२०७८ फाल्गुन १२ गते

नेपाली पैसाको इतिहासः कसरी हुन सक्ला नोटको सुरक्षा?

बैंकिङ खबर/ वस्तु विनिमयको भरपर्दो माध्यम हो , पैसा । यो अन्तर्राष्ट्रिय चलन चल्ती र सर्वव्यापी अनि सजिलो पनि छ। पैसाको शुरुवात नभएको भए संसार अहिले कुन अवस्थामै रहन्थ्यो होला, हामी यतिबेला कल्पनासम्म पनि गर्न सक्दैनौं । संसारका सबै देशहरुले पैसालाई प्रयोग गर्ने गरेका छन् । देश र त्यहाँको भाषा अनुशार यसलाई अलग–अलगरुपमा नामाकरण गरिएको पाइन्छ। कसैले यसलाई रुपैयाँ भन्छन् त कुनै राष्ट्रले डलर। कुनै राष्ट्रमा पैसालाई दिराम भनिन्छ त कतै लिरा, यूआन, ऐन, भाट आदि–आदि । जसले जे भने पनि त्यो पैसा नै हो ।

नेपालको सन्दर्भमा कुरा गर्ने हो भने सर्वप्रथम लिच्छवीकालिन राजा मानदेवले पैसाको शुरुवात गरेका थिए । उनको पालामा प्रयोगमा ल्याइएको तामाको सिक्का नै नेपालको पहिलो पैसाको रुपमा रहेको इतिहास बताउँछ । उक्त पैसालाई त्यतिबेला मानाङ्क भनिन्थ्यो । त्यसअघि किराँतवंशी राजाहरुले माटाका पैसाहरु प्रयोगमा ल्याएका थिए भन्ने यदाकदा सुनिए पनि त्यो प्रमाणित छैन । मानदेवको पैसा शुरुवाती उक्त कार्यले वस्तु विनिमय गर्न धेरै नै सजिलो भयो । जसले गर्दा उनी पछिका अरु राजाहरु अंशुवर्मा , नरेन्द्रदेव लगायतले पनि यसलाई निरन्तरता दिए ।

मल्लकालिन राजा महीन्द्रमल्लले सर्वप्रथम चाँदीको सिक्का प्रयोगमा ल्याए । उनको उक्त सिक्कालाई महीन्द्रमल्ली भनिन्थ्यो । त्यसपछि अन्य केही मल्लकालिन राजाहरुले छालाको पैसा पनि प्रयोगमा ल्याएको इतिहासमा उल्लेख छ । चाँदी, तामा, पित्तल लगायतका धातुबाट बनाइने गरिएको नेपालको सिक्काको इतिहासले कोल्टे त्यतिबेला फेर्यो, जतिबेला कागजी नोटको प्रयोगको शुरुवात गरियो । यो समय थियो, वि.सं. २००२ साल । तत्कालिन राजा त्रिभुवनको पालामा उनकै तस्विर अंकित एक, दुई, पाँच र दश रुपैंयाँका नोटहरु प्रयोगमा आएपछि पुरानो किसिमको पैसाको प्रयोगमा एकाएक नयाँपन आउन थाल्यो ।

सर्वसाधारणलाई कागजी नोटले वस्तु विनिमयमा अझ सहजता ल्याइदियो । त्यसबेला शुरुवाती उक्त कागजी पैसालाई मोरु भनिन्थ्यो । त्यसयता अहिलेसम्म सिक्काभन्दा कागजी पैसाको प्रयोगले सर्वसाधारणको दैनिकीलाई धेरै सजिलो मात्र बनाएन, अब त कागजी पैसाविनाको जीवनको कल्पना पनि गर्न नसकिने अवस्था आइसकेको छ । हालसम्म १५० प्रकारका नेपाली कागजी रुपैंयाँ प्रचलनमा आइसकेको नेपाल राष्ट्र बैंकले जनाएको छ । यतिबेला सबैभन्दा सानो रु. १ देखि सबैभन्दा ठूलो रु. १ हजार दरका नोटहरु प्रचलनमा छन् । नेपालमा आधिकारिकरुपमा गभर्नरको हस्ताक्षरसहितको नोट भने वि.सं.२०१६ सालदेखि मात्र चलन चल्तीमा आएको देखिन्छ।

यो त भयो नेपालमा पैसाको इतिहास र समयसँगै भएको विकासक्रम । पछिल्लो समयमा सिक्का भन्दा कागजी रुपैयाँको प्रयोग वढेको भएपनि सर्वसाधारणले कागजी नोटलाई गलत ढंगले प्रयोग गरेका कारण नेपाली रुपैयाँको आयु दिनप्रतिदिन घट्दै गएको छ । यसले देशको अर्थतन्त्रमा पनि नराम्रो प्रभाव पारेको छ । सर्वसाधारणहरु नोटलाई सम्पत्ती मानेर पूजा गर्छन् । हरेकजसो चार्डपर्वमा नोटलाई पूजा गर्ने हाम्रो परम्परा छ । यो वस्तु विनिमयको भरपर्दो र सजिलो माध्यम भएको हामीले अहिलेसम्म बुझ्न सकेका छैनौं । जसले गर्दा नोट विग्रने, च्यातिने र नाशिने क्रम वढ्दो छ । अझ नोटलाई कच्याककुचुक पारेर खल्तीमा राख्ने, थैलीतिर खाँद्ने वुढापाकाहरुको बानीले गर्दा पनि राष्ट्रिय सम्पत्तीको रुपमा रहेको नोटले अकालमै ज्यान गुमाउने गरेको छ ।

