नेपाल राष्ट्र बैंकको मुद्रण व्यवस्थापन विभाग थापाथलीमा नयाँ नोट साट्ने आज (शुक्रबार) अन्तिम दिन पनि भीड उस्तै थियो । दिउँसो १ बजेसम्ममा मुद्रण विभाग पुग्नेहरुलाई नोट वितरण गरेपनि त्यसपछि जानेहरुले भने नयाँ नोट पाएनन् । सटही काउण्टरहरुमा जति भीडभाड र घुइँचो देखिन्थ्यो, त्यति नै व्यस्त थिए, मुद्रण व्यवस्थापन विभागका कार्यकारी निर्देशक भुवन कँडेल पनि । कार्यकक्षमा विभिन्न सिफारिस तथा काम लिएर आउनेहरुलाई सम्बोधन गर्दै व्यस्त थिए उनी । यद्यपी बेला–बेला फोन गरेर सटही काउण्टरमा सर्वसाधरणलाई जतिसक्दो छिट्टो सटही सुविधा उपलब्ध गराउन काउण्टरका कर्मचारीलाई निर्देशन समेत दिईरहेका थिए । त्यतिबेलै बैंकिङ खबरका सह–सम्पादक नवराज कुँवरले मुद्रण विभागका कार्यकारी निर्देशक कँडेलसंग गरेको संक्षिप्त कुराकानी यहाँ प्रस्तुत गरिन्छ :
नयाँ नोट साट्नेहरुको चाप कस्तो छ ?
यो दसैँको समय भएकाले नयाँ नोट साट्न आउनेहरुको चाप हुन्छ । तर हामीले सकेसम्म व्यवस्थित रुपमा सर्वसाधरणलाई सटही सुविधा उपलब्ध गराईरहेका छौँ ।
एक हप्तामा दैनिक सरदर कति सटही भयो ?
दैनिक तीन हजारभन्दा बढी सर्वसाधरणले नयाँ नोट साट्नुभएको थियो । एभरेजमा ३०/३५ करोड रुपैयाँ दैनिक रुपमा साटियो ।
शुक्रबारबाहेक विहिबारसम्म कति जति नोट साटियो ?
यति नै भन्ने ठ्याक्कै विवरण त निकालिएको छैन । किनकी त्यसबारे हिसाब गर्नै बाँकी छ । तर सवा ३ अर्बको हाराहारीमा नयाँ नोट साटियो ।
अघिल्लो दसैँ र अहिलेको दसैँमा नयाँ नोट साट्नेहरुको चाप कस्तो छ ?
करिब–करिब उस्तै हो । वर्तमानको अगाडी भूत विर्सन हुँदैन । अघिल्लो वर्ष पनि यस्तै चाप हुन्थ्यो ।
तर छिटोछरितो नोट सटही भएन भन्ने टिप्पणी पनि आएको छ नि ?
त्यस्ता टिप्पणी आउनु अस्भाविक होइन । हामीले हाम्रो तर्फबाट कुनै पनि कमजोर नराख्न हरसम्भव प्रयास गरेका थियौँ । हामीलाई लाग्छ, हामी त्यसमा निकै हदसम्म सफल पनि भयौँ । तर सोच्नुपर्ने कुरा के हो भने, दुईचार जनाको लागि नयाँ नोट साटिएको होइन । हजारौँ जनाले दैनिक लाइनमा बसेर लिने कुरा हो । सम्भव भए त हामीलाई पनि लाईनमा राख्न रहर कहाँ थियो र ? तर पनि नोट सटही अव्यवस्थित थियो भन्न मिल्दैन ।
नयाँ नोट छपाईमा बार्षिक रुपमा अनावश्यक खर्च भइरहेको भन्दै आलोचना पनि भईरहेको छ नि ?
वास्तविकता नबुझेकाले त्यस्तो हल्ला भएको हो जस्तो लाग्छ । विगतमा छपाईमा जति खर्च हुन्थ्यो त्योभन्दा निकै कम मूल्यमा पछिल्लो केही वर्षमा छपाई भईरहेको छ । त्यसैले यो नबुझ्ने साथीहरुले गर्नुभएको आलोचना हो ।
अहिलेको सन्दर्भमा मुद्रा व्यवस्थापनका चुनौति के छन् ?
नयाँ नोट साटियो अब यसको जतनले चलाउनु मुख्य कुरा हो । त्यसो गरिएन भने त्यो नै चुनौति हुन्छ । हामीले पटक–पटक आग्रह गर्दै आएका छौँ कि नयाँ नोटको जतन गरौँ । हामी अनावश्यक रुपमा नोट गोजिमा र झोलामा राखिरहेका हुन्छौँ । त्यसले दुईवटा चुनौति निम्त्याउँछ, एउटा चोरी हुने, अर्को नोट कोत्रिने वा पुरानो हुने । त्यसैले अहिले एटिएम, चेकलगायतका प्रविधि वा सुविधा हामीसंग छन् । यस्ता सुविधाको प्रयोग गर्नमा आम नागरिकले ध्यान दिनुपर्ने जरुरी छ ।
दसैँका लागि नयाँ नोट लिएका सर्वसाधरणलाई के भन्न चाहानुहुन्छ ?
पहिला त उहाँहरु सबैलाई बडादसैँको शुभकामना दिन चाहान्छु । नयाँ नोटको जतन गरौँ । दसैँमा अविर नपर्ने गरी नयाँ नोटको प्रयोग गरौँ । आगो, पानी र फोहोरबाट नयाँ नोटलाई जोगाऔँ । एउटा सच्चा र जिम्मेवार नागरिकको रुपमा नयाँ नोटको जतन गर्नु हामी सबैको कर्तव्य हो ।





