न्युरोड क्षेत्रमा हुण्डी कारोबार निकै फस्टाउँदै गएको पाइएको छ । यहाँका साना ठूला सबै व्यापारीले भित्रभित्रै हुण्डीको कारोबार गर्ने गरेको सूचना पाएपछि महानगरीय प्रहरी अपराध महाशाखाले अनुगमन थालेको छ । सोमबारको अनुगमनमा प्रहरीले केही कारोबारीलाई पक्राउ समेत गरेको छ । पक्राउ परेका सबैलाई प्रहरीले राजस्व अनुसन्धन विभागमा जिम्मा लगाएको छ ।
नेपालमा विदेशबाट आउने रकम शुद्ध हुनुपर्ने र नेपालमा हुन्डीबाट पैसा पठाउन नमिल्ने बनाउन नेपाल सरकारले दुई बर्ष अघिदेखि गृहकार्य थालेको थियो । तरपनि खुलेयाम हुन्डीको अवैध कारोबार गर्नेको संख्यामा कमी आउन सकेको छैन । नेपालमा हुन्डी नियन्त्रण गर्न रेमिट्यान्स विभागले समेत चासो दिएको छैन । हुन्डीमार्फत घुस खान पल्केका व्यवसायीहरु स्वदेशदेखि विदेशसम्म हुन्डीको अबैध धन्दामा सल्वलाइरहेका छन् ।
किन प्रयोग गरिन्छ हुण्डीको बाटो
यसरी वैधानिक तवरबाट रकम पठाउँदा महँगो पर्ने भन्दै अवैधानिक बाटोबाट रकम पठाउने नेपाली कामदारको संख्या दिनदिनै बढ्दो क्रममा रहेको छ । सरकारले बैंक तथा रेमिट्यान्स कम्पनीहरुमार्फत मात्रै रकम पठाउन भनेपनि हुण्डीबाट पैसा पठाउने क्रम घट्न सकेको छैन । बैंकहरूले रेमिट्यान्स रकम पठाएबापत चर्को शुल्क असुल्ने गरेकाले आफूले अवैध बाटो रोजेको वैदेशिक रोजगारहरु बताउँछन् । हुन्डीबाट रकम पठाउँदा उनीहरूका परिवार तथा नातेदारले छिटो पाउने भएकाले पनि अवैध बाटो रोज्ने गरेका छन् । बैंकिङ च्यानलबाट रकम पठाउँदा बढी समय लाग्ने हुन्छ साथै प्रक्रिया पनि केही झन्झटिलो हुन्छ । यसकारण पनि रेमिट्यान्सका लागि बैंकिङ च्यानलको प्रयोग बढाउने सरकारी प्रयास असफल जस्तै भएको छ । हुन्डीवालाले वैदेशिक रोजगारीमा रहेका नेपाली कामदारको मर्मअनुसार उधारोमा समेत काम गरिदिने भएकाले पनि यसको लोकप्रियता घट्नुको साटो झन्झन् बढ्दै गइरहेको छ ।
सरकारी राजस्वमा घाटा
विदेश गएका नेपालीले गत आर्थिक वर्षमा ६ खर्ब ६५ अर्ब ६ करोड रुपैयाँ बराबरको रेमिट्यान्स पठाएको राष्ट्र बैंकको तथ्यांक छ । यो तथ्यांकमा हुण्डीबाट आएको रकम जोडिँदैन । अवैधानिक बाटोबाट आउने रकम पनि जोड्ने हो भने यो परिमाण अझ बढ्ने विज्ञहरु बताउँछन् । नेपालमा सबैभन्दा बढी रेमिट्यान्स साउदी अरब, कतार र मलेसियाबाट आउने गरेको छ । हुण्डीले रकम आउने क्रमलाई घटाउँदैन । सरकारी तथ्यांकमा मात्रै नदेखिने हो । सरकारी कोषमा विदेशी मुद्रा आउँदैन । घर परिवारले पाएको रकम बढिरहेको देखिन्छ तर औपचारिक च्यानलबाट आएको रकम भने कम देखिन्छ । अनौपचारिक क्षेत्रबाट आएको रेमिट्यान्सले विदेशी मुद्राको सञ्चिति घटाउँछ । यसले अनधिकृत व्यापार व्यवसायसँगै राजश्व समेत घटाउँछ ।



