
गौरब काफ्ले
नेपाल राष्ट्र बैंकबाट ‘घ’ वर्गको इजाजत प्राप्त गरी न्यून आय, विपन्न समुदाय तथा स–साना व्यापार व्यवसाय गर्न चाहने व्यक्ति अर्थात् पुरुष वा महिलाहरुलाई समूह निर्माण गरी सदस्य बनाई सदस्यहरुबाट नियमित बचत गरी सामुहिक जमानीमा कृषि व्यावसाय, घरेलु तथा साना व्यापार व्यवसाय सञ्चालन गर्न, हस्तकला तथा अन्य आयमुलक क्रियाकलाप गर्नका लागि र सदस्यहरुको जीवनस्तरलाई मजबुँद बनाउनका लागि धितो वा बिना धितो कर्जा प्रवाह गर्ने संस्थालाई लघुवित्त संस्था भनिन्छ ।
लघुकर्जा वा लघुवित्तीय संस्थाको इतिहास सन् १९७६ मा बंगलादेशबाट शुरु भएको थियो । तर नेपालमा लघुवित्त कार्यक्रम सन् १९९० को सुरुमा नेपाल बैंक लिमिटेडले जर्मन विकास कार्यक्रम जिटिजेडसँगको सहकार्यमा शुरु गरेको थियो ।
निवारणको उपकरणको रुपमा स्थापित गराउने पहिलो श्रेय बंगलादेशका प्रोफेसर मुहम्मद युनसलाई जान्छ । लघुवित्तलाई अझ प्रष्ट गरी बुझ्नुपर्दा लघु भन्नाले स–साना व्यापार व्यवसाय,घरेलु व्यापार व्यवसाय, हस्तकला अर्थात सीपमूलक व्यवसाय भन्ने बुझिन्छ ।
वित्त भन्नाले उक्त व्यावसायहरु सञ्चालन गर्नका लागि आवश्यक आर्थिक स्रोत वा वित्तीय स्रोतलाई वित्त भनिन्छ । लघुवित्तीय संस्थाले स–साना आवश्यक भएका सदस्यहरुलाई निश्चित व्याजदरमा निश्चित समयअवधिका लागि परियोजाना हेरेर ऋण उपलब्ध गराउँछ ।
नेपालको परिप्रेक्ष्यमा लघुवित्त कार्यक्रमका केहि सकारात्मक पक्षहरु :—
● गरिबी निवारण
गरिबी नेपालमा व्याप्त रहेको छ र मुख्य समस्याहरुमध्ये एक हो । लघुवित्त कार्यक्रमबाट आयआर्जनमा वृद्धि गर्छ, आम्दानीका स्रोतहरु सृजना गरी सम्पत्ति निमार्ण गर्छ र सकारात्मक प्रभाव पार्छ ।
● स्थानीय स्रोत साधनको सदुपयोग
नेपालभित्र विभिन्न किसिमका स्रोत साधन जस्तै जडिबुटी, खनिज आदि जस्तालाई प्रयोग गरी उत्पादन कार्यबाट आय आर्जन गर्न सकिन्छ जसबाट खेर गएका स्रोत साधनको सही सदुपयोग हुन्छ ।
● महिला सशक्तिकरण
बेरोजगारी र घरको चुल्होमा सिमित महिलाहरुका लागि विभिन्न किसिमका तालिम,गोष्ठी सञ्चालन गरी सीपमूलक कार्यक्रमहरुबाट महिलाहरुमा सकारात्मक प्रभाव पारी व्यापार व्यवसाय साथै उत्पादन र सेवाहरुको लागि नयाँ बजारमा जोडेको हुन्छ । जसले गर्दा महिलाहरुको सामाजिक,आर्थिक स्थितिमा सुधार ल्याउँछ ।
● स्थानीय उत्पादनमा वृद्धि
लघुकर्जामार्फत सदस्यहरुबाट घरेलु तथा साना व्यवसाय जस्तै गाई भैँसीपालन, दुग्ध उत्पादन आदि सञ्चालन गरी उत्पादनबाट बस्तु तथा सामानको बिक्री गर्दा आफ्नो राष्ट्रभित्र उत्पादित सामग्रीहरु सुपथ मूल्यमा उपलब्ध हुन्छ ।
● सामुहिक भावनाको विकास
महिला वा पुरुष समूह निर्माण गरी सामुहिक जमानीमा कर्जा दिइने हुँदा लघुवित्तीय संस्थाले एकताको भावनामा तथा समाजमा सामुहिकताको भावनामा विकास हुन जाँदा एक आपसमा सहयोग साथको आदानप्रदान हुन्छ ।
● विना धितो छिटो छरितो झन्झटरहित कर्जा व्यवस्था
