
बैंकिङ खबर । डिजिटल बैंकिङ अर्थात् भौतिक रुपमा उपस्थित नभइ आधुनिक सूचना तथा प्रविधिको उपयोग गरेर गरिने बैंकिङ प्रणाली, अर्थात् डिजिटल बैंकिङ एक नयाँ युग हो । अब हामीले पहिलेको जस्तो पैसाको लेनदेन गर्नका लागि बैंकको शाखाहरुमा धाइरहन पर्दैन ।
घरमै बसेर केही मिनेटमै कम्प्यूटर, ल्यापटप र स्मार्टफोन आदिको प्रयोगबाट सबै बैंकिङ सुविधाहरु प्राप्त गर्न सकिन्छ । यसको अतिरिक्त पैसा पनि लाग्दैन । डिजिटल बैंकिङले ग्राहकहरुको दैनिकी एवं जीवनशैलीमा बैंकलाई प्रविधिबाट सम्बन्ध जोड्ने गर्दछ ।
पहिले हामी पैसा निकाल्न घण्टौसम्म लाइन बस्नुपर्ने बाध्यता थियो भने अहिले एटिएमको माध्यमबाट सजिलै केही छिनमै नगद प्राप्त गर्न सक्छौ । यस डिजिटल युगले सबैकुरा सहज बनाइदिएको छ, हामी जुनसुकै स्थानमा गएर डेबिट कार्डद्धारा नगद बिना नै कुनै पनि वस्तु तथा सेवाको उपभोग गर्न सक्छौ । जसबाट नगद बोक्न हुने झन्झट, हराउने, चोरी हुने जोखिमबाट बच्न सकिन्छ ।
नेपालमा डिजिटल बैंकिङ सन् १९९३ तिर सुरु भएको हो । यस्तै, इन्टरनेट बैंकिङको थालनी सन् २००२ मा भएको हो । यस्तै, सन् २००३ मा भिसा डेबिट कार्ड र २००४ मा मोबाइल बैंकिङ सुरु भएको पाइन्छ । यद्यपी यसको प्रयोग र विस्तारमा केही समय भने लाग्यो । तर हाल कोरोना माहामारीको रोकथाम एवं नियन्त्रणका लागि गरिएको लकडाउन र भौतिक दुरी कायम गर्नुपर्ने भएकाले डिजिटल बैंकिङ प्रयोगकर्ताको संख्यामा वृद्धि भएको छ । खाता खोल्ने, भुक्तानी गर्ने, पैसा पठाउने, ऋण आवेदन दिने जस्ता बैंकिङ सेवाहरू अहिले घर बसेरै गर्न सकिन्छ ।
यसर्थ, सूचना प्रविधिमा भएको विकाससँगै डिजिटल बैंकिङ साझा रुचि एवं चासोको विषय बनेकाले यसको प्रयोगकर्ताहरु दिनानुदिन बढ्दै गएकाछन् । आज हरेकको धेरै समय सामाजिक सञ्जाल तथा मोबाइल फोनमा व्यतित हुन्छ र यो सबैको पहुँचमा पनि छ । यस्तो प्रविधिमार्फत मानिसहरुलाई बैंकसँग जोड्न र जोडिन पनि सहज छ । यस प्रकारको बैंकिङ प्रविधिले घरमै बसेर सबै कारोबार गर्न सहज हुन्छ ।
साथसाथै यस माहामारीमा शारीरिक दूरी पनि कायम हुन्छ । यस बाहेक, कम्पनीहरुले डिजिटल भुक्तानीबाट आफ्नो ग्राहकहरुलाई छूट र क्यासब्याकको आकर्षक अफरहरु समेत प्रदान गरिरहेका हुन्छन् । आजभोली क्यासलेस कारोबार रुचि, चासो र भरपर्दो माध्यम बनेको छ । यसको प्रयोग पनि सहज, सरल र भरपर्दो छ । आज लगभग हरेक साना, ठूला शहरहरुमा यसको प्रयोग बढीरहेको छ । कुनै पनि स्थानमा वस्तु तथा सेवाको उपभोग गरेवापत पैसाको साटो डिजिटल पेमेन्ट गर्न सकिन्छ । हरेक साना ठुला पसलमा क्यु आर कोडको उपलब्धता रहेको छ । बैंकहरुले समेत सबै क्षेत्रमा क्यु आर कोड सेवा प्रदान गरिरहेका छन् ।
