
बैंकिङ खबर/ बिटक्वाइन भर्चुअल (अभौतिक) मुद्रा हो । यसलाई क्रिप्टोकरेन्सी भनिन्छ । भारु, नेरु जस्ता भौतिक मुद्रा देशका सरकारहरूले निर्माण गर्दछन् । तर, बिटक्वाइन विश्वको जोकोही सर्वसाधारणले बनाउन सक्दछन् । यद्यपि, मनखुसी जति पनि सिर्जना गर्न भने सकिँदैन । यसमा नियम लागू हुन्छ ।
यो ओपनसोर्स सफ्टवेयरमा आधारित हुन्छ । बिटक्वाइन आफैंले बनाउन वा बजारबाट डलर, सुन जस्तै किन्न सकिन्छ । नेपालमा नेरु र भारुले मात्र सरसामान किन्न पाइन्छ । तर बिटक्वाइन भने विश्वका अधिकांश मुलुकमा चल्दछ । बिटक्वाइन मोबाइल वा कम्प्युटरमा मात्र राख्न मिल्दछ । आइक्लाउड (इन्टरनेट) बाट एप्लिकेसन डाउनलोड गरी मोबाइल वा कम्प्युटरमा इन्स्टल गरेर त्यसमा बिटक्वाइन राख्नुपर्छ ।
आफ्नो देशको चलनचल्तीको मुद्राले बिटक्वाइन किन्न पाइन्छ । मनी एक्सचेन्जरले विदेशी मुद्रा साटेजस्तो अन्य मुलुकमा बिटक्वाइन पनि किन्न र बेच्न पाइन्छ । बिट क्वाइन एटीएम मेसिनहरू पनि राखिएका हुन्छन् । त्यहाँ अन्य मुद्रा छिराएर त्यसबराबरको बिटक्वाइन आफ्नो वालेटमा प्राप्त गर्न र आफूसँग भएको बिटक्वाइन अनलाइनबाट तिरेर अन्य मुद्रा झिक्न पनि सकिन्छ । अनलाइनबाट सामान किनेजस्तै विश्वभरबाट बिटक्वाइन किन्न पाइन्छ ।
नेपालमा अवैध
नेपालमा भने विटक्वाइनको कारोबार अवैध मानिन्छ । नेपाल सरकारले नेपालभित्र नेपाली मुद्रा कारोबार मात्र वैध मानेको छ । नेपाली मुद्राबाहेक अन्य मुद्रा विदेशमा कमाएर ल्याउन पाइन्छ, तर नेपालमा त्यसलाई बैंक वा मनी चेन्जरमार्फत नेपाली मुद्रामा साटेर मात्र कारोबार गर्न पाइन्छ । विदेश जाँदा विदेशी मुद्रा चाहियो भने प्रयोजन खोलेर बैंकबाट किन्नुपर्छ । बिटक्वाइन भने यसैगरी पनि खरिद–बिक्री गर्न पाइँदैन ।
विटक्वाइनको कारोबार गर्नेलाई कारबाही
नेपालमा अवैध मानिएपनि विभिन्न समयमा विटक्वाइनको कारोबार भइरहेको पाइएको छ । अवैध बिटक्वाइनबाट टेलिकम कम्पनीका मोबाइल फोनमा रिचार्ज हुने गरेको तथ्य खुलेको छ ।
बिटक्वाइनका सबैजसो वालेटबाट नेपाल टेलिकम, एनसेल, स्मार्टसेल, युटिएललगायत कम्पनीका मोबाइल नम्बर रिचार्ज हुने गरेको छ । त्यस्तै, बिटक्वाइनमार्फत पैसाको अवैध स्थानान्तरण (हुन्डी) पनि हुने गरेको फेला परेको छ । राष्ट्र बैंकको अनुसन्धानअनुसार नेपालमा १० हजार नेपालीसँग ४० अर्ब रुपैयाँ बराबरको विटक्वाइन रहेको छ । कालोधनलाई बिटक्वाइनमा लगानी गर्ने, सम्पत्ति विदेश लैजान विटक्वाइनको प्रयोग गर्ने लगायतका कर्यहरु नेपालमा भइरहेको छ ।
जापानमा भुक्तानीको साधनका रूपमा मान्यता
जापानमा सरकारले बिटक्वाइनलाई भुक्तानीको साधनका रूपमा मान्यता दिएको छ । विश्वमा अरू कुनै देशका सरकारले भुक्तानी साधनका रूपमा मान्यता दिएका छैनन् । तर, विकसित देशमा बिटक्वाइन खरिद–बिक्री गर्ने उद्देश्यले खुलेका एक्सचेन्जलाई सरकारहरूले कुनै प्रतिबन्ध लगाएका छैनन् । एक्सचेन्जसँग आयकर र कारोबारीहरूसँग पुँजीगत लाभ कर लिएका छन् ।
चीनमा बिटक्वाइनमाथि प्रतिबन्ध
चीनले क्रिप्टोकरेन्सीमाथि प्रतिबन्ध लगाएको छ । वित्तिय जोखिम बढेको भन्दै चीन सरकारले केही समयअघि मात्रै क्रिप्टोकरेन्सीको एक्सचेन्ज गर्ने चिनियाँ कम्पनी केस ट्रेडिङलगायत सम्पूर्ण एक्सचेञ्जहरु तुरुन्तै बन्द गर्न निर्देशन दिएको थियो ।
कुनैपनि क्रिप्टोकरेन्सीहरु कारोवार गर्न अब चिनमा अवैध रहेको र यसको कारोवार गरेमा कारबाही हुने बताइएको छ । सूचना जारी भएपछि चीनको सवैभन्दा ठूलो साङ्घाईको विटिसी चाइनाले कारोवार बन्द गरेको छ । त्यस्तै अर्का ठूला विटक्वाइन कारोवार गर्ने कम्पनीहरु भायबिटिसी, योबबिटिसी र युनबीले पनि कारोवार बन्द गराएका छन् ।
कसरी सुरु भयो बिटक्वइन ?
