
बैंकिङ खबर/ श्रीलंकाले तीन वर्षपछि पहिलो पटक ब्याजदर कटौतीको घोषणा गरेको छ । श्रीलंकाको केन्द्रीय बैंकले निर्णायक ब्याजदरलाई २ दशमलव ५ प्रतिशत बिन्दुले घटाएर १४ प्रतिशतमा झारेको छ ।
गएको महिना मुद्रास्फीति घटेर २५ दशमलव २ प्रतिशतमा झरेको तथ्यांकले देखाएपछि ब्याजदरमा कटौती गरिएको समाचार संस्था एएफपीले जनाएको छ । अघिल्लो महिनाको तुलनामा मुद्रास्फीति झण्डै १० प्रतिशतले घटेको देखिएको छ ।
सन् २०२० जुलाईमा दरहरू एक प्रतिशत बिन्दुले घटाइएपछि यो पहिलो कटौती हो । आर्थिक संकट बढ्दै गएपछि केन्द्रीय बैंकले सन् २०२२ को सुरुदेखि नै ब्याजदर बढाउन सुरु गरेको थियो र गएको वर्षको अप्रिलमा सात प्रतिशत बिन्दुले वृद्धि गरेको थियो ।
आर्थिकरूपमा धराशायी बनेको एसियाली देश श्रीलङ्काले मार्चमा अन्तर्राष्ट्रिय मुद्रा कोषबाट कर्जा सहयोग प्राप्त गरेको थियो र चार वर्षको अवधिमा कोभिड र राजनीतिक संकटका कारण ऋणभार चुलिएको थियो । अहिले अर्थतन्त्रमा सुधारको संकेत देखिएको छ ।