नेपाल सरकारले पनि डिजिटल कारोबारलाई प्रोत्साहित गर्न डिजिटल नेपाल फ्रेमवर्क २०७६ सार्वजनिक गरेको छ, उक्त डिजिटल नेपाल फ्रेमवर्क अन्तर्गत रहेको ८ वटा क्षेत्रहरु मध्ये एक महत्वपूर्ण क्षेत्रको रुपमा वित्तीय क्षेत्र पनि समावेश छ । जहाँ “डिजिटल नेपालका पहलले वित्तीय क्षेत्रलाई प्रोत्साहित गर्न डिजिटल प्रविधि तथा टेलिकमका प्रविधिबाट लाभ लिदै बैकिङ संञ्जालमा आवद्ध नभएका जनतालाई लक्षित गरेको छ ।
वित्तीय मध्यस्थता र वित्तीय लागत कम गर्ने प्रायोजनका लागि वित्तीय समावेशिता तथा आर्थिक समृद्धि बीच बलियो सम्बन्ध रहेकाले फिनटेकको प्रयोगबाट बैंकमा आवद्ध नभएका ५५ प्रतिशत जनतामा वित्तीय सेवाको पहुँच पुर्याउने, वित्तीय प्रणलीलाई पारदर्शी र जवाफदेही बनाउने र कर प्रणालीलाई पारदर्शी र जवाफदेही बनाउने र कर प्रणालीलाई लागत कम गरी स्वेच्छिक कर सहभागिता प्रवद्र्धन र राष्ट्रिय राजश्वको संरक्षण गर्ने उदेश्य लिइएको छ” उल्लेख गरिएको छ ।
बढ्दो डिजिटल बैंकिङ
नेपाल राष्ट्र बैंक, भुक्तानी प्रणाली विभागका अनुसार २०७९ असारको एकै महिनामा २ करोड ५ लाख ६४ हजार ३०८ पटक मोबाइल बैंकिङ कारोबार भएको थियो । त्यसबाट १ खर्ब ६३ अर्ब २५ करोड ५० लाख रुपैयाँको कारोबार भएको विभागले जनाएको छ ।
२०७७ साउनमा मोबाइल बैंकिङको माध्यमबाट ५९ लाख २३ हजार ४११ वटा कारोबारमार्फत १८ करोड ३९ लाख ३० हजार रुपैयाँको कारोबार भएको राष्ट्र बैंकको तथ्यांकले देखाउँछ । मोबाइल बैंकिङ मात्र नभई कनेक्ट आईपीएस र वालेटबाट हुने आर्थिक कारोबार पनि उल्लेख्य रुपमा बढेको देखिन्छ । २०७९ साउनमा वालेटको माध्यमबाट हुने कारोबार संख्या डेढ करोडभन्दा माथि पुगेको छ । साउनमा वालेटको माध्यमबाट १ करोड ६२ लाख ६ हजार ३५६ कारोबारमार्फत १७ अर्ब ७५ करोड २० लाखको कारोबार भएको छ ।
