May 14th, 2021

बागमतीको जिडिपी वृद्धिदर सबैभन्दा बढी, सुदूरपश्चिमको सबैभन्दा कम

बैंकिङ खबर । चालु आर्थिक वर्षमा बागमती प्रदेशको जिडिपी वृद्धिदर सबैभन्दा बढी ४.७ र सुदूर पश्चिम प्रदेशको वृद्धिदर सबैभन्दा कम ३.४ प्रतिशत रहने प्रक्षेपण गरिएको छ ।  केन्द्रीय तथ्यांक विभागले शुक्रबार सार्वजनिक गरेको तथ्यांकअनुसार चालु आर्थिक वर्ष २०७७/७८ को प्रदेशगत कुल ग्राहस्थ उत्पादन (जिडिपी)  अनुमानमा उक्त तथ्य पाइएकाे हाे । चालु आर्थिक वर्षको उपभोक्ता मूल्यमा ४.०८ प्रतिशत रहने अनुमान विभागले यसअघि नै सार्वजनिक गरिसकेको छ ।

गत आर्थिक वर्षमा कर्णाली प्रदेशको बाहेक सबै प्रदेशको जिडिपी वृद्धिदर ऋणात्मक रहेको थियो । चालु आर्थिक वर्षमा भने सबै प्रदेशको जिडिपी बढ्ने अनुमान गरिएको छ ।

चालु आर्थिक वर्षमा राष्ट्रिय वार्षिक राष्ट्रिय ग्राहस्थ उत्पादन उपभोक्ता मूल्यमा ४२ खर्ब ६६ अर्ब रुपैयाँ बराबर हुने अनुमान गरिएको छ । जसमा सबैभन्दा बढी हिस्सा ३७.७ प्रतिशत बागमती प्रदेशको रहने अनुमान गरिएको छ । जिडिपीमा बागमती प्रदेशको १६ खर्ब ८ अर्ब रुपैयाँ बराबरको योगदान हुने विभागको प्रक्षेपण छ ।

जिडिपीमा सबैभन्दा कम योगदान भने कर्णाली प्रदेश अर्थात १ खर्ब ७२ अर्ब रुपैयाँ बराबर रहेको छ । यो कुल अनुमानित राष्ट्रिय जिडिपीको ४ प्रतिशत बराबर मात्रै हो । चालु आर्थिक वर्षका लागि कर्णाली प्रदेशका आर्थिक वृद्धिदर ३.६ प्रतिशत रहने अनुमान गरिएको छ ।

विभागको तथ्यांकअनुसार प्रदेश १ ले कुल जिडिपीको १५.६ प्रतिशत अर्थात ६ खर्ब १२ अर्ब रुपैयाँ बराबर योगदान पुर्याउने अनुमान गरिएको छ । प्रदेश नम्बर १ को जिडिपी वृद्धिदर गतवर्ष १.२ प्रतिशतले ऋणात्मक रहेकोमा चालु आर्थिक वर्ष ३.६ प्रतिशत कायम रहने अनुमान गरिएको छ ।

प्रदेश नम्बर २ ले कुल जिडिपीको १३ दशमलव २ प्रतिशत अर्थात ५ खर्ब १९ अर्ब रुपैयाँ बराबर योगदान गर्ने अनुमान गरिएको छ । यो प्रदेशको जिडिपी वृद्धिदर गत आर्थिक वर्ष १.६ प्रतिशतले ऋणात्मक रहेकोमा चालु आर्थिक वर्ष ३ दशमलव ५ प्रतिशत रहने अनुमान गरिएको छ ।

गण्डकी प्रदेशको जिडिपी बृद्धिदर गतवर्ष १.७ प्रतिशतले ऋणात्मक रहेकोमा चालु आर्थिक वर्ष ३.६ प्रतिशत पुग्ने अनुमान गरिएको छ । गण्डकी प्रदेशले राष्ट्रिय जिडिपीको ८.७ प्रतिशत अर्थात ३ खर्ब ७२ अर्ब रुपैयाँ बराबर योगदान गर्ने प्रक्षेपण गरिएको छ ।

लुम्बिनी प्रदेशले चालु आर्थिक वर्षमा ३.९ प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्ने अनुमान गरिएको छ । गत आर्थिक वर्ष यो प्रदेशको वृद्धिदर १.८ प्रतिशतले ऋणात्मक थियो । राष्ट्रिय जिडिपीमा लुम्बिनी प्रदेशले १४ प्रतिशत अर्थात ५ खर्ब ९६ अर्ब रुपैयाँ बराबरको योगदान गर्ने अनुमान गरिएको छ ।

सुदूर पश्चिम प्रदेशको आर्थिक वृद्धिदर ३.४ प्रतिशत अनुमान गरिएको छ । चालु आर्थिक वर्षको कुल राष्ट्रिय जिडिपीमा सुदूरपश्चिम प्रदेशको ६.९ प्रतिशत अर्थात २ खर्ब ९४ अर्ब योगदान गर्ने विभागको अनुमान छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]