
बैंकिङ खबर । विश्वमा कोरोनाको नयाँ लहर आउन थालेपछि अर्थतन्त्रको गति रोकीएको छ । लगानीकर्ताहरु पर्ख र हेर को अबस्थामा छन् भने अन्य आर्थिक गतिविधि पनि प्रयाप्त मात्रामा हुन सकेका छैनन् । केही दिनयता कोरोना संक्रमण बढ्दै गएको छ ।
अर्थतन्त्र सुचारु हुन नसकेको ठहर
अन्तराष्ट्रिय मुद्रा कोष आइएमएफले कोरोना भाइरसको नयाँ भेरियन्टहरु पैदा हुने आशंकाका कारण अर्थतन्त्र राम्ररी सुचारु हुन नसकेको ठहर गरेको छ । उसले यही अनिश्चिताका कारण विश्व अर्थव्यवस्थामा सुधार प्रभावित हुने खतरा कायमै रहेको जनाएको छ। आइएमएफले हालै अमेरिकामा सम्पन्न बैठकमा कोषले कोभिड १९ को महामारीले विश्वभर गरिबी तथा असमानता बढाइरहेको उल्लेख गरेको छ । कोभिडको नयाँ भेरियन्टहरु आउन सक्ने संभावनाका कारण विश्वमा हाल भैरहेका आर्थिक पुनरोत्थानका कार्यहरुमा पनि जोखिम बढेको निष्कर्ष निकालिएको छ । बैठकले कोरोना महामारीको प्रकोपलाई रोक्नका लागि विश्वभर खोप अभियानमा तीब्रता दिनुपर्ने जनाएको छ।
पछिल्लो तथ्याङक यस्तो छ
बेलायतमा गत बिहीबार एकै दिन ५२ हजार ९ जना नयाँ संक्रमित देखिएका छन् । संक्रमण भएको २८ दिनभित्र करिब १ सय १५ जनाको मृत्यु भएको छ। बेलायतमा गत बिहीबार पछिल्लो तीन महिनायता पहिलो पटक ५० हजारभन्दा बढी नयाँ संक्रमित भेटिएका हुन् । यो सबैभन्दा उच्च संक्रमण हो। बेलायती प्रधानमन्त्री बोरिस जोनसनले जनतालाई पालो बुस्टर डोजको खोप लगाउन आग्रह गरेका छन् । चिकित्सकहरूले त्यहाँका मन्त्रीहरूलाई ‘प्लान बी’ को अबलम्बन गर्न आग्रह गर्दैछन्। जसअन्तर्गत सरकारले अनिवार्य मास्क लगाउने र घरबाटै काम गर्ने जस्ता नियमलाई पुनः लागू गर्नुपर्नेछ।
प्राध्यापक जेरेमी ब्राउनका अनुसार कोभिडको गम्भीर संक्रमणमा परी अस्पताल आउने, सघन उपचार कक्षमा हेरचाह गराउने र मृत्यु हुनेमा खोप नलगाएका व्यक्ति बढी छन् । हाल १०–१९ वर्ष उमेर समूहमा संक्रमण बढी रहेको र ८० वर्षमाथिकामा कम रहेको बताइएको छ । अन्य उमेर समूहमा पनि संक्रमण फैलन सक्ने सम्भावना देखाइएको छ । वैज्ञानिकहरूले आगामी केही साताभित्र अवस्था कस्तो हुन्छ भन्ने अनुमान लगाउन गाह्रो पर्ने बताएका छन्। यसैगरी कोरोनाबाट मृत्यु हुनेको संख्या बढ्न थालेपछि रुसले पनि एक सातालाई विदा घोषणा गरेको छ । राष्ट्रपति भ्लादिमिर पुटिनले यस्तो घोषणा गरेका हुन् । सरकारी तथ्याकंका अनुसार विगत २४ घण्टामा कोरोना भाइरसका कारण त्यहाँ १०२८ को मृत्यु भएको छ । जुन महामारीमा सबैभन्दा धेरै संख्या हो । त्यहाँ अधिकाँसले पूर्ण खोप लगाइसकेका छन्। सन् २०२०को अगस्टमा विश्वमै पहिलोपटक खोपलाई मान्यता दिने पहिलो राष्ट्र रुस बनेको थियो। यता भारतमा पनि पछिल्लो २४ घण्टामा संक्रमितको संख्या बढेको छ । कोरोनाबाट मृत्यु हुनेको संख्या एक्कासि बढेपछि युक्रेनका विद्यालयहरू बन्द गरिएका छन्। राजधानी सहर किभमा रहेका विद्यालयहरूलाई दुई साता बन्द गर्न निर्देशन दिइएको छ।