
बैंकिङ खबर / ग्लोबल आइएमई बैंक लिमिटेडले बुद्धि अकेलालाई सहायक प्रमुख कार्यकारी अधिकृत (एसीईओ) पदमा बढुवा गरेको छ । यसअघि नायब महाप्रबन्धकका रूपमा कार्यरत अकेला बैंकको प्रमुख जोखिम अधिकृत (सीआरओ) को जिम्मेवारीसमेत सम्हाल्दै आएका थिए ।
बैंकिङ क्षेत्रमा २२ वर्षभन्दा बढी अनुभव रहेका अकेलाले सन् २००४ मा नेपाल बैंक लिमिटेडबाट नायब प्रबन्धकका रूपमा बैंकिङ करिअर सुरु गरेका हुन् । त्यसपछि सन् २००६ देखि उनी ग्लोबल आइएमई बैंकमा निरन्तर कार्यरत छन्। ग्लोबल आइएमई बैंकमा रहँदा उनले जोखिम व्यवस्थापन, व्यवसाय विस्तार, शाखा सञ्चालन, कर्जा प्रशासन तथा आन्तरिक लेखापरीक्षणलगायतका विभिन्न महत्वपूर्ण विभागमा जिम्मेवारी सम्हालिसकेका छन् ।
जोखिम व्यवस्थापनमा लामो अनुभव भएका अकेला बैंकको सहायक कम्पनी ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेडको सञ्चालक समिति अध्यक्षसमेत हुन् । अकेलाले पोखरा विश्वविद्यालयबाट व्यवसाय प्रशासनमा स्नातकोत्तर (एमबीए) गरेका छन्। एसीईओको नयाँ जिम्मेवारीसँगै उनको अनुभव र विशेषज्ञतालाई बैंकको व्यवसाय विस्तार, जोखिम व्यवस्थापन तथा समग्र सञ्चालनमा उपयोग गर्ने अपेक्षा गरिएको बैंकले जनाएको छ ।
ग्लोबल आइएमई बैंकका अनुसार बैंकले हाल ७७ वटै जिल्लामा ३४१ शाखा, ३६६ एटीएम, १४७ शाखारहित बैंकिङ केन्द्र तथा ६९ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टरमार्फत सेवा दिँदै आएको छ । बैंकका तीनवटा विदेशस्थित प्रतिनिधि कार्यालयसमेत सञ्चालनमा छन्। बैंकले पछिल्ला वर्षहरूमा विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अवार्ड प्राप्त गरेको जनाएको छ । सन् २०२४, २०२५ र २०२६ मा लगातार ‘बेस्ट बैंक नेपाल’को उपाधि प्राप्त गरेको बैंकको दाबी छ ।