ज्योति विकास बैंक लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ४ करोड ३५ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । बैंकले गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १ सय ५७ दशमलव ०२ प्रतिशतले बढी नाफा कमाएको हो । गत आर्थिक वर्षको पहिलो त्रैमासिक अवधिमा बैंकले १ करोड ६९ लाख रुपैयाँ मुनाफा आर्जन गरेको थियो ।
९८ करोड ७० लाख रुपैयाँ चुक्ता पुँजी भएको बैंकको खुद व्याज आम्दानीमा १ सय २२ दशमलव ४९ प्रतिशतले बढेर ९ करोड ९४ लाख रुपैयाँ पुगेको छ । त्यस्तै संचालन मुनाफा ४९ दशमलव ३५ प्रतिशतले वृद्धि भई ३ करोड ९८ लाख रुपैयाँ पुगेको छ ।
ज्योति विकास बैंक गत आर्थिक वर्षको तुलनामा २० दशलमव ५३ प्रतिशत बढी निक्षेप संकलन गर्न सफल भएको छ । असोज मसान्तसम्ममा बैंकले ७ अर्ब ९४ करोड ७९ लाख रुपैयाँ निक्षेप संकलन गरेको छ । त्यस्तै, बैंकले कर्जातर्फ पनि ३० दशमलव ०३ प्रतिशत बढाएर ६ अर्ब ७६ करोड ७६ लाख रुपैयाँ लगानी गरेको छ ।
तीन महिनाको अवधिमा २७ लाख रुपैयाँ खराबकर्जा उठाउन सफल भएको बैंकले प्रोभिजनमा ३ करोड २ लाख रुपैयाँ राखेको छ भने जगेडाकोषमा ३० करोड ७२ लाख रुपैयाँ राखेको छ । असोज मसान्तसम्ममा बैंकको निस्कृय कर्जा २ दशमलव १३ प्रतिशत र जोखिमयुक्त सम्पत्ती १६ दशमलव ४३ प्रतिशत रहेको छ ।
त्यस्तै, बैंकको प्रतिशेयर आम्दानी वार्षिक १७ दशमलव ६६ रुपैयाँ, मुल्य आम्दानीको अनुपात २२ दशमलव ०३ गुणा, प्रतिशेयर नेटवर्थ १ सय ३१ दशमलव १२ रुपैयाँ र तरलता अनुपात २७ दशमलव १३ प्रतिशत रहेको छ ।