२०७७ साउनमा १ करोड १ लाख ७७ हजार ८८९ कारोबार मार्फत ७ अर्ब ७५ करोड ९० लाखको कारोबार भएको थियो । २०७७ साउनमा कनेक्ट आईपीएसबाट ६ लाख ३३ हजार १३४ वटा कारोबारबाट ४७ अर्ब ३६ करोड ७० लाखको कारोबार भएकोमा २०७९ असारमा ४२ लाख ७० हजार ९९ कारोबारबाट ३ खर्ब ६९ अर्ब २२ करोड ३ लाखको कारोबार भएको छ । रियल टाइम ग्रस सेटलमेन्ट सिस्टम आरटीजीएसबाट २०७९ असारको एक महिनामै ४३ खर्ब ४९ अर्बको कारोबार भएको छ ।
राष्ट्र बैंकका अनुसार कुल ८१ हजार ८१७ वटा कारोबारमार्फत उक्त रकमको कारोबार भएको हो । आरटीजीएसबाट २०७७ साउनमा ३४ हजार ६१६ वटा कारोबारमार्फत १२ खर्ब २४ अर्बको कारोबार भएको छ ।
नेपाल क्लियरिङ हाउसका अनुसार इलेक्ट्रोलीक चेक क्लियरिङको माध्यमबाट २०७९ को असारमा मात्र १४ लाख ८६ हजार ५५१ वटा कारोबार मार्फत ८ खर्ब ५१ अर्बको कारोबार भएको छ । जुन २०७८ असारमा १४ लाख ४० हजार ४७२ वटा कारोबारमार्फत ९ खर्ब ८८ अर्ब र २०७७ साउनमा १० लाख ३९ हजार ३३० वटा कारोबार मार्फत ६ खर्ब ५७ अर्बको कारोबार भएको थियो ।
यस्तै आईपीएसको माध्यमबाट २०७७ साउनमा ३ लाख ४७ हजार ८५४ वटा कारोबार मार्फत १ खर्ब ५६ अर्बको कारोबार भएको थियो । यस्तै २०७८ असारमा ११ लाख ६४ हजार ४८१ वटा कारोबार मार्फत २ खर्ब ९९ अर्बको कारोबार भएको थियो । तर, २०७९ असार मसान्तमा कारोबार संख्या बढेर १३ लाख २२ १७४ पुगेपनि कारोबार रकम भने २ खर्ब ७६ अर्बमा झरेको छ ।
राष्ट्र बैंकका अनुसार, २०७७ साउनमा वालेट युजरको संख्या ६२ लाख ७४ हजार १२९ रहेकोमा २०७९ असारमा १ करोड ३६ लाख ७५ हजार ९९३ पुगेको छ । त्यस्तै, मोबाइल बैंकिङ युजर पनि २०७७ साउनमा १ करोड १४ लाख ६४ हजार ८६७ रहेकोमा २०७९ साउनमा बढेर १ करोड ८३ लाख ७ हजार २५५ पुगेको छ । सोही अवधिमा इन्टरनेट बैंकिङ युजर १० लाख ४५ हजार ५५८ बाट बढेर १६ लाख ८४ हजार ३१० पुगेको छ । त्यस्तै, कनेक्ट आईपीएस युजर ५ लाख ३५ हजार ६१५ बाट बढेर ८ लाख ९६ हजार ३३४ पुगेको छ ।
डिजिटल बैंकिङका फाइदाहरु
१. घरमै बसेर अनलाइन मार्फत देश, विदेशबाट डिजिटल भुक्तानी प्राप्त गर्न सक्नुहुन्छ ।
२. इन्टरनेट बैंकिङको सहयोगमा चेक बुक र एटीएम कार्ड को लागी आवेदन दिन सक्नुहुन्छ । बैंकमा धाइरहनु पर्दैन ।
३. तपाईले घरमै बसेर आफ्नो खाताको रकम जाँच गर्न सक्नुहुन्छ ।
४. यदि तपाई एक व्यापारी हुनुहुन्छ भने क्यु आर कोड मार्फत ग्राहक मार्फत भुक्तानी प्राप्त गर्न सक्नुहुन्छ ।
५. तपाईले आफ्नो मोबाइलबाट पसल, शपिङमल, होटल आदिमा अनलाइन भुक्तानी गर्न सक्नुहुन्छ ।
यसको प्रयोग सुरक्षित छ, ह्याक हुने सम्भावना छ
