Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

माछापुच्छ्रे बैंकको अन्तर्राष्ट्रिय छलाङ, एकैपटक दुई प्रतिष्ठित अवार्ड

२०८३ आश्विन २२ गते

बैंकिङ खबर  /  माछापुच्छ्रे बैंकले ग्राहक सेवा, डिजिटल नवप्रवर्तन तथा जोखिम व्यवस्थापनमा गरेको उत्कृष्ट कार्यसम्पादनका लागि दुई प्रतिष्ठित अन्तर्राष्ट्रिय बैंकिङ अवार्ड प्राप्त गरेको छ । बैंकले ‘इन्फोसिस फिनाकल इनोभेसन अवार्ड २०२६’ अन्तर्गत ‘म्याक्सिमाइजिङ कस्टमर इन्गेजमेन्ट’ विधामा प्लाटिनम अवार्ड प्राप्त गरेको हो । ग्राहकको खाता खोल्ने प्रक्रियासहित बैंकिङ सेवाको पहुँचलाई थप सरल, सहज र प्रभावकारी बनाउने उद्देश्यले सञ्चालन गरिएको ‘रिइन्भेन्टिङ कस्टमर अनबोर्डिङ’ पहलका लागि बैंकलाई उक्त सम्मान प्रदान गरिएको हो ।

इन्फोसिस फिनाकल इनोभेसन अवार्ड बैंकिङ क्षेत्रमा प्रविधि तथा नवप्रवर्तनमार्फत उल्लेखनीय काम गर्ने बैंक तथा वित्तीय संस्थालाई प्रदान गरिन्छ । सन् २०२६ को अवार्डका लागि विश्वभरबाट ५०० भन्दा बढी आवेदन परेकोमा माछापुच्छ्रे बैंकले प्लाटिनम अवार्ड हात पारेको हो । त्यस्तै, बैंकले जोखिम व्यवस्थापनतर्फ पनि अन्तर्राष्ट्रिय सम्मान प्राप्त गरेको छ । इन्डियन च्याम्बर अफ कमर्सले नयाँ दिल्लीमा आयोजना गरेको ‘फोर्थ इमर्जिङ एसिया बैंकिङ कन्क्लेभ एन्ड अवार्ड्स २०२६’ मा बैंकलाई ‘बेस्ट पर्फर्मेन्स अन रिस्क म्यानेजमेन्ट’ विधामा अवार्ड प्रदान गरिएको हो ।

कर्जा, सञ्चालन, बजार तथा तरलता जोखिम व्यवस्थापनमा बैंकले अपनाएको सक्रियता तथा सुरक्षित र जिम्मेवार बैंकिङ अभ्यासलाई मूल्यांकन गर्दै उक्त सम्मान प्रदान गरिएको बैंकले जनाएको छ । दुई अन्तर्राष्ट्रिय अवार्डले माछापुच्छ्रे बैंकको डिजिटल रूपान्तरणसँगै जोखिम व्यवस्थापनमा रहेको प्राथमिकतालाई समेत प्रतिबिम्बित गरेको देखिन्छ । बैंकले पछिल्ला वर्षहरूमा डिजिटल बैंकिङ, ग्राहक अनुभव र जोखिम व्यवस्थापनका क्षेत्रमा प्रविधिको प्रयोगलाई विस्तार गर्दै आएको छ ।

माछापुच्छ्रे बैंकले यसअघि पनि विभिन्न अन्तर्राष्ट्रिय तथा क्षेत्रीय सम्मान प्राप्त गरिसकेको छ । बैंकको आधिकारिक विवरणअनुसार सन् २०२३ मा इन्फोसिस फिनाकल इनोभेसन अवार्डअन्तर्गत गोल्ड अवार्ड, २०२४ मा भिसा लिडरशिप कन्क्लेभअन्तर्गत ‘एक्सिलेन्स इन पीओएस अक्वायरिङ बिजनेस’ तथा सन् २०२५ मा इन्फोसिस फिनाकल इनोभेसन अवार्डअन्तर्गत सम्मान प्राप्त गरेको थियो ।

यसअघि सन् २०२५ मा इन्डियन च्याम्बर अफ कमर्सले आयोजना गरेको ‘थर्ड इमर्जिङ एसिया बैंकिङ कन्क्लेभ एन्ड अवार्ड्स’ मा पनि माछापुच्छ्रे बैंकले ‘राइजिङ स्टार इन एसेट क्वालिटी’ अवार्ड प्राप्त गरेको थियो ।  यसपटक प्राप्त दुई अवार्डले बैंकको ग्राहककेन्द्रित सेवा, डिजिटल नवप्रवर्तन र जोखिम व्यवस्थापनलाई अन्तर्राष्ट्रिय स्तरमा गरिएको मूल्यांकनका रूपमा प्रस्तुत गरेको छ ।