हामीले यस्तो व्यवहारमा परिवर्तन नगरेसम्म नोटको नोक्सानी अझ थपिने निश्चित छ । यसलाई सर्वसाधारणको लार्पवाहीको रुपमा पनि लिन सकिन्छ । सर्वसाधारणले प्रयोग गर्न नजानेकै कारण वा भनौं बुझेरै पनि नोटको नोक्सानी एकातिर छँदैछ, अझ यसमा ठूलो नोक्सानी त राज्यबाटै गरिएको छ। यसलाई अहिलेसम्म कसैले पनि वास्ता गरेका छैनन् ।

सरकार सर्वसाधारणलाई नोट जोगाउन उर्दी जारी गर्छ तर देशमा आर्थिक कारोबार गर्ने विभिन्न वित्तिय संस्थाहरु र बैंकहरुले नै नोटको गलत प्रयोग गरिरहेका छन् । नोटका मुठाहरुमा स्टिच गरेर प्वालै प्वाल पार्ने काम उनीहरुले निकै लामो समयदेखि गरिरहेका छन् । एउटै मुठामा पनि १० वटासम्म स्टिच मारेर बजार पठाउने उनीहरुको त्यस्तो शैली पछिल्ला केही दिन यता परिवर्तन त भएको छ तर पूर्णरुपमा रोकिन सकेको छैन । एउटा बैंकले पठाएका नोटको मुठामा अर्को बैंकमा पुग्ने बित्तीकै पुनः स्टिच मार्ने पुरानो तरिकाले नोटहरु कन्तविजोक हुने गरेका छन् । सरकार नोटको सुरक्षाका लागि विभिन्न चेतना जगाउने विज्ञापन प्रशारण गर्न धेरै खर्च पनि गर्छ । तर के यसरी नोटमा प्वाल पार्ने त्यस्ता वित्तिय संस्थाहरुलाई अहिलेसम्म सरकारले कुनै कारबाही गरेको छ त ? यो सवैले भोगेको तर नउठाएको ज्वलन्त विषय हो ।

अन्तर्राष्ट्रिय मापदण्ड अनुशार सामान्यतया कागजी नोटको आयु ४ वर्षको हुन्छ । तर नेपालमा अहिले १ वर्षमै यस्ता नोटहरु काम नलाग्ने भइसकेका हुन्छन् । नोटको सुरक्षा गर्ने र नच्यातिने बनाउने अभिप्रायका साथ ०५८ सालमा तत्कालिन राजा ज्ञानेन्द्रको तस्विर अंकित रु दशका पोलिमर (प्लाष्टिक) का नोट पनि सरकारले प्रयोगमा ल्याएको थियो । तर हामीले गलत तरिकाले प्रयोग गरेकै कारण र सरकारले पनि कमजोर छपाई गरेर ल्याएकै कारण यस्ता नोटहरु केही वर्षमै काम नलाग्ने भए । प्रयोग गरेको केही महिनामै खुइलिने समस्याले पोलिमर नोटहरु पनि नेपालबाट विस्थापन भए । सरकारी तवरबाटै नोटमाथि यस्ता किसिमका हमलाहरु हुन्छन् भने कसरी सुरक्षित रहन सक्लान् नेपाली कागजी नोटहरु ? यो यतिखेर सबैले सोच्नु पर्ने विषयको रुपमा रहेको छ।

नोट जोगाउनु पर्छ, यो राष्ट्रिय सम्पत्ती हो। यसमा एउटा व्यक्तिको प्रयासले मात्र सम्भव छैन । सर्वसाधारण, वित्तिय कारोबार गर्ने संस्था र स्वयं सरकारको पनि सक्रियताका कारण मात्र नेपाली नोटहरु बचाउन सकिन्छ। गलत ढंगले नोटको प्रयोग गर्ने व्यक्ति र संस्थामाथि सरकारले निगरानी राख्नै पर्छ। हुन त सरकारले अहिले नोटमा स्टिच मार्ने कार्य रोक्न राष्ट्र बैंकलाई निर्देशन पनि दिएको छ। केही मात्रामा त्यस्तो कार्यमा कमी पनि आएको छ। तर त्यो भरपर्दो र प्रभावकारी हुन सकेको छैन। आगामी दिनमा हाम्रो राष्ट्रिय सम्पत्ती नोटलाई नोक्सान हुनबाट जोगाउन अब सर्वपक्षिय सहयोग आवश्यक छ।