८० अंकसम्मले घटेर सर्मिट ब्रेक लागेको सेयर बजार अन्ततः सुधारिएको छ । नेप्से परिसूचक ५८.०७ अंकको गिरावटसँगै १६००.०१ अंकमा कायम भएको छ । कारोबार भएका सबै समूहहरु ओरालो लागेका छन् । सबैभन्दा धेरै बीमा समूह ३७७.४२ अंकले घटेको छ भने जलविद्युत् ८७.६५ अंकले घटेको छ । होटल, बैंकिङ, विकास बैंक, फाइनान्स, उत्पादनमूलक र अन्य क्रमशः ६३.७८, ५९.६, ५४.९७, २३.९४, २०.४५ र ३.१८ अंकले घटेका छन् ।
बजार तीव्र गतिमा ओरालो लाग्दा पनि एक अर्बमाथिको कारोबार भएको छ । दिनभरिमा १२७ वटा कम्पनीको १५ लाख २७ हजार २२ कित्ता सेयर छ हजार सात सय ४८ पटक खरिदविक्रि हुँदा कुल एक अर्ब २३ करोड ९२ लाख ७७ हजार नौ सय १२ रुपैयाँ पुँजी परिचालन भएको छ । कारोबार रकम गत साताको विहीबारको तुलनामा भने घटेको हो । गत विहिबार सेयर बजारमा डेढ अर्ब पुँजी परिचालन भएको थियो ।
आइतबार पनि धेरै कारोबार गर्ने कम्पनीहरुको अग्रस्थानमा एभरेष्ट बैंक रहेको छ, जसको १८ करोड ६४ लाख २१ हजार चार सय ७७ रुपैयाँ बराबरको कारोबार भएको छ । एभरेष्टलाई पछ्याउँदै नेशनल लाइफ इन्स्योरेन्सले ११ करोड रुपैयाँको कारोबार सम्हालेको छ । शिखर इन्स्योरेन्सको सात करोड ६० लाखको कारोबार हुँदा सिद्धार्थ बैंक र बैंक अफ काठमाण्डू लुम्बिनीको पाँच करोडमाथिको सेयर कारोबार भएको छ भने सिभिल बैंकको चार करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । लुम्बिनी जेनेरल इन्स्योरेन्सको साढे तीन करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ भने नेपाल लाइफ इन्स्योरेन्सको दुई करोड ९३ लाख रुपैयाँको कारोबार भएको छ । स्टान्डर्ड चार्टर्ड बैंक र सिद्धार्थ डेभलपमेन्ट बैंकको दुई अर्ब ६० करोडमाथिको कारोबार भएको छ ।
जम्मा आठ वटा कम्पनीको सेयर मूल्य अधिकतम ३.६४ देखि न्युनतम ०.५२ प्रशितशसम्म बढेको छ । सबैभन्दा धेरै कमाउनेमा साझा विकास बैंकका सेयरधनी छन् भने सबैभन्दा थोरै कमाउनेमा मिसन डेभलपमेन्ट बैंकका सेयरधनी छन् । यसबाहेक, सेती फाइनान्स, पुर्णिमा विकास बैंक, एनएमबि माइक्रोफाइनान्स, नेपाल ग्रामिण विकास बैंक, सृजना फाइनान्स र कामना विकास बैंकका सेयरधनीले क्रमशः ३.४८, २.८३, १.९८, १.८९, १.८८ र १.०२ प्रतिशतका दरले आफ्नो सम्पत्ति बढाएका छन् ।
आइतबार पनि महिला समयात्रा माइक्रोफाइनान्सका सेयरधनीले सबैभन्दा धेरै ८.५६ प्रतिशतका दरले आफ्नो सम्पत्ति घटाएका छन् भने हिमालयन बैंक र टुरिजम डेभलपमेन्ट बैंकका सेयरधनीले क्रमशः ८.११ र ८ प्रतिशतका दरले गुमाएका छन् । एभरेष्ट इन्स्योरेन्स, स्वाबलम्बन विकास बैंक, नागरिक लगानी कोष, गुराँस लाइफ इन्स्योरेन्स, एक्सेल डेभलपमेन्ट बैंक, जनउत्थान सामुदायिक लघुवित्त, प्रिमियर इन्स्योरेन्स र नेपाल लाइफ इन्स्योरेन्सका सेयरधनीले ७ प्रतिशतभन्दा बढीले गुमाएका छन् । प्राइम लाइफ इन्स्योरेन्स, यती डेभलपमेन्ट बैंक, नेपाल इन्स्योरेन्स, रिडि हाइड्रोपावर, एसबीआई बैंक लगायत १४ वटा कम्पनीका सेयरधनीले ६ प्रतिशतभन्दा बढीका दरले गुमाएका छन् भने १० वटा कम्पनीका सेयरधनीले ५ प्रतिशतभन्दा बढीका दरले गुमाएका छन् ।



