
भिमलाल पौडेल
सभापति उद्योग समिति, नेपाल चेम्बर अफ कमर्श
कोरोना महामारीको दोस्रो लहरका कारण नेपालको अर्थतन्त्र, उद्योग, व्यवसाय लगायत सबै क्षेत्र यतिबेला आक्रान्त बनेको छ । हरेक सेक्टरलाई कोरोना महामारीले छोएको छ । हरेक क्षेत्रमा कोरोनाको प्रभाव प्रत्यक्ष देख्न सकिन्छ ।
चीनबाट हुने आयात दुई वर्षदेखि ठप्प
यतिबेला चीनबाट हुने आयात दुई वर्षदेखि ठप्प छ । दैनिक उपभोग्य सामान, लत्ताकपडा, इलेक्ट्रोनिक सामानहरु ल्याउन सक्ने अवस्था छैन । हाम्रो धेरै सामानहरु चीनबाटै आउने गर्दथ्यो । तर कोभिड–१९ का कारण त्यहाँ गएर व्यापारीहरुले छानेर ल्याउने स्थिति लगभग बन्द नै भएको छ । कोभिड–१९ गत वर्षको नाइन्टिनबाटै शुरु भयाे । नोभेम्बरसम्म चीन जाने क्रम बन्द नै भयाे । पहिलो पटक चीनबाट नै कोरोना भाइरस शुरु भएको थियो । त्यसपछि नेपालमा पनि कोरोना देखिन थाल्यो । अहिले नेपालमा जति पनि इन्पुट भएको छ । त्यो नेटबाटमात्रै भएको छ ।
उद्योगहरुमा कच्चा पदार्थको अभाव
यतिबेला नेपाली उद्योगहरुलाई कोभिड–१९ ले आक्रान्त पारेको अवस्था छ । हामीले केहि हाइड्रो पावर, सिमेन्ट उद्योगहरु पनि सञ्चालन गर्यौँ । यधपी कच्चा पदार्थ अभावकै कारण ती उद्योगहरु बन्द हुन पुगे ।
अर्कोतर्फ उद्योगबाट उत्पादन भएका सामान बजारसम्म जान्छ । बजारमा बिक्रि भएर त्यहाँबाट पैसा आउँछ । त्यो रोलिङ भएर चल्ने हो । जब कोरोनाका कारण बजार नै बन्द छ । देश नै ठप्प छ भने त्यस्तो अवस्थामा उत्पादन भएका सामानहरु के गर्ने ?, । नेपाली उद्योगहरुमा उप्पादन भएका सामानहरु लामो समयसम्म स्टोर गरेर राख्ने क्षमता छैन ।
कोरोना महामारीका बीचमा हामीले सिमेन्ट उद्योग सञ्चालन गर्यौँ । जसलाई आवश्यक पर्ने कच्चा पदार्थ ढुंगा लिन गाउँको बाटो हुँदै खानीसम्म जानुपर्ने हुन्छ । त्यहाँका बस्तिहरुले ढुवानी गर्ने चालकबाट कोरोना सर्छ भन्न थालेपछि उद्योग नै बन्द गर्न बाध्य भयौं । हाइड्रो पावरहरु सकभर चलाउन खोज्यौं । हाइड्रो पावरमा काम गर्न पनि निर्माण सामाग्री चाहिन्छ । सिमेन्टहरु, डण्डिहरु कतिपय हामीमा उपलव्ध भएपनि केहि बाहिरबाट इन्पुट गर्नुपर्छ । यी सामग्रीको अभावले गर्दा अहिले हामीले हाइड्रो पावर चलाउन सकिरहेका छैनौ ।
कोरोनाका कारण होटल क्षेत्र पनि बेहाल अवस्थामा पुगेकाे छ । कर्मचारीहरु कति समयसम्म पालेर राख्ने, बैंकको व्याज कहाँबाट तिर्ने । अरबौं लगानी गरेका ठूला–ठूला होटलहरु कोरोनाका कारण नाजुक अवस्थामा पुगेका छन् । त्यस्ता होटलमा लगानी गर्नेको स्थिति भयाभह छ । एक डेढ वर्षदेखि निजि क्षेत्रका कलेजहरु बन्द नै छन् । त्यहाँ वर्षोदेखि संलग्न हुँदै आएका कर्मचारी, शिक्षकलाई केहि न केहि पे त गर्ने पर्ने हुन्छ । जतिपनि उद्योगहरु छन् जस्ताे विभिन्न कलेज, हाइड्रो पावरहरुले अहिले बैंकबाट लोन थप्ने, थपेको लोनबाट व्याज तिर्ने, केहि कर्मचारीलाई पे गर्दै बस्नुपर्ने स्थिति छ ।