लघुकर्जामार्फत कर्जा लिँदा बिना धितो छिटो छरितो सामूहिक जमानीमा समुहमा आवद्ध भइ कागजी झन्झटरहित कर्जा प्राप्त हुन्छ । जसबाट गरिब समुदाय जोसँग बैंकमा गएर कर्जा लिनका लागि धितो र अन्य सार्मथ्य हुँदैन । समुदायका लागि लघुकर्जाले कर्जा उपलब्धता अत्यन्त सहज हुने गर्छ ।
● आत्मनिर्भरता र उद्यमशिलतामा वृद्धि
हरेकसँग केहि न केहि सीप कला हुन्छ वा पछि सिक्छ, बुझ्छ र जान्छ र त्यो ज्ञान, सीप क्षमतालाई उद्यम व्यवसायसँग जोडेर उद्यमशिल बन्नका लागि आर्थिक पाटोमा लघुकर्जाको सहायता हुँदा व्यक्तिमा आत्मनिर्भरता र उद्यमशिलतामा वृद्धि भई समग्र रुपमा परनिर्भरतालाई निरुत्साहित गराउँछ ।
● रोजगारीको सृजना
लघुवित्तले ग्रामीण क्षेत्रमा रोजगारी सृजना गर्न महत्वपूर्ण भूमिका खेलेको हुन्छ । लघुवित्तीय संस्थाहरुले स–साना व्यवसायी र उद्यमीहरुलाई ऋण उपलब्ध गराएर उनीहरुको व्यापार व्यवसायको दायरामा वृद्धि गराउँछ र मानव संशाधनको आवश्यक पर्छ । जसले गर्दा रोजगारीको सृजना हुन्छ र अर्थतन्त्रमा सकारात्मक योगदान पुर्याउन मद्दत पुग्छ ।
यति धेरै फाइदा हुँदाहुँदै पनि यीसँगै लघवित्तीय संस्थाका केहि दुर्वल पक्षहरु रहेका छन्, जसले गर्दा पछिल्लो समयमा यसको चर्को आलोचना भइरहेको छ ।
● उच्च ब्याजदर
लघवित्तको प्रमख कमजोरीमध्ये एक लघवित्त संस्थाहरुले लिने उच्च ब्याजदर हो । जसले गर्दा ऋणीहरुलाई ब्याज किस्ता तिर्न गाह्रो पर्छ । थोरै आय भएका व्यक्तिहरुलाई यस किसिमको चर्को ब्याजदरले आर्थिक र मानसिक रुपमा कमजोर बनाउँछ ।
● अति धेरै लघुवित्तीय संस्थासँगको आवद्वता वा सदस्यता दोहोरोपना
लघुवित्तले न्यून आय भएका व्यक्तिहरुमा कर्जा प्रवाह गर्छ तर धेरै संस्थाबाट एकै व्यक्तिले एकै परियोजना देखाएर कर्जा लिँदा ऋणीहरुलाई कर्जा तिर्न मुस्किल पर्छ र लघुसंस्थाले संस्थाले समेत आफुले प्रवाह गरेको कर्जा असुली गर्न सक्दैन्, साथै कर्जा सहि ठाउँमा लगानी नहुदा लघुसंस्था र ऋणीहरुले लक्षित उद्देश्य पूरा गर्न सक्दैनन् । सदस्यहरुमा आर्थिक संकट निम्त्याउँछ ।
● वित्तीय चेतना वा साक्षरताको अभाव
लघुवित्त सेवाहरुको पहुँचमा धेरै कम आय भएका व्यक्तिहरु पर्छन् तर उनीहरुमा वित्तीय साक्षरताको अभावले उनीहरुले सहि निर्णय लिन सक्दैनन् साथै ऋणका सर्तहरु पूर्ण रुपमा बुझ्दैनन् र ऋणीले तिर्न नसक्ने ऋण लिन पुग्छन् । योसँग कतिपय लघुवित्तीय संस्थाका कर्मचारीहरुबाट ठगिन पुग्छन् ।
● बसाइँसराई
लघुवित्तीय संस्थाले समुदायमा समूह निर्माण गरी बिना धितो कर्जा प्रवाह गर्छ । कर्जा लिएर कुनै एक सदस्य बसाई सरेर अन्यत्र जाँदा समूहका अन्य सदस्यहरुलाई कर्जाको दायित्व भार पर्ने हुन्छ । यसले गर्दा लघुवित्तीय संस्थालाई प्रवाह गरेको कर्जा जोखिममा पर्न सक्छ ।
● अनुगमन तथा सुपरिवेक्षणको अभाव
ऋणीले कर्जा लगेपछि ठिक ठाउँमा लगानी भए-नभएको अनुगमन तथा नियमित रुपमा सदस्यहरुले लिएको कर्जाबाट व्यापार व्यवसायको चेकजाँच निर्धारित समय समयमा वित्तीय संस्थाको कर्मचारीबाट सुपरिवेक्षण अभावले पनि लघुवित्तीय संस्थाको अवस्था कमजोर बनाउँछ ।
● भौगालिक कठिनाई
