November 24th, 2021

विपन्न परिवारलाई नगद १० हजार वितरणका लागि अर्थ मन्त्रालयद्वारा ५ अर्ब निकासा

बैंकिङ खबर।

अर्थ मन्त्रालयले विपन्न परिवारलाई दिने भनिएको १० हजार नगद प्रदान गर्नका लागि स्थानीय तहलाई ५ अर्ब निकासा गरेको छ। अर्थ मन्त्रालयका अनुसार मन्त्रालयकाे निर्णयबाट उक्त रकम निकासा गरिएको हाे।

गत भदाै २८ गते सरकारले कोरोना महामारीका कारण रोजगारी तथा आयआर्जन गुमाएका अनौपचारिक एवं असंगठित क्षेत्रका गरीब तथा विपन्न परिवारलाई प्रतिपरिवार १० हजार नगद अनुदान दिने घोषणा गरेको थियाे।

अर्थमन्त्री जनार्दन शर्माले बजेट अध्यादेशको प्रतिस्थापन विधेयक संसदमा पेश गर्दै यस्तो घोषणा गरेका थिए। सरकारकाे यही निर्णय कार्यान्वयनका लागि अहिले ५ अर्ब निकासा भएकाे हाे।

स्थानीय तहले आफ्नो कार्यविधि र मापदण्ड अनुसार यस्ताे राहत वितरण गर्नेछन्। त्यसका लागि सम्बन्धित पालिकाले आवेदन माग गर्ने र परेको आवेदनलाई प्रमाणित गरेर सिफारिस गरेपछि वितरण गर्नेछन्। उक्त रकम पालिकालाई तोकेको सिलिङ अनुसार गएको हो।

उक्त अनुदान रकम स्थानीय तहको समन्वयमा ०७८ को असोज महिनाभित्र पठाउने भनिए पनि मंसिर पहिलो सातामात्रै स्थानीय तहमा पठाइएको छ। दलहरू बीच कुरा नमिल्दा ढिलाइ भएकाे बताइएकाे छ।

सरकारले यस्ताे निर्णय गरे लगत्तै कार्यकर्ताका लागि दिन लागेकाे भनेर त्यतिबेला सरकारकाे विराेध पनि भएकाे थियाे। तर सरकारले भने यसलाई नयाँ अभ्यास भन्दै निर्णयकाे बचाउ गरेकाे थियाे । यो रकम वाणिज्य बैंक, विकास बैंक तथा वित्तिय संस्थाबाट उपलब्ध गराइने सरकारले जनाएकाे छ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]