बैंकको ब्याज तिर्न सक्ने स्थिति छैन
नेपालका प्रायः उद्योगहरुले बैंकबाट नै ऋण लिएर चलाइ राखेको अवस्था छ । कोरोनाका कारण उद्योगधन्दा बन्द छ । यस्तो बेलामा व्याज नै तिर्न सक्नेस्थिति छैन । बैंकको पनि एउटा लिमिट हुन्छ । लिमिट पुरा भइसकेपछि उद्योगहरुसँग लगानीको अभाव हुन्छ । त्यसैले उत्पादन गर्न सक्ने स्थिति छैन । हामीले लामो समय मजदुरहरुलाई बेरोजगार राखेर बेतलवी राख्ने स्थिति पनि छैन । त्यसै कारण हामी एक वर्षभन्दा बढी समयदेखि समस्यामा छौं ।
बीचमा केहि समय कोरोना कम हुँदै गयाे । बजार क्षेत्र अलि खुकुलो भयाे । त्यो बेला केहि उद्योगहरु पनि चल्न थालेका थिए । तर अहिले कोरोनाको दोस्रो लहरसँगै उद्योग धन्दाहरु ठप्प भएको अवस्था छ । यस्तो बेलामा पनि उद्योगीहरुको आफुले लिएको ऋणको ब्याज त बैंकलाई तिर्नु नै पर्ने हुन्छ । उत्पादन भएका सामानहरु पनि बेच्न पाएका छैनाैँ । अहिले उद्योगीहरु बैंकबाट झिकेको ऋणको ब्याज बोकेर बस्नुपर्ने अवस्था छ ।
‘औद्योगिक क्षेत्र लागू गरौं’
कोभिड–१९ ले हामिलाई के सिकायो भने सरकारले जति पनि औधोगिक क्षेत्र घोषणा गरेको छ । त्यसलाई तुरुन्त लागू गर्नुपर्छ । जसले गर्दा मजदुर त्यहि औद्यौगिक क्षेत्रमा बसेर उद्योगहरु सञ्चालन गर्न सकुन् । अर्कोतर्फ सरकारसँग खर्च नभएको पैसा राष्ट्र बैंकमार्फत निजि क्षेत्रलाई पनि दिनुपर्ने देखिन्छ । जसले गर्दा निजि क्षेत्रलाई केहि राहत हुनेछ । विश्वका अमेरिका, बेलायत लगायतका देशले पनि निजि क्षेत्रलाई राहत दिएर अगाडि बढाएको अवस्था छ । त्यो खालको प्याकेज नेपाल सरकाले ल्याउनुपर्छ । जबसम्म निजि क्षेत्र अगाडि बढ्न सक्दैन तबसम्म अर्थतन्त्र अगाडि बढ्न सक्दैन ।
मौद्रिक नीतिमा थप योजना आवश्यक
लास्ट इयरमा मौद्रिक नीति आइसकेपछि निजि क्षेत्रलाई धेरै राहत भएको हामीले महसुस गरेका थियौं । त्यो मौद्रिक नीतिबाट आएका जुन कार्यक्रम छन् । अब आउने मौद्रिक नीतिमा त्यसलाई निरन्तरता दिँदै थप नयाँ कार्यक्रम ल्याउनुपर्ने देखिन्छ ।
मार्केटको रिसर्च गरेर होस् या एक्सन टिम बनाएर किन नहोस् । निजि क्षेत्रलाई अगाडि बढाउनुपर्ने देखिन्छ । राहत दिने नाममा प्रभावित नभएकै क्षेत्रहरुलाई पनि दिने गरेका हामीसँग धेरै उदाहरणहरु छन् । कोभिडकै कारण कतिपय विजनेस फस्टाएका छन् । त्यो क्षेत्रले राहत लियो भने अरु प्राथमिकतामा पर्ने क्षेत्र वञ्चित हुन्छन् । उदाहरणका लागि कृषि क्षेत्रमा कोभिडको खासै असर छैन । बरु उल्टो लगानी गर्ने स्थिति छ । टुरिजम, होटल क्षेत्र बन्द छन् । यी क्षेत्रलाई राहत दिएर दिएर उद्वार गर्नुपर्ने देखिन्छ । प्रभावमा परेका उद्योगधन्दाहरुलाई सरकारले विशेष प्याकेज ल्याएर सहयोग गर्नुपर्छ ।
(मिडिया इन्टरनेसनलले आयोजना गरेको वेवीनारमा वरिष्ठ व्यवसायी भिमलाल पौडेलले राख्नुभएको मन्तव्यको सम्पादित अंश)