सन् २००९ तिर सातोसी नाकामोतोले यो सफ्टवेर लन्च गरेको बताइन्छ । यसलाई सुरुमा अनलाइन गेम खेल्न प्रयोग गरिन्थ्यो । केही समयपछि यसको प्रयोग अनलाइन काम गरेर पैसा कमाउने व्यक्तिहरूले गर्न थाले । उनीहरूले विस्तारै कागजी नोटको साटो यस्तो मुद्रा प्रयोग गर्न थाले र बिटक्वाइन सञ्चित गर्न थाले । त्यसपछि बजारमा यसको माग बढ्दै गयो र यसले विश्वव्यापी रूपमा मुद्राको रूप लियो । विश्वभरका अरू धेरै क्रिप्टोकरेन्सीमध्ये हाल सबैभन्दा प्रचलित बिटक्वाइन नै छ ।
बिटक्वइनबाहेक लोकप्रिय अन्य केही मुद्रा
बिटक्वइनबाहेक पनि अन्य केही राम्रा क्रिप्टोकरेन्सी बजारमा उपलब्ध छन् । तीमध्ये आजभोलि अधिक प्रयोग भइरहेका केहीको जानकारी यहाँ दिइन्छ –
१. रेड क्वइन : रेड क्वइन विशेष अवसरमा प्रयोग गर्न सकिने क्रिप्टो मुद्रामध्ये एक हो । यसको उपयोग मानिसलाई सल्लाह दिन गरिन्छ ।
२. सिया क्वइन : सिया क्वइन पनि वर्तमानमा धेरै प्रयोग गरिने मुद्रमा पर्छ । यो अहिले बढ्दो क्रममा छ । यो क्वइनको मूल्यमा हाल अधिक वृद्धि भइरहेको छ ।
३. यसवाइयस क्वइन (सिस्क्वइन) : यो एक क्रान्तिकारी क्रिप्टोकरेन्सी हो । यो शून्य लागतको वित्तीय लेनदेन र अविश्वसनीय गतिका साथ अघि बढिरहेको छ । व्यवसाय, सम्पत्ति तथा डिजिटल प्रमाणपत्र डेटाको सुरक्षित व्यापार गर्न यसको प्रयोग भइरहेको छ । यसले पूर्वाधार निर्माणका साथ व्यवसाय प्रदान गर्दछ । सिस्क्वइनले ब्लकचेनमा काम गर्दछ जुन बिटक्वइनकै एक अंश हो ।
४. भ्वइस क्वइन : यो एक उदाउँदो संगीतकारका लागि डिजाइन गरिएको प्लेटफर्म हो जहाँ गायकले उनीहरूको संगीतको मूल्य स्वयं निर्धारण गर्न सक्छन् । उनीहरूले निःशुल्क रूपमा संगीतको नमुना ट्र्याक प्रदान गर्न सक्दछन् । यस प्लेटफर्मको मुख्य उद्देश्य स्वतन्त्र कलाकारलाई मुद्रीकरण गर्नु हो ।
५. मोनेरो : यो विशेष प्रकारको सुरक्षा प्रयोग गरिने क्रिप्टोकरेन्सी हो । यसलाई ‘रिंग सिग्नेचर’को नामले चिनिन्छ । यसको अधिक उपयोग डार्क वेभ र ब्लक मार्केटमा हुन्छ । यो कालो वेब र ब्लक बजारमा व्यापक प्रयोग गरिन्छ । यसको सहयोगले तस्करी गरिन्छ । यो करेन्सीको प्रयोगले सजिलै कालोबजारी गर्न सकिन्छ ।