यो एक महत्वपूर्ण प्रश्न हो जुन सबैको चासोको विषय बनेको छ । के यसको प्रयोग सुरक्षित छ रु के यसलाई ह्याक गर्न सकिन्छ रु जवाफ– यसको प्रयोग सुरक्षित छ । डिजिटल बैंकिंग प्रणाली ह्याक गर्न कठिन छ । तर यदि हामी यसको प्रयोगमा लापरवाह गर्छौ भने नोक्सान पनि हुन सक्छ । हाम्रो डिजिटल अकाउन्ट सुरक्षित राख्नका लागि केहि महत्वपूर्ण बिषयहरुमा ध्यान दिन आवश्यक हुन्छ ।
१. आफ्नो डेबिट कार्ड नम्बर, म्याद सकिने मिति, इन्टरनेट बैंकिङसँग सम्बन्धित आईडी र पासवर्ड कसैसग सेयर नगर्नुहोस् ।
२. बैंकहरुले कहिल्यै पनी ग्राहकहरुलाई खातासँंग सम्बन्धित कुनै जानकारी सोध्न फोन गर्दैनन् । त्यसैले फोन मार्फत कसैले खाताका बारेमा सोधखोज गरेमा कुनै जानकारी नदिई सम्बन्धित निकायमा तुरुन्त सम्पर्क गर्नुहोस् ।
डिजिटल हुनुको अर्थ के हो र ?
आम सर्वसाधारणका लागि डिजिटल बन्नुको अर्थ हो । नगद लेनदेनबाट बचेर अनलाइन (मोबाइल, डेबिट कार्ड आदि) लेनदेन को उपयोग गर्नु, कागजी कामलाई कम गर्नु । सरकारी तथा बैंकिङ कार्यका साथै व्यापारिक गतिविधिमा पारदर्शिता आउनु । जालसाजी ठगी र घूसखोरी आदि बाट बच्नु ।
डिजिटल बैंकिङको सहज प्रयोगमा मोबाइल बैंकिंङ
मोबाइल आज हरेक मानिसहरुको आवश्यकता हो र यो सबैको पहुँचमा समेत छ । मानिसहरु आफ्नो सबै काम मोबाइलबाट नै गर्न सहज मान्छन् । यसै कारणले धेरै जसो मानिसहरु आजकल मोबाइल बैंकिङको अधिक उपयोग गर्छन् । मोबाइल बैंकिङ एक यस्तो प्रणाली हो जसको माध्यमबाट मानिसहरु आफ्नो फोनको माध्यमबाट सबै बैंकिङ सुविधाहरुको लाभ उठाउन सक्छन् । मोबाइल बैंकिङ भविष्यमा पनि अधिक सुविधाजनक र सजिलो हुने अपेक्षा गर्न सकिन्छ ।
डिजिटल बैंकिङ लोकप्रिय बनाउनका लागि के गर्ने ?
डिजिटल प्रयोग देशको विकास अत्यावश्यक छ । यसका लागि बैंकको महत्वपूर्ण योगदान छ । किनभने बैंक अर्थव्यवस्थाको जग हो । यो एक महत्वपूर्ण सुरुवात हो । यसको प्रयोगबाट पारदर्शिता, सबै क्षेत्रमा सेवाको सहज र सरल पहुँच र अर्थव्यवस्थालाई नगदरहित हुन सक्छ ।
यस्तै, डिजिटल बैंकिङ लोकप्रिय बनाउनका लागि वित्तीय साक्षरतामा जोड दिन आवश्यक छ । यसका लागि र्बैक क्षेत्रमा समेत आपसी सहयोगको आवश्यक्ता छ । अर्थात गाउँ गाउँमा वित्तीय साक्षरताको स्तरमा सुधार गर्न सकियोस् । विशेषगरी दुर दराज क्षेत्रमा हुने डिजिटल बैंकिङको विस्तारमा सहयोग मिल्न सकोस् ।
