Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Ad
Banner News

‘अहिलेको अवस्थामा बैंकहरु नाफामुखी नभएर ऋणीप्रति उदार देखिनुपर्छ’

२०७८ श्रावण १५ गते

दिनेश श्रेष्ठ
उपाध्यक्ष, नेपाल उद्योग वाणिज्य महासंघ

कोरोनाका कारण आक्रान्त बनेको नीजि क्षेत्र विस्तारै लयमा फर्कदै छ । यहि बीचमा नयाँ सरकार बजेट संशोधन गरेर थप राहतका कार्यक्रम ल्याउने तरखरमा छ । यस्तै मौद्रिक नीति पनि आउने तयारीमा छ । यसैबीच हामीले नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष दिनेश श्रेष्ठसँग सरकारले बजेटमार्फत ल्याउने राहत प्याकेज र मौद्रिक नीतिका विषयमा कुराकानी गरेका छौं । प्रस्तुत छ उपाध्यक्ष श्रेष्ठसँग बैंकिङ खबरले गरेको कुराकानीको सम्पादित अंश ।

कोभिड–१९ पछि नीजि क्षेत्रको अवस्था के कस्तो छ ?

कोभिड– १९ को पहिलो लहरले आक्रान्त बनेको नेपालको उद्योग, व्यवसाय, पर्यटन क्षेत्र दोस्रो लहरले पनि प्रभावित भयो । नीजि क्षेत्रहरुमध्ये पनि साना, मध्यम खालका व्यवसाय झन् गाह्रो अवस्थामा पुगेको छ । अहिले निषेधाज्ञा केहि खुकुलो पारिएको छ । जसका कारण ठूला क्षेत्रहरु लयमा फर्किन थालेको छ ।

निर्माण व्यवसायहरु निषेधाज्ञामा त्यति स्पिडमा चलेन तर पनि केहि आधारमा भने चलेको चल्यो । अहिले खाद्यान्न, औषधी, निर्माण सामग्रीहरुले लयमा आएको छ । अन्य उद्योगहरु अहिले पनि गाह्रो अवस्थामा छ । टुरिजम क्षेत्र अझैँ लयमा फर्कन सकेको छैन । यो क्षेत्र गाह्रो अवस्था छ । पछिल्लो समय आन्तरिक पर्यटकहरुले गर्दा यो क्षेत्र अलि चलायमान हुन खोजेको हो कि ? जस्तो देखिन्छ । अन्य व्यवसायहरु जस्तो इन्टरटेण्टमेन्ट क्षेत्र अहिले पनि बन्द नै छ । त्यसैले नेपालका उद्योग क्षेत्रमा कोरोना महामारीले धेरै नै असर पारेको छ ।

नीजि क्षेत्रलाई चलायमान बनाउन बैंक, वित्तसँग के आशा राख्नुभएको छ ?

बैंकहरुलाई हामीले अनुरोध पनि गरेका हौँ । नीजि क्षेत्रलाई बैंकको तर्फबाट के गर्न सक्नुहुन्छ गर्दिनुप¥यो भनेर । बैंकमा ओनरहरुको पनि कमिटी छ । सिईओहरुको तर्फबाट पनि एउटा कमिटी छ । सिईओहरुले कति कमाएर दिन्छ । त्यो आधारमा उनीहरुको एसिस्मेन्ट हुने गर्छ । त्यसैले गर्दा उनीहरुले आफ्नो ग्राहकहरु चाहे डिपोजिट गर्ने होस् वा ऋण लिने किन नहोस् । उनीहरुले सकभर छुट दिन खोजेको देखिँदैन । बरु असुल्न खोजिरहेको देखिन्छ । उनीहरुको सोच प्रोफिट कति कमाएर दिन्छ भन्ने हुन्छ ।

