२०८० माघ १० गते

पूर्वडेपुटी गभर्नर शिवाकोटीको नेतृत्वमा स्टक एक्सचेञ्जकाे अध्ययन गर्न समिति गठन

बैंकिङ खबर/ सरकारले दोस्रो स्टक एक्सचेञ्ज आवश्यक रहे/नहरेको विषयमा अध्ययन गर्न नेपाल राष्ट्र बैंकका पूर्वडेपुटी गभर्नर चिन्तामणि शिवाकोटीको संयोजकत्वमा समिति गठन गरेको छ ।

मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले शिवाकोटीको नेतृत्वमा एक कानुन व्यवसायी र अर्का चाडर्ट एकाउन्टेन्ट रहने गरी समिति गठन गरेको हो । समितिलाई दोस्रो स्टक एक्सचेञ्ज आवश्यक रहेको नरहेको विषयमा अध्ययन गर्दै प्रतिवेदन पेस गर्ने जिम्मेवारी दिइएको छ । समितिका संयोजक तोकिएका शिवाकोटीले मंगलबारको मन्त्रिपरिषद्ले आफ्नो नेतृत्वमा समिति गठन गरेको विषयमा आफूले पनि सुनेको बताए ।

नेपाल धितोपत्र बोर्डले दोस्रो स्टक एक्सचेञ्जको लाइसेन्स दिने प्रक्रिया सुरु गरेपछि मन्त्रिपरिषद्को निर्देशनपछि स्टक एक्सचेञ्जको लाइसेन्स दिने प्रक्रिया रोकिएको थियो । अर्थ मन्त्रालयले धितोपत्र बोर्डले दोस्रो स्टक एक्सचेञ्जको आवश्यकता विषयमा अध्ययन गर्न पत्राचार गरेपनि बोर्डले आफूले दोस्रो स्टक एक्सचेञ्जको लाइसेन्स दिने प्रक्रिया सुरु गरेको अवस्थामा अध्ययन गर्न नमिल्दै भन्दै अध्ययन गर्न आवश्यक रहे नेपाल सरकारले नै निर्णय गर्नु पर्ने भन्दै पत्राचार गरेको थियो ।