२०७३ कार्तिक १४ गते

तीन महिनामा चितवनबाट उठ्यो ३४४ करोड राजस्व

rajaswoआन्तरिक राजस्व कार्यालय भरतपुरले चालू आर्थिक वर्षको पहिलो तीन महिनामा तीन अर्ब ४४ करोड २५ लाख रुपैयाँ राजस्व सङ्कलन गरेको छ । कार्यालयले गत आवको सोही अवधिको तुलनामा ४९ प्रतिशत बढी राजस्व संकलन गरेको हो । कार्यालयले गत आवको पहिलो त्रैमासमा दुई अर्ब ३१ करोड ५० लाख रुपैयाँ राजस्व मात्र सङ्कलन गरेको थियो । यो लक्ष्यभन्दा ३१ करोड रुपैयाँले बढी रहेको कार्यालयले जनाएको छ ।
 
कार्यालयका अनुसार, चालु आवको तीन महिनामा अन्तशुल्क सबैभन्दा धेरै दुई अर्ब ८१ करोड ८५ लाख रुपैयाँ संकलन भएको छ । यस्तै आयकर २६ करोड ८६ लाख, घरवहालकर दुई करोड ९० लाख, ब्याजकर एक करोड ९२ लाख र मूल्य अभिवृद्धि कर २९ करोड ११ लाख रुपैयाँ संकलन भएको जनाइएको छ ।
स्वास्थ्य कर एक करोड १३ लाख र शिक्षासेवा कर ४४ लाख रुपैयाँ असुली भएको छ ।
 
गत बर्ष भूकम्प र नाकाबन्दीका कारण आर्थिक गतिविधि प्रभावित भएर राजश्व संकलन न्युन रहेको कार्यालयका प्रमुख थानप्रसाद पगेँनीले बताए । त्यस बाहेक करदातामा बढेको सचेतना एवं करको दायरा बृद्धिले पनि संकलन लक्षको तुलनामा राम्रो भएको उनको भनाइ छ ।
 
कार्यालयले चालु आवमा १२ अर्ब ६३ करोड ७७ लाख रुपैयाँ राजस्व सङ्कलन गर्ने लक्ष्य लिएको छ । रासस