September 22nd, 2021

अध्ययन प्रतिवेदनले औल्याएका लुम्बिनी प्रदेशको आर्थिक सम्भाव्यताहरु :

बैंकिङ खबर । नेपाल राष्ट्र बैंकले अध्धयनपछि तयार पारेको प्रतिवेदनले लुम्बिनी प्रदेशको आर्थिक सम्भाव्यताहरु औल्याएको छ । जसमा उद्योग, व्यपार र व्यबसायमा प्रसस्तै सम्भावनाहरु देखिएका छन् ।

यस प्रदेशमा कृषि पशुपालन र पर्यटनको क्षेत्रमा प्रशस्त सम्भावना रहेको छ । दाङ्ग, बाँके, बर्दिया, कपिलवस्तु, रुपन्देही लगायतका भित्री मधेश तथा तराईका जिल्लाहरु कृषि उत्पादनको लागि उर्वर भूमि रहेका जिल्लाहरु हुन । यस प्रदेशमा भरपर्दो सिँचाई सुविधाको यथोचित व्यवस्था गर्न सकिएमा खाद्यान्न लगायत नगदे बाली उत्पादनको प्रशस्त सम्भावना रहेको छ । 

दाङ्ग जिल्लालाई तेलहनको पकेट एरिया तथा रोल्पा, रुकुम तथा प्युठान जिल्लालाई बीउ बिजन उत्पादन केन्द्रको रुपमा विकास गर्न सकिने सम्भावना रहेको छ । साथै, प्रदेशका पाल्पा, गुल्मी, अर्घाखाँची र प्यूठान जिल्लामा कफी र अदुवा जस्ता नगदे बालीको सफल उत्पादन भइरहेकोमा यसलाई थप विस्तार गर्न सकिने प्रचुर सम्भावना देखिन्छ । त्यस्तै, उखु, तरकारी र मसलाजन्य वस्तुहरुको उत्पादनको पनि उच्च सम्भावना छ । पशुपालन, मत्यस्पालन, मौरीपालन, कुखुरापालन र अष्ट्रिचपालनको पनि सम्भावना रहेको छ ।

गौतमबुद्धको जन्मस्थल लुम्बिनी, हिन्दुहरुको पवित्रस्थल स्वर्गद्वारी, अर्घाखाँचीको सुपादेउराली लगायत थुप्रै धार्मिकस्थल तथा साँस्कृतिक, पुरातात्विक महत्वका मठमन्दिर, स्मारक, सम्पदा, तालतलैया तथा ऐतिहासिक स्थलहरुका साथै थारु, मगर, अवध, मुस्लिम आदि समुदायको विशिष्ट सँस्कृति, बाँके र बर्दियामा रहेका प्रसिद्ध राष्ट्रिय निकुञ्जहरुले गर्दा पर्यटनको विकासको उच्च सम्भावना रहेको छ ।

यस प्रदेशका पहाडी जिल्लाहरुमा सुविधा सम्पन्न हिल स्टेशनहरु निर्माण गरेर आन्तरिक एवम् वाह्य पर्यटकहरु आकर्षण गर्न सकिन्छ । होमस्टेहरुको व्यवस्थित रुपमा विकास गरी पर्यटकहरुलाई आकर्षण गर्न सकिन्छ । पर्यटन—मार्फत यस क्षेत्रको विकासका लागि गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण तथा लुम्बिनी विकास गुरु योजनाको कार्यान्वयन कोसेढुंगा सावित हुन सक्दछ ।

बुटवल, भैरहवा, घोराही, तुलसीपुर, नेपालगञ्ज र कोहलपुर जस्ता तीव्र रुपमा विस्तारित हुँदै गएका शहरहरुलाई पर्यटन, उद्योग, व्यापार, बैंकिङ्ग, पुँजीबजार, शिक्षा, स्थास्थ्य जस्ता क्षेत्रको मुख्य केन्द्रको रुपमा विकास र विस्तार गर्न सकिने देखिन्छ । यी सम्भावित महानगरहरु सिंगो प्रदेशको आर्थिक समृद्धिको सम्वाहक हुन सक्नेछन् । तीव्र रुपमा सहरीकरण भइरहेकोले व्यापार व्यवसाय, साना तथा मझौला उद्योगहरु, होटल, यातायात व्यवसाय विस्तार भै रोजगारी सिर्जना हुने प्रशस्त सम्भावना छ ।

चौबिस वटा राष्ट्रिय गौरवका आयोजनाहरु मध्ये सिक्टा सिँचाई, बबई सिँचाई, भेरी बबई ड्राइभर्सन, गौतम बुद्ध विमानस्थल, लुम्बिनी विकास कोष गरी ५ वटा आयोजनाहरु यस प्रदेशमा रहेका छन् । त्यस्तै, मध्यपहाडी लोकमार्ग, हुलाकी राजमार्ग, पूर्व पश्चिम रेलमार्ग र कालिगण्डकी करिडोर पनि यस प्रदेश भएर जान्छन् ।

समस्या तथा चुनौतिहरु
मुलुककै कृषि उत्पादनमा महत्वपूर्ण योगदान दिँदै आएको यस प्रदेशमा अव्यवस्थित जग्गा विकास एवम् आन्तरिक बसाई सराई जस्ता गतिविधिका कारण कृषि भूमिको खण्डीकरण तथा क्षयीकरणको समस्या बढ्दो क्रममा रहेको छ । सार्वजनिक जग्गा र वन क्षेत्रको अतिक्रमण र हस्तक्षेपको समस्या पनि चुनौतीका रुपमा रहेको छ ।

पहाडी जिल्लामा पर्याप्त कृषि श्रमिकको अभावमा कतिपय क्षेत्रमा जग्गा बाँझो हुने समस्या रहेको छ भने उचित पूर्वाधार एवम् बजारको अभावका कारण उत्पादित कृषि वस्तुले समेत यथोचित मूल्य पाउन सकिरहेका छैनन् । युवाहरु कृषि क्षेत्रतर्फ आकर्षित भएका छैनन् । खुला सीमानाबाट सस्तोमा सहजै आयात हुने भारतीय कृषि उपजसँग प्रतिष्पर्धा गर्न गाह्रो भइरहेको अवस्था छ ।

संख्यात्मक रुपमा सहकारीहरुको बाक्लो उपस्थिति रहेता पनि सहकारीको मर्म अनुरुप आर्थिक गतिविधिमा सक्रियता बढ्न सकेको देखिदैंन । सहकारीहरुको कामकारवाही सहकारी सिद्धान्त अनुरुप बनाउनु चुनौतिपूर्ण रहेको छ ।

पर्याप्त रोजगारी सिर्जना हुन नसक्दा युवावर्ग विदेशिने क्रम उल्लेख्य रुपमा रहेको छ । युवाहरुलाई उत्पादनमुलक, उद्यमशील र सिर्जनशील कार्यमा संलग्न गराउनु पर्ने काम चुनौति पूर्ण रहेको छ।

यस क्षेत्रमा पर्यटनको प्रचुर सम्भावना हुँदाहुँदै पनि यसको योगदान कुल गार्हस्थ्य उत्पादनमा न्यून रहेको छ । लुम्विनी आउने पर्यटकहरुको बसाई अवधि लम्ब्याउने काम गर्नु चुनौति पूर्ण रहेको छ


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]