
बैंकिङ खबर/भारतमा आजदेखि २ हजार दरका नोट सटही गर्न शुरु भएको छ । भारतीय रिजर्भ बैंकले २ हजार दरका नोट फिर्ता लिने घोषणा गर्दा मे २३ देखि सेप्टेम्बर ३० सम्म बैंकमा जम्मा गर्न सकिने जनाएको थियो। यसबाहेक २ हजार दरका नोट भारतका जुनसुकै बैंकमा गएर सटही गर्न सकिने सुविधा पनि दिइएको छ।
एक पटकमा केवल १० नोट सटही गर्न सकिने आरबीआईले जनाएको छ। नोट साट्नका लागि कुनै अतिरिक्त शुल्क लाग्ने छैन। मे १९ मा आरबीआईले बैंकहरुलाई तत्काल नयाँ २ हजार दरका नोट जारी गर्न बन्द गर्न भनेको थियो। सोही दिन सबै बैंकलाई नोट साट्न निर्देशन दिइएको थियो।
आरबीआईले ३० सेप्टेम्बरसम्म २ हजार दरका नोट जम्मा वा साट्न सकिने जनाएको छ। गत मार्च ३१ सम्म भारतीय बजारमा ३.६२ लाख करोड रुपैयाँ मूल्यको २ हजार दरका नोट चलनचल्तीमा थिए। ३१ मार्च २०१८ मा यी नोटको सबैभन्दा बढी सर्कुलेसन ६.७३ लाख करोड रुपैयाँ थियो। जुन कुल नोटको १० प्रतिशत हो।



