बीमा खर्च होइन, जोखिम व्यवस्थापन र भविष्यको लागि बचत हो

बैंकिंङ खबर । बीमालाई जोखिम व्यवस्थापनको साधन भनिन्छ । भविष्यमा आई पर्न सक्ने क्षतिका बारेमा पहिल्यै विचार गरी त्यसको उचित व्यवस्था गर्नु जोखिम व्यवस्थापन हो । यही काम बीमाले गर्ने गर्दछ । न्यूनतम खर्च (बिमाशुल्क) मा आफ्नो सम्पत्ति, आम्दानी, आइपर्ने दायित्व एवं कामदारको यथोचित अधिकतम सुरक्षाको व्यवस्था गर्नु नै वास्तविक जोखिम व्यवस्थापन हो ।

बिमा कम्पनीलाई जोखिमअनुरूप तोकिएको बिमाशुल्क बुझाई बीमायोग्य जोखिम हस्तान्तरण गर्न सकिन्छ । यही आवश्यकताले नै बीमा क्षेत्रको विकास भएको हो । जोखिमलाई बीमाको माध्यमबाट हस्तान्तरण गर्न सकिन्छ । तर, सबै जोखिमलाई बीमा गर्न सकिन्छ भन्ने होइन । बीम गर्नका लागि जोखिमका विशेष चरित्र हुनु जरुरी छ । 

घटना अनिश्चित हुनुपर्छ
जोखिम हस्तान्तरण गरिएका पक्षहरूमा घट्न सक्ने घटना अनिश्चित हुनुपर्छ । घटना घटिहालेमा पनि क्षति कति परिमाणको हुन्छ सो पनि अनिश्चित हुनुपर्छ । घटना हुने निश्चित छ भने बीमा गर्न मिल्दैन । अर्थात् घटना बीमा गर्ने व्यक्ति वा संस्थाको काबुभन्दा बाहिर हुनुपर्छ । जीवन बीमा गर्नेको कुनै एक दिन मृत्यु हुने निश्चित अवस्था देखिए पनि कुन दिन मृत्यु हुन्छ त्यो अनिश्चित छ । तर, जीवन सबमा गर्नेले बीमा गराउँदा तत्कालै आत्महत्याको नियत नराखेको हुनुपर्छ । जोखिम अनिश्चित हुनुपर्छ भनिँदा बीमाको विषयवस्तु अर्थात् आफ्नो सम्पत्ति आफैंले जानीजानी आगो लगाउनु बिगार्न र क्षतिपूर्ति माग गर्नु सामाजिक मान्यता विपरीत हुन्छ । सवारी दुर्घटनाबापत चालकलाई सम्बन्धित प्रहरीले गर्ने जरिवाना रकम बीमा क्षतिपूर्ति हुँदैन । तर, तेस्रो पक्षप्रति दायित्वको भने क्षतिपूर्ति हुन्छ । 

मूल्य किटान गर्न सकिने हुनुपर्छ
कुनै पनि क्षतिमा मूल्यको निर्धारण हुनु आवश्यक हुन्छ । घर आगलागी हुँदा, सवारी साधन दुर्घटना हुँदा मर्मत खर्च कति लाग्छ ? सवारी साधन दुर्घटना भई तेस्रो पक्षको मृत्यु भएमा प्रचलित ऐन नियमको व्यवस्थाले कति रकम दिनुपर्ने भयो ? जीवन बीम गरिएको अवस्थामा मृतक भएको विमितले इच्छाएको व्यक्तिले पाउने रकम कति छ ? बीमालेखको रकम कति हो र पाउने क्षतिपूर्ति कति हो ? यस्ता सबै प्रकारका क्षतिहरूलाई मूल्यमा किटान गर्न सक्नुपर्छ । निर्जीवन बीमामा घटना घटेपछि मात्र क्षति मूल्य यकिन हुन्छ तर जीवन बीमामा अग्रिम रूपमा नै मूल्य किटान भइरहेको हुन्छ । 

बीमा गर्दा निश्चित बीमशुल्क बुझाउनु पर्छ । बीमाशुल्कको निर्धारण धेरै कुरामा आधारित हुन्छ । सम्पत्तिमा सुरक्षण गरिने जोखिमको प्रकृति, त्यसमा पर्न सक्ने दायित्वको सीमा, जीवन बीमाको हकमा बीमा गर्नेको उमेर, स्वास्थ्यस्थिति तथा भुक्तानी फिर्ता हुने अवधि आदि विवरणका आधारमा बीमाशुल्क निर्धारण गरिन्छ ।
बीमा कम्पनीहरूलाई बिमाशुल्क निर्धारणको निमित्त उस्तै प्रकारका धेरै जोखिमहरूको प्रस्ताव प्राप्त हुनुपर्छ । हस्तान्तरण हुने जोखिम थोरै छ वा एक दुइटा मात्र छन् भने बीमाशुल्कको निर्धारण बढी हुन्छ । 

जनहितविरुद्ध हुनुहुँदैन
बीमाको माध्यमद्वारा जोखिम हस्तारन्तरण गरिँदा आइपर्न सक्ने क्षति वा दायित्व सिर्जना हुने बीमाको विषय वस्तुमा बीमा गर्न प्रस्ताव गर्ने व्यक्तिको आफ्नो बीमायोग्य हित भएको हुनुपर्छ । घटना भएमा हित कायम भएको व्यक्ति वा संस्थाले मात्रै क्षतिपूर्ति पाउनुपर्छ । अन्य व्यक्ति वा संस्थाको सम्पत्ति, आइपर्ने दायित्व तथा अरूको जीवनमा बिमा गर्न मिल्दैन (कुनै–कुनै अपवाद अवस्था बाहेक) यसलाई बीमायोग्य हितका सिद्धान्तसम्बन्धी शीर्षकमा छुट्टै व्याख्या गरिएको छ । 


सोसिअल मेडिया