बैंकहरुबाट जुन सेवा, सुविधाको अपेक्षा गरिएको छ त्यो सर्वसाधारणले पाउन सकेको छैन । बैंकहरुले नाफामूखी नभइ बन्दको समयको व्याज स्वफुर्त रुपमा कम गर्नुपर्छ भन्ने हाम्रो अपेक्षा थियो । तर त्यो हुन सकेन । यो कोभिडको समय भनेको सबै बाँच्ने र बचाउने अवस्था हो ।

राष्ट्र बैंकले अघिल्लो वर्ष २ प्रतिशत व्याज घटाउने भनेको थियो । तर गएको आवको जेठ महिनाभरि कोरोनाका कारण व्यापार, व्यवसाय बन्द भयो । उद्योग, व्यवसायहरु चलेनन् । त्यसकारण जसको नियमित व्यवसाय थियो । उनीहरुको व्याज मिनाह हुनुपर्छ भन्ने हो । जुन अहिलेसम्म पनि राम्रोसँग सञ्चालनमा आउन सकेको छैन । उनीहरुलाई सक्दो न्युनतम व्याजमा ऋण दिनुपर्छ । उनीहरुको व्यवसाय चलायमान बनाउन थप पुँजीको आवश्यक छ भने पुँजी पनि उपलव्ध गराउनुपर्छ भन्ने हो । अन्य व्यावसायहरुलाई पनि पुँजी उपलव्ध गराउन राष्ट्र बैंकको कुनै प्रावधानले दिन नसक्ने अवस्थामा छ भने त्यसलाई खुलाई दिनुपर्छ । सहज बनाइदिनुपर्छ भन्ने हो ।

 

नेपाल राष्ट्र बैंकले मौद्रिक नीति ल्याउने तयारी गरिरहेको छ । मौद्रिक नीतिमा के अपेक्षा गर्नुभएको छ ?

अहिले हाम्रो आशा, अपेक्षा भनेकै मौद्रिक नीतिमा छ । सरकार फेरिएकाले थप प्याकेज ल्याउँछ कि भने आशा छ । यहि क्रममा मौद्रिक नीति आउने तरखरमा छ । हामीले नेपाल उद्योग वाणिज्य महासंघको तर्फबाट पनि राष्ट्र बैंकलाई सुझावहरु दिइसकेका छौं । विशेष गरी साना तथा मझौला उद्यमी लक्षित पुर्नकर्जाले निक्कै राहत दिएको छ । यसपटक अर्थतन्त्रमा करिब २२ प्रतिशत हिस्सा राख्ने यस्ता उद्यम र स्टार्टअपको विस्तारका लागि परियोजना कर्जाको अवधारणा ल्याउनुपर्छ भन्ने हो । यस आ.व.को मौद्रिक नीति बजारमा तरलता प्रवाह गर्नेतर्फ बढि केन्द्रित हुनुपर्छ । उपलब्ध उपकरणको प्रयोग गरी एकल अंकमा ब्याजदर कायम गर्ने प्रयास नीतिले गर्नुपर्नेछ । आर्थिक गतिविधि बढ्दा विदेशी विनिमय संचिति र भुक्तानी सन्तुलनमा पर्ने चापको अवस्थालाई पनि मिहीन रुपमा मौद्रिक नीतिले केलाउनुपर्ने देखिन्छ ।

यस्तै मौद्रिक नीतिले व्याजको दर कम गर्ने, विभिन्न टुल्सको माध्यमबाट व्याजदर बढ्न नदिने गरी प्रयाप्त व्यवस्था गर्नुपर्ने देखिन्छ । मुख्य त बैंकहरुले व्याज नबढाइदिओस् भन्ने हो । साना व्यवसायीहरु, घरेलु व्यवसायमा पुँजी र लोनमा सहज पहूँच होस् भन्ने हो । उनीहरुलाई कम व्याजदरमा ऋण उपलव्ध हुने व्यवस्था होस् भन्ने हो । अहिलेको अवस्थामा बैंकहरुले फाइदा बाँड्दैनौ । डेभिडेन्ट बाँड्दैनौँ । कमाउँदैनौ भन्ने सोचले अगाडी जानुपर्ने अवस्था छ । यसका लागि राष्ट्र बैंकले सहयोग गर्छ भन्नेमा हामी आशावादी छौं ।

नयाँ सरकार बजेट संशोधन गर्ने तरखरमा छ । बजेटमा के के सुविधा थप्नुपर्ला ?