नेपाल अत्यन्तै पहाडी, हिमाली भागहरु रहेका छन् र यातायातका साधन नपुग्नु अर्को समस्या हो । लघुवित्तीय संस्था त्यहाँसम्म पुग्न नसक्नु पुगे पनि नियमित बैठक बस्न नसक्नु, बाटोका कारणले सवारी साधन नचल्नु नियमित सपुरिवेक्षणको अभाव हुनपुग्छ । यो सबै भौगोलिकता कठिनाइ पनि लघुवित्तको चुनौति हो ।
● बैंकसँगको प्रतिस्पर्धा
विभिन्न वाणिज्य बैंक, विकास बैंक, फाइनान्सले सस्तोमा कर्जा प्रवाह हुने हुँदा लघुवित्तीय संस्थासँग कर्जा लिन खोज्दैनन् । सस्तो ब्याज छाडी महंगोतर्फ नलाग्ने हुँदा बैंकसँग प्रतिस्पर्धा गर्न कठिन रहेको छ ।
योसँगै लघुवित्तका कर्मचारीहरुलाई आवश्यक तालिमको अभाव, दक्ष र स्थायी कर्मचारीको अभाव,सामुहिक जवाफदेहितको कमी,शाखा सूचनाको प्रभावकारितामा कमी,राज्यको नियन्त्रण निकायको कमजोरी, तथा राज्यको भुमिकामा फितलो तथा सुरक्षाका हिसावले जोखिम बढी रहेको छ ।
विभिन्न वाणिज्य बैंक, विकास बैंक, फाइनान्सले सस्तोमा कर्जा प्रवाह हुने हुँदा लघुवित्तीय संस्थासँग कर्जा लिन खोज्दैनन् । सस्तो ब्याज छाडी महंगोतर्फ नलाग्ने हुँदा बैंकसँग प्रतिस्पर्धा गर्न कठिन रहेको छ ।
योसँगै लघुवित्तका कर्मचारीहरुलाई आवश्यक तालिमको अभाव, दक्ष र स्थायी कर्मचारीको अभाव,सामुहिक जवाफदेहितको कमी,शाखा सूचनाको प्रभावकारितामा कमी,राज्यको नियन्त्रण निकायको कमजोरी, तथा राज्यको भूमिकामा फितलो तथा सुरक्षाका हिसावले जोखिम बढी रहेको छ ।
लघुवित्त अत्याधिक नाफामुखी भएका छन् जुन उद्देश्यले विश्वमा लघुवित्तको उदय अर्थात् स्थापना भयो त्यो नीति अनुसार चलेका छैनन् । बंगलादेशको गरिवी न्यूनीकरण गर्न गरेको योगदान देखि अन्य मुलुकमा पनि यसको हुबहु प्रयोग गर्ने परिपाटीको रुपमा विभिन्न देशहरुमा यसको प्रयोग गरियो ।
खासगरी सार्क मुलुकमा गरिएका यस्ता प्रयोगहरु मुलुक विशेष त्यहाँको भौगोलिक परिस्थिति बजारमा अति न्यून आय भएका वर्गहरु तथा सिमान्तकृत किसानहरुको पहुँचका आधारमा परिमार्जन गरिनुपर्ने थियो । लघुवित्तका कारणले नै कतिको जीवनस्तरमा सुधार भएको छ, आत्मनिर्भरतामा वृद्धि भएको छ । रोजगारीको सिर्जना भएको छ । वित्तीय चेतना बढेको छ ।
समुहका सदस्यहरुमा प्राविधिक, सीप तालिमबाट शिक्षा प्राप्त भएको छ । पहिला सेवामुखी भावले स्थापना भएको थियो तर हाल यसको ठिक उल्टो भएर अत्याधिक नाफामुखी भएको छ । जसले गर्दा लघुवित्त संस्थाप्रतिको साख गरिमा घटिरहेको छ । हाल नेपालमा लघुवित्त संस्थाको दयनिय अवस्थामा पुगेको छ चर्को ब्याजदर र विविध सेवा शुल्कको नाममा ऋणीको ढाड सेक्ने प्रविधि बढेको छ । कसैले पनि लघुवित्तमा आवद्ध हुन खाज्दैनन् ।
कर्मचारीहरु ठाउँ-ठाउँमा पिटिएका छन् । तिरस्कृत भएका छन् उनीहरुमा नैराश्यता छाएको छ । यति हुँदाहुँदै पनि नियमनकारी संस्था मुखदर्शक बनेको छ । ताकी समयमै लघुवित्त संस्था सम्बन्धी ऐन नियममा आवश्यक परिमार्जन गरिनुपर्ने देखिन्छ । राज्यको भूमिका विशेष भइ राज्यस्तरबाट समयमै लघुवित्त संस्थाप्रति विशेष विचार गर्नुपर्ने देखिन्छ ।
काफ्ले बैंकर हुन् ।



