स्मार्ट चोइस टेक्नोलोजी (एससिटी) अब अन्तर्राष्ट्रिय बजारमा प्रवेश गर्ने भएको छ । हाल बैंक तथा वित्तीय क्षेत्रमा इलेक्ट्रोनिक मनि ट्रान्जेक्सनको काम गरिरहेको एससिटीले चीनको युनियन पे, भारतको एनपिसिआई र अमेरिकाको डिस्कभर फाइनान्सियल सर्भिसेससँगको सहकार्यमा विश्वबजारमा प्रवेश गर्न लागेको हो । २०१७ को सुरुदेखि नै विश्वव्यापी सेवा सुरु तयारी गरिरहेको कम्पनीले जनाएको छ ।
विश्वबजारमा कसरी प्रयोग गर्ने एससिटी कार्ड ?
यो कार्ड विश्ववजारमा चलाउनका लागि नियामक निकाय नेपाल राष्ट्र बैंकले तोकेको नियम अनुसार डलरमा खाता खोलेको हुनुपर्छ । विदेश भ्रमणमा जाँदा तपाईले भ्रमण कोटा अनुसारको रकम पनि झिक्न सक्नुहुनेछ । जसअनुसार तपाई गएको मुलुकको नियमअनुसार एक बर्ष वा महिनामा कति रकम झिक्न पाउने हो सोहि अनुसार रकम झिक्न सकिनेछ । विदेशमा अध्ययनका लागि पनि यो सेवा लिन सक्नुहुनेछ । विदेशी डलर स्रोतमा बैङ्क खाता रहेका व्यक्तिले भने सामान्य किसिमले भुक्तानी सेवा लिनसक्ने छन् ।
एससिटीले सन् २०१७ को जनावरीबाट माइक्रो फाइनान्स र सहकारी संस्थालाई पनि एटिएम कार्डको सुविधा दिन गृहकार्य गरिरहेको जनाएको छ ।
अहिले नेपाल, भारत र भुटानमा यो कम्पनीले इलेक्ट्रोनिक मनि ट्रान्जेक्सनको काम गरिरहेको छ । एससिटिको सञ्जालवाट हाल दैनिक रुपमा ५० हजार पटक कारोवार हुने गरेको छ । सन् २००२ देखि अपरेसन सुरु गरेको यो कम्पनीमा हाल २० लाख भन्दा धेरै ग्राहक रहेका छन् जसमा ९ लाख एक्टिभ युजर रहेका छन् ।
त्यस्तै चीनको इलेक्ट्रोनिक पेमेन्ट कम्पनी युनियन पे कम्पनीले हाल विश्वभरिका एक सय ४० वटा देशहरुमा सेवा दिइरहेको छ । भारतको एनपिसिआइले भारतमा मात्र सेवा दिन्छ भने अमेरिकाको डिस्कभर फाइनान्सियल सर्भिसले एक सय ५० देशमा सेवा दिइरहेको छ ।