सरकारले बजेटमा नयाँ प्याकेज ल्याओस् भन्ने हो । राष्ट्र बैंकले पनि बैंकहरुलाई डिभिडेन्ट नबाँड्न प्रावधान ल्याएको छ । बजेटले केपी ओली सरकारले जुन सुविधाहरु ल्याएको छ । त्यसलाई यथावत् राख्दै थप प्याकेजहरु ल्याउनुपर्छ । साना व्यावसायी र उद्योगहरुलाई केहि राहतको प्याकेज आयो भने मात्रै जिवन्त रहन सक्छ ।

राज्यसँग व्यवसाय गरिरहेको, छिटफुट रुपमा व्यवसाय गरिरहेकाहरुको एकिन तथ्यांक पनि छैन् । व्यवसाय गरेर खान्छु भन्नेहरुलाई विस्तापित हुन नदिन र नयाँ काम गरेर खान्छु भन्नेहरुलाई सहयोग गर्न राहतका प्याकेजहरु आउनुपर्छ ।

राहतमा कार्यकर्ताहरुलाई पैसा बाँड्ने टाइपको नभइ मिस युज नहुने हिसावले जो एक्चुअल व्यवसाय गर्छ । जो उत्पादन बढी गर्छ । जसले उत्पादन र कृषिको उत्पादन बढाउने, उद्योगीको पनि उत्पादन बढाउनेछ । उनीहरुलाई लक्षित गरेर प्याकेज ल्याउनुपर्छ ।

सामाजिक सुरक्षा कोषमा आवद्धताको विषय पनि उठिरहेको छ ? नीजि क्षेत्रलाई कोषमा आवद्ध गर्न कति सहज छ ?

कोषमा आवद्ध हुन नीजि क्षेत्रलाई केहि समस्या छैन । तर पनि हामीलाई काम गर्ने कर्मचारी जरुरी छैन भने हटाउन सकियोस् । त्यसको ग्यारेन्टी कोषले गर्यो भने सहज हुनेछ ।मजदुरहरुको पैसा कटाएर कोषमा ३१ प्रतिशत रकम जम्मा हुन्छ । त्यो जम्मा भएको सबै रकम मजदुरले काम सकिएपछि या कामबाट निवृत्त भएपछि, वा काम छोडेपछि पनि उसको आफ्नो पैसा जति हो त्यति फिर्ता पाओस् भन्ने हो । जुन पैसा जम्मा गरेको छ । त्यो कर्मचारीहरुले पाउनुपर्यो । जम्मा गरिएको पैसा उनीहरुको जिवनकालमा फर्किन्छ कि फर्किदैन भन्ने हो । जसरी सञ्चयकोषमा पैसा राखेपछि कोषले जम्मै पैसा फर्काउँछ । यो र सामाजिक सुरक्षा कोषमा अलि भिन्नता देखिएको छ ।

होइन भने नीजि क्षेत्रलाई कोषमा आवद्ध हुन समस्या छैन । तर नीजि क्षेत्रभित्रका पनि साना व्यवसायहरुको समस्या छ । साना व्यवसायका कर्मचारीहरु स्थायी रुपमा लामो समयसम्म काम गर्दैनन् । उनीहरुलाई कन्ट्रयाक्टमा राख्नुपर्यो । होइन भने अरु उपाय छैन । लङ ट्रम कर्मचारी नबसेपछि कोषमा जान सक्ने स्थिति छैन । त्यो उनीहरुले थाम्न सक्दैनन् । जसले गर्दा उनीहरुको कस्ट बढ्न सक्छ ।