
बैंकिङ खबर/ नेपाल बैंक लिमिटेडले आफ्नो २२८ औं शाखा चितवन जिल्ला, भरतपुर महानगरपालिका वडा नं. १० हाकिमचोकमा स्थापना गरेको छ ।
नेपाल बैंक लिमिटेड सञ्चालक समितिका अध्यक्ष गंगा प्रसाद ज्ञवाली, चितवन जिल्लाका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेल र नेपाल बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारीले संयुक्त रुपमा ताम्रपत्र अनावरण गरी शाखा समुद्घाटन गर्नुभयोे ।
उक्त समाहरोहमा नेपाल बैंक लिमिटेड हाकिमचोक शाखाका शाखा प्रवन्धक नीना श्रेष्ठज्यूको अध्यक्षतामा सम्पन्न भएको थियो । नेपाल बैंक लिमिटेड प्रादेशिक कार्यालय बागमति प्रदेशका प्रादेशिक प्रमुख पासाङ दोर्जी शेर्पा र चितवन उद्योग वाणिज्य संघका अध्यक्ष चुन नारायण श्रेष्ठ, उद्योग संघका अध्यक्ष त्रिलोचन कंडेल, वीरेन्द्र क्याम्पसका प्रमुख दयाराम पौडेल, सप्तगण्डकी क्याम्पसका प्रमुख मणिराज महतो लगायत उपस्थित रहनुभएको उद्घाटन समाहरोहमा जनप्रतिनिधि, ब्यापारी-ग्राहक, जिल्लामा रहेका सरकारी कार्यालयका प्रमुख, शिक्षक, नेपाल बैंक लिमिटेडका निवर्तमान कर्मचारी तथा जेष्ठ नागरिकहरुको समेत उपस्थिति रहेको थियो ।
कार्यक्रमका प्रमुख अतिथि सुरेन्द्र पौडेलले चितवन जिल्लामा प्रतिष्पर्धात्मक माध्यमबाट सुलभ र सहज बैकिङ्ग सेवा दिने गरी नेपाल बैंक लिमिटेड आएकोले यसले चितवनबासीलाई आर्थिक रुपले समृद्ध बनाउने भूमिका खेल्ने धारणा राख्नुभएको थियो ।
नेपाल बैंक लिमिटेड सञ्चालक समितिका अध्यक्ष गंगाप्रसाद ज्ञवालीले विगतमा चितवन जिल्लामा खोलिएको नेपाल बैंक लिमिटेडलाई चितवन बासीले स्मरण गरिरहेकोले सञ्चालनमा आएको हाकिमचोक शाखाबाट दिगो बैंकिङ्गको अपेक्षा रहेको धारणा राख्नुभयो ।
नेपाल बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारीले वक्ताहरुबाट उठाइएका जिज्ञासाको बारेमा स्पष्ट पार्दै बैंकको विशिष्ट प्रकृतिका आर्थिक प्रडक्टहरु रहेका र सोलाई प्रयोग गरी बैंकसँग साझेदारी गर्न ग्राहकबर्गहरुमा अनुरोध गर्नुभएको थियो ।
उक्त कार्यक्रममा नेपाल बैंक लिमिटेड, चितवनमा रहेका शाखा कार्यालयका शाखा प्रमुखहरुको समेत उपस्थिति रहेको थियो । उक्त कार्यक्रममा नेपाल बैंक लिमिटेड प्रादेशिक कार्यालय बागमति प्रदेशका प्रादेशिक प्रमुख पासाङ दोर्जी शेर्पाले स्वागत मन्तब्य दिनुभएको थियो भने शाखामा कार्यरत कर्मचारीहरुले अतिथि सत्कारको ब्यवस्थापन गर्नुभएको थियो ।




