स्याङ्गजा जिल्लास्थित चापाकोट नगरपालिकामा कृषि विकास बैंक लि.ले आफ्नो नयाँ शाखाको औपचारिक उद्घाटन गरेको छ । बैंकका संचालक समितिका अध्यक्ष प्रमोद कुमार कार्की र सीईओ लिला प्रकाश सिटौलाले सोमबार संयुक्त रुपमा उक्त शाखाको उद्घाटन गरेका हुन् ।
समुद्घाटन समारोहमा बैंकका सीईओ सिटौलाले कृषि विकास बैंकले प्रदान गर्ने सेवासुविधा तथा बैंकको प्रोडक्टको बारेमा जानकारी गराए । साथै, स्थानीय जनताको सहयोग भएमा बैंकले निरन्तरता पाउने समेत उनले प्रकाश पारे । प्रमुख अतिथिको मन्तव्य राख्दै बैंकका अध्यक्ष कार्कीले कृषि विकास बैंकले वित्तीय कारोवारका साथै सामाजिक सामुदायिक कार्यक्रम संचालन गर्ने, देशको आर्थिक विकासमा टेवा पुर्याउने, उद्यमशीलता विकासमा महत्वपूर्ण योगदान गर्न सबै नेपालीहरुको घर आँगनको बैंकको रुपमा कार्य गरेको बताए ।
कृषि विकास बैंक लि. क्षेत्रीय कार्यालय, पोखराका निर्देशक राजन प्रसाद श्रेष्ठको अध्यक्षता भएको समुदघाटन कार्यक्रममा बैंकको मुख्य कार्यालय काठमाडौंका विभागीय प्रमुख निर्मल प्रसाद उपाध्याय, कृषि विकास बैंक लि. क्षेत्रीय कार्यालय पोखराका शाखा प्रमुख रुद्र कुमार श्रेष्ठ, कृषि विकास बैंक लि.क्षेत्रीय कार्यालय पोखराका शाखा अधिकृत हिमलाल श्रेष्ठ, सर्वसाधारण जनता, विभिन्न राजनीतिक दलका प्रतिनिधिहरु, सेवाग्राही, चापाकोट बजार व्यवस्थापन समितिका अध्यक्ष, चापाकोट नगरपालिकाका कार्यकारी अधिकृत लगायतको उपस्थिती रहेको थियो । उपस्थित सबैले बैंकको उच्च प्रगतिको कामना गरेका थिए ।



