वविहीन हुँदा बंगलादेशको सिंगो बैंकिङ क्षेत्र असुरक्षित बनेको छ । देशका निजी बैंकमा अस्थिरता फैलिएको छ । पूर्व प्रधानमन्त्री शेख हसिनाको सत्ता शक्तिको आडमा बैंकको सञ्चालक समितिमा कब्जा गरेका लगानीकर्ताको राजीनामा माग गर्दै शेयरधनी र कर्मचारीहरूले आन्दोलन चर्काएका छन् ।
बैंकलगायत मुलुकको वित्तीय क्षेत्र लामो समयदेखि संवेदनशील अवस्थामा छ । सत्ता शक्तिको आडमा जबरजस्ती कब्जामा लिएका बैंकको सञ्चालक समितिबाट नयाँ शेयरधनी बाहिरिएका छन्।
केन्द्रीय बैंकले वित्तीय संकट टार्नका लागि ६–७ बैंकलाई बिना धितो रकम छापेर सहयोग गरेको छ । हसिनाको सत्ता निकट मानिने प्रभावशाली व्यवसायीले विदेशी मुद्रा सञ्चिति वा सञ्चितिबाट लिएको ऋण डलरमा फिर्ता गरिरहेका छैनन् ।
स्थानीय अनलाइन अखबार प्रथम आलोका अनुसार कागजपत्रमा अहिले बंगलादेशको कर्जा दुई लाख करोड रुपैयाँको हाराहारीमा रहे पनि यथार्थमा भने झण्डै ४ लाख करोड रुपैयाँ रहेको अनुमान गरिएको छ ।
बेनामी कर्जा, वास्तविक जानकारी लुकाउने र केही बैंकका पदाधिकारीको भ्रष्टाचारका कारण यस क्षेत्रको वास्तविक तथ्य अज्ञात छ । प्रथम आलोले लेखेको छ, बंगलादेश बैंक स्रोतका अनुसार १५ वर्षअघि सन् २००९ मा अवामी लिगको सरकार गठन हुँदा देशमा ऋण करिब २२ हजार करोड रुपैयाँ थियो, जुन अहिले बढेर १ लाख ८२ हजार २९५ करोड रुपैयाँ पुगेको छ । यद्यपि, पुनः निर्धारित ऋण, अदालतको आदेशले निलम्बित ऋणहरू सहित, वास्तविक डिफल्ट ऋण करिब ४ लाख करोड रुपैयाँ मानिन्छ।
२००९ पछि बंगलादेश बैंकले राजनीतिक प्रभावमा १५ वटा नयाँ बैंकहरूलाई इजाजत बाँड्यो । तीमध्ये बहुचर्चित पद्मा बैंक लगभग दिवालिया भई मर्जरको प्रयासमा छ। यसैबीच, पछिल्लो ८ वर्षमा बंगलादेश बैंकको स्वीकृतिमा इस्लामी बैंक, सोसल इस्लामी बैंक लिमिटेड लगायतका केही बैंकको स्वामित्व परिवर्तन भएको छ ।
अहिले बंगलादेशमा निजी क्षेत्रको ६ वटा बैंक चटगाउँस्थित एस आलम समूहको नियन्त्रणमा छन् । यी बैंकहरूले ग्राहकको पैसा फिर्ता गर्न सकेका छैनन्। बंगलादेश बैंकले करिब दुई वर्षदेखि ऋण दिएर यी बैंकहरूको गतिविधिलाई निरन्तरता दिँदै आएको